आवश्यक सावधानी अपनाउन आग्रह
मङ्गलबार, फागुन २०, २०७६ मा प्रकाशित

बनियानी, फागुन २० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले  कोभिड१९ मानव जातिमाथि ठूलो संकटका रुपमा देखापरेको बताएका छन् । झापाको बिर्तामोडमा आज हुने भनिएको प्रदेश नं १ स्तरीय भेला प्रशिक्षण स्थगनबारे जानकारी दिन यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले नेपालमा पनि कोरोना भाइरस फैलिन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरे ।

नेपालका विभिन्न शहरमा कोरोना भाइरसको संक्रमण हुन सक्ने सम्भावना रहेको र त्यसवाट सजग तथा सुरक्षित हुन तत्काल सानाठूला भेला नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेकपा केन्द्रीय कमिटीले निर्देशन दिएपछि भेला स्थगन भएको छ ।

कार्यक्रममा नेता खनालले कोरोना भाइरस विरुद्धको अभियानमा सम्पूर्ण पार्टी कार्यकर्ता र पत्रकारलाई लाग्न आग्रह गरे । स्वास्थ्य मन्त्रालयले आवश्यक सावधानी अपनाउन भनिसकेको छ’, उनले भने, ‘हाम्रो देशमा हेल्थ केयर सिस्टम पर्याप्त छैन, त्यसैले पनि यसबाट बच्न सबैले सावधानी अपनाउन आवश्यक छ ।

यसैबीच नेकपा प्रदेश नं १ ले प्रदेशमा कुनै पनि सानाठूला कार्यक्रम नगर्न पार्टी कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीका अध्यक्ष देवराज कार्की र सचिव सुरेशकुमार राईले आज संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै त्यस्तो निर्देशन दिनुभएको हो । आज हुने भनिएको प्रदेशस्तरीय भेला प्रशिक्षण स्थगित गरिएको छ’, अध्यक्ष घिमिरेले भने, ‘कार्यक्रममा सहभागी हुन प्रदेशभरबाट आएका कार्यकर्ता त्यसै फर्किनु परेकामा क्षमा चाहन्छौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय