नाग्म–गमगडी सडक पुनः सञ्चालन
बिहिबार, फागुन २९, २०७६ मा प्रकाशित

सिञ्जा, फागुन २९ : कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको घुच्ची लेखमा रहेको सातमोडमा फागुन दोस्रो साताबाट परेको भारी हिमपातले बन्द भएको सडक आइतबारदेखि सञ्चालनमा आएको छ ।

 

फागुनको दोस्रो सातादेखि लगातार एक हप्तासम्म परेको हिमपातले कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक सञ्चालन नहुँदा मुगुको सदरमुकाम गमगढीबजार र हुम्लामा दैनिक उपभोग्य सामान, विकास निर्माणका सामानहरू कालीकोटको नाग्मबजार, जुम्लाको गोठीज्युला र भुलभुले तथा अधिकांश बीच बाटोमै थन्किएको थियो । नाग्म–गमगढी सडकमा सञ्चालन हुने साना तथा ठूला मालवाहक गाडीहरू सञ्चालनमा आउन सकेका थिएनन् भने रारा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरूको गाडी हिलो र हिँउमा फसेर पर्यटकलाई हैरान भएको थियो ।

 

एकातिर सदरमुकाम गमगढीमा दैनिक उपभोग्य सामानको अभाव हुँदै जान लाग्दा जिल्लाका कुनै पनि निकाय, स्थानीय सरकार, सरोकारवाला निकायको कुनै पनि नजर नगएपछि बल्लतल्ल प्रजिअ कृष्णकुमार निरौला, सहायक प्रजिअ, मुगु उद्योग वाणिज्य संघ, जिल्लाका सरकारी कार्यालय, व्यापारी, सशस्त्र प्रहरी, जिल्ला प्रहरी कार्यालय, अन्य सरोकारवाला निकाय र पत्रकारको पहलमा बारम्बार ताकेता गरेपछि सडक डिभिजन कार्यालय जुम्लाको डोजर प्रयोग गरी एक हप्तासम्म बन्द भएको सडक आइतबारदेखि सञ्चालनमा आएको मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढाले बताए ।

 

उनका अनुसार अब गमगढी बजारमा दैनिक उपभोग्य सामान र विकास निर्माणका सामान सहजरूपमा पाउने भएको छ । सडक खुलेकै दिन एक दर्जनभन्दा बढी मालवाहक गाडी र यात्रुवाहक सानाठूला गाडी सदरमुकाम गमगढी पास गरिएको प्रजिअ निरौलाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय