बबई क्याम्पसमा अनिश्चितकाल तालाबन्दी
सोमबार, फागुन २१, २०८० मा प्रकाशित

बर्दिया,फागुन २१(फरकसमाचार)/ मध्य पश्चिम विश्वविद्यालयको गत फागुन १५ गतेको नियुक्ति प्रक्रियाको सत्य तथ्य सार्वजनिक गर्न र आंशिक शिक्षकहरुको अबिलम्ब नियुक्तिको माग गर्दै बबई बहुमुखी क्याम्पस प्रशासनमा आइतबार देखि अनिश्चितकाल तालाबन्दी गरिएको छ ।

बबई बहुमुखी क्याम्पस गुलरियामा कार्यरत आंशिक शिक्षकहरुको मागलाई क्याम्पस प्रशासनले बेवास्ता गरेको भन्दै तालाबन्दी गरिएको हो । तालाबन्दी तथा मागमा तीन वटा प्राध्यापक संगठन इकाइ समितिले इक्यवद्धता जनाई क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्रसमेत दिएका छन् ।

विश्वविद्यालयको विज्ञापनमा उत्तिर्ण भई लामो समय देखि क्याम्पसमा कार्यरत आंशिक शिक्षकहरुको नियुक्तिको मागमा क्याम्पस प्रशासनले बेवास्ता गरेको भन्दै आंशिक शिक्षकहरु तालाबन्दीमा उत्रिएका छन् ।

बबई बहुमुखी क्याम्पसमा पाँच जना आंशिक शिक्षक कार्यरत रहेको आंशिक शिक्षक लोकेन्द्र ओलीले बताए । ‘करार नियुक्तिको लागि क्याम्पस प्रशासनलाई पटक पटक अनुरोध गर्यो,तर कुनै सुनुवाई भएन’शिक्षक ओलीले भने,‘मध्यपश्चिम विश्वविद्यालयले गरेको निर्णयप्रति हामी आन्दोलित भएका छौं ।’ जबसम्म हाम्रो माग सम्बोधन हुदैन जबसम्म क्याम्पस प्रशासनमा लगाएको तालाबन्दी नखुल्ने शिक्षक ओलीले जानकारी दिए ।

गत फागुन १५ गते उपकुलपतिले आफ्नो कोरम पुग्ने गरि शिक्षक कर्मचारीको प्रतिनिधित्व गर्ने कार्यकारी सदस्यलाई उपस्थित नगराई कार्यकारीको बैठकबाट स्वार्थ केन्द्रित करार नियुक्ति, सरुवा, बढुवा एवम् अन्य निर्णय भएको र उक्त निर्णयहरुमा उपकुलपति तथा कार्यकारीहरुको स्वार्थ केन्द्रित केही निकटस्थ आंशिक शिक्षकहरुलाई मात्र करार नियुक्ति गरिएको कार्यले सम्पुर्ण आंशिक शिक्षकहरुको ध्यानाकर्षण भएको जनाईको छ ।

क्याम्पस प्रशासनले कार्यरत आंशिक शिक्षकलाई दैनिक पिरियड बढी दिएको र वर्षमा दुई पटक मात्र पारिश्रमिक दिने गर्दा दैनिक जिवनयापनमा कठिनाई भएको क्याम्पस प्रमुखलाई हस्तान्तरण गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । क्याम्पस प्रशासनले कामको मात्र लोड दिने तर करार नियुक्तिको लागि कुनै पहल नगरेको उल्लेख छ ।

यस्तो गम्भिर परिस्थितीमा समेत क्याम्पस प्रशासनको कुनै प्रक्रिया नआएको र उपकुलपतिले बन्द कोठामा स्वार्थ केन्द्रित निर्णयले हामी आन्दोलिन हुन बाध्य भएको पत्रमा उल्लेख छ । हाम्रा मागहरु बेवास्ता गरिएमा आन्दोलनको परिणामको जिम्मेवारी क्याम्पस प्रशासनले लिनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर