नवनिर्मित किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवनको उद्घाटन
सोमबार, पुष ०७, २०८२ मा प्रकाशित

अभिनव कुमार पाठक

बर्दिया,पौष ७/ गुलरिया र मधुवन नगरपालिकामा नवनिर्मित किशोर किशोरीमैत्री स्वास्थ्य सेवा भवनको उद्घाटन गरिएको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोगको आर्थिक सहयोगमा प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साँझेदारीमा सञ्चालित किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार दोस्रो चरण परियोजना अन्तर्गत मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवनको शुक्रबार उद्घाटन तथा हस्तान्तरण गरिएको हो । मधुवन नगरपालिका–१ मा अवस्थित सूर्यपटुवा स्वास्थ्य चौकी र गुलरिया नगरपालिका–९ मा अवस्थित मथुराहरद्वार स्वास्थ्य चौकीमा निर्माण गरिएको भवनको उद्घाटन भएको हो ।

भवन जसका लागि निर्माण गरिएको हो, उनै किशोरीहरूको सहभागितामा उद्घाटन गरिएको विशेष कार्यक्रमको आकर्षण बनेको थियो । मधुवन नगरपालिकामा किशोरी विद्यार्थी पार्वतीले नगर प्रमुख तेजबहादुर भाट र प्लान इन्टरनेशनल नेपालकी निर्देशक जुली गुरुङले संयुक्त रुपमा रिबन काटेर भवनको उद्घाटन गरेका थिए । यस्तै गुलरियामा किशोरी विद्यार्थी नन्दनी यादवले नगर प्रमुख मुक्तिनाथ यादव र निर्देशक जुली गुरुङले संयुक्त रुपमा रिबन काटेर भवनको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै मधुवन नगर प्रमुख तेजबहादुर भाटले यस भवन निर्माणले किशोर–किशोरीहरूको स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै स्वास्थ्य सम्बन्धी समस्या लुकाउनु भन्दा समयमै स्वास्थ्य संस्थामा आएर परामर्श लिन आग्रह गरे । त्यसैगरी गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले मधेशी समुदाय अझै पनि पछाडि परेको उल्लेख गर्दै किशोर–किशोरीहरूलाई निर्भीक रूपमा सेवा लिन आउन सक्ने वातावरण सिर्जना गर्न सबै तह र तप्काबाट पहल आवश्यक रहेकोमा जोड दिएका थिए ।

परियोजना संयोजक सुरज अर्यालका अनुसार किशोर–किशोरीहरूको गोपनीयता सुनिश्चित गर्ने, गुणस्तरीय परामर्श सेवा प्रदान गर्ने, आरामदायी प्रतीक्षालयको व्यवस्था गर्ने, सूचना–शिक्षा–सञ्चार सामग्रीमार्फत यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी जनचेतना फैलाउने तथा तालिम प्राप्त स्वास्थ्यकर्मी मार्फत परिवार नियोजन, यौन संक्रमण, महिनावारी स्वास्थ्य र स्वच्छता तथा अन्य प्रजनन स्वास्थ्य समस्याको उपचार सेवा प्रदान गर्ने उद्देश्यले यी भवन निर्माण तथा हस्तान्तरण गरिएको हो ।

प्लान इन्टरनेशनल नेपालकी निर्देशक जुली गुरुङले यी स्वास्थ्य सेवा भवनबाट धेरैभन्दा धेरै किशोर–किशोरीहरूले गोपनीयता र आत्मसम्मानका साथ सेवा लिन पाउने विश्वास व्यक्त गर्दै यसले दीर्घकालीन प्रभाव पार्ने बताईन् ।

किशोरी पार्वतीले भनिन्, ‘यो स्वास्थ्य सेवा भवन हाम्रो लागि अत्यन्त उपयोगी हुनेछ । विद्यालय नजिकै भएकाले आउन सजिलो छ । किशोर–किशोरीहरूले आफ्ना यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या र जिज्ञासा निडर र गोप्य रूपमा व्यक्त गर्न सक्ने सुरक्षित स्थान हुनु अत्यन्त आवश्यक छ ।’ यी भवनमार्फत विशेषगरी मधुवन नगरपालिकाका वडा नं. १ र २ तथा गुलरिया नगरपालिकाका वडा नं. ८, ९ र १० का किशोर–किशोरीहरूलाई सेवा प्रदान गर्ने लक्ष्य लिइएको छ ।

मधुवन नगरपालिकाको सूर्यपटुवा स्वास्थ्य चौकीको कुल निर्माण लागत रु. ४३ लाख ५६ हजार ३ सय ८० दशमलव ६२ र गुलरिया नगरपालिकाको मथुराहरद्वार स्वास्थ्य चौकीको कुल निर्माण लागत रु. ४५ लाख २७ हजार ८ सय ३ दशमलव ९४ रहेको जनाईएको छ । साथै दुवै स्वास्थ्य चौकीलाई किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा प्रवाहका लागि रु. ८ लाख १७ हजार बराबरको आवश्यक सामग्री सहयोगसमेत प्रदान गरिएको छ ।

मधुवन नपा.१ स्थित स्वास्थ्य भवन उद्घाटन कार्यक्रममा नगर प्रमुख तेज बहादुर भाट, उपप्रमुख अनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, वडा नं. १ का वडाध्यक्ष मिन बहादुर थापा, नगर प्रवक्ता मेक बहादुर गुरुङ, प्लान इन्टरनेशनल नेपालकी निर्देशक जुली गुरुङ, पश्चिम क्षेत्रीय प्रबन्धक मिना पराजुली, राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, सचिव युवराज श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख गीता घिमिरे, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय किशोर–किशोरी तथा समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो । यस्तै गुलरिया स्थित उद्घाटन कार्यक्रममा नगर प्रमुख मुक्तिनाथ यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत सतिश यादव, वडा नं. ९ का वडा अध्यक्ष हरि प्रसाद पासी, स्वास्थ्य कार्यालयका प्रमुख नारायण प्रसाद चौधरीलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय