झापामा प्रभावकारी बन्दै सुत्केरी पोषण कार्यक्रम
शनिबार, फागुन १७, २०७६ मा प्रकाशित

भद्रपुर, फागुन १७ : झापाका कनकाई नगरपालिकाले शुरु गरेको सुत्केरी पोषण कार्यक्रम प्रभावकारी भएको छ ।

यो कार्यक्रम प्रभावकारी भएसँगै जिल्लाका अन्य स्थानीय तहले पनि सुत्केरी पोषण कार्यक्रम शुरु गरेका हुन् । झापाका १५ स्थानीय तहमध्ये सबैभन्दा पहिले कनकाई नगरपालिकाले यो कार्यक्रम शुरु गरेको थियो ।

विसं २०७४ साउनबाट शुरु गरेको यो कार्यक्रमबाट हालसम्म ४३० सुत्केरीले पोषणअन्तर्गत पाउने सेवा सुविधा लिएको नगरपालिकाका सूचना अधिकारी हरिप्रसाद मिश्रले बताए । यो कार्यक्रमअन्तर्गत नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई पोषणबापत दुई हजार रुपैयाँ रकम प्रदान गर्ने व्यवस्था गरेको छ । शुरुमा नगरपालिकाले सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण, गर्भ जाँच र सुत्केरी हुने महिलालाई दुई केजी घ्यू, क्यालसियम र झुल घरमै पु¥याउने गरेको थियो । बजारबाट खरिद गरिने ध्यूमा कैफियत पाएपछि हाल नगद दुई हजार प्रदान गर्दै आएको उनको भनाइ छ ।

उपमेयर सुत्केरी पोषण कार्यक्रमनाम राखेर नगरपालिकाका उपप्रमुख मञ्जु प्रसाईंले नगद ५० हजार जम्मा गरेर कोष नै स्थापना गरेका थिए । सोही कोषमा नगरपालिकाले प्रत्येक वर्ष पाँच लाख थपेर खर्च गर्दै आएको छ । उनले भने, ‘सुत्केरी अवस्थामा अतिविपन्न परिवारका सुत्केरी महिलाले पोसिलो खाने कुरा खान नपाउँदा बच्चामा कुपोषण हुन्छ । त्यसैलाई रोक्नका लागि थोरै भए पनि सहयोग गरौं भन्ने उद्देश्यले यो कार्यक्रम शुरु गरका हौँ, अहिले यो अत्यन्त प्रभावकारी भइरहेको छ ।

विसं २०६८ को जनगणनाअनुसार ४१ हजार जनसंख्या रहेको नगरपालिकामा हाल बढेर ४७ हजार पुगेको सूचना अधिकारी मिश्रको भनाइ छ । उनले भने, ‘मुसहर, सन्थाललगायतका अतिविपन्न परिवारलाई यो कार्यक्रमले राहत पुगेको छ । नाम लेखाइसकेका ४० ले अझै सुविधा लिन बाँकी छ ।स्वास्थ्य संस्थामा प्रसूति हुन आउनका लागि प्रोत्साहन स्वरुप यो कार्यक्रम ल्याइएको उनले जानकारी दिए ।

मेचीनगर नगरपालिकाले समेत सो कार्यक्रम चालु आर्थिक वर्ष २०७६/०७७ को साउनबाट शुरु गरेको छ । पाँच लाखको बजेट राखेर शुरु गरेको कार्यक्रममा हाल सो बजेट सकिएर १० लाख थप गरी १५ लाख बनाएको नगरका सूचना अधिकृत पदमबहादुर कार्कीले बताए ।

उनका अनुसार चालु आवको सात महिनाको अवधिमा २५० सुत्केरी महिलाले सुत्केरी पोषण कार्यक्रमअन्तर्गतको सेवा लिएका छन् । नगरपालिकाले प्रतिसुत्केरी नगद नै दुई हजार दिने गरेको उनले बताए । उनले भने, ‘सेवा लिन आउने बढी अति विपन्न परिवारका करुवा, किसान, सन्थाललगायत छन् ।गर्भवती अवस्थामा स्वास्थ्य जाँच गराउन स्वास्थ्य केन्द्र नपुग्ने उनीहरू सुविधा पाउने भएपछि नियमितरुपमा स्वास्थ्य जाँच गराउन र सुत्केरी हुन अस्पताल वा नजिकको स्वास्थ्य केन्द्रमा पुग्ने गरेको नगरपालिकाका स्वास्थ्य विभाग प्रमुख शशी राईले बताए ।

उनले शुरुमा घरघरमा स्वास्थ्य स्वयंसेवक महिला पठाएर गर्भवती अवस्थामा स्वास्थ्य परीक्षण गराउन अभिप्रेरित गर्दासमेत नजाने महिला सुविधा पाएसँगै अहिले आफैँ अस्पताल पुग्ने गरेको बताए । मेचीनगरमा मात्र लोपोन्मुख समुदाय किसान, मेचे, सन्थाल, मुण्डा, माझीलगायत २३ जातिको बसोवास रहेको छ । हालको मेचीनगर नगरपालिकाको जनसंख्या एक लाख ३० हजारको हाराहारीमा रहेको सूचना अधिकृत कार्कीको भनाइ छ ।

त्यसैगरी यो कार्यक्रम झापा गाउँपालिका, कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाको वडा नम्बर १० ले समेत सञ्चालनमा ल्याएको छ । जिल्ला समन्वय समितिकी उपप्रमुख मीना पराजुलीले सुत्केरी पोषण कार्यक्रमले गरिब तथा अतिविपन्न परिवारका महिलालाई राहत पुग्ने बताउँदै झापाका १५ वटै स्थानीय तहमा लागू हुनुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय