कृषिमा युवाको सहभागिता जरुरी छ : मुख्यमन्त्री
बिहिबार, फागुन २९, २०७६ मा प्रकाशित

लुम्बिनी, फागुन २९ : प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले कृषि क्षेत्रमा युवाको सहभागितामार्फत नै मुलुकमा अपेक्षाकृत परिवर्तन सम्भव भएको बताएका छन । प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयको आयोजना तथा जिल्ला युवा समिति रुपन्देहीको समन्वयमा आज भैरहवामा आयोजित मुख्यमन्त्रीसँग युवा कार्यक्रममा मुख्यमन्त्री पोखरेलले भने, ‘कृषि क्षेत्रमा बदलाव नगरेसम्म नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन सकिँदैन । त्यसका लागि युवा जनशक्तिलाई कृषि क्षेत्रमा जोड्नुपर्दछ । सरकार त्यसतर्फ योजना बनाउँदैछ ।’

 

उनले सिर्जनशील र परिश्रमी युवा विदेशिने परिस्थितिको अन्त्य गर्न सरकार लागिपरेको बताए । मुख्यमन्त्री पोखरेलले पछिल्लो समय युवापुस्तामा गलत मनोविज्ञान हावी भएको भन्दै चिन्तासमेत व्यक्त गरे । उनले भने, ‘आफ्नो देशमा पाएको काम नगर्ने तर अन्यत्र गएर त्यही काम गर्ने समाजको मनोविज्ञान छ, यहाँ भएका काम विदेशबाट आएर युवाले गरेका छन्, त्यसैले मनोविज्ञानमा बदलाव जरुरी छ ।’

 

मुख्यमन्त्री पोखरेलले काम सानो ठूलो नहुने उल्लेख गर्दै आफ्नो परिवारमै बसेर गर्न सकिने असंख्य काम भएको र मुलुकभित्र थुप्रै काम भए पनि त्यो काम नगरिँदा बेरोजगारी देखिएकोसमेत बताए । उनले भने, ‘आफ्नो गाउँघरमा कामै नगर्ने तर विदेशमा मरीमरी काम गर्ने विभाजनकारी मानसिकताले युवा खाडीमुलुक जाने गरेका छन् । यो तत्काल परिवर्तन गर्नु जरुरी छ ।’

 

प्रदेश सरकारले युवाका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नेतर्फ अगाडि बढेको उनले बताए । कार्यक्रममा प्रदेश ५ सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेशका युवालाई रचनात्मक काममा लैजान प्रदेश सरकारले ठोस कार्यक्रम अगाडि बढाउने बताए । उनले गुणस्तरीय शिक्षाका लागि प्रदेश सरकारका कार्यक्रम अगाडि बढेको बताए । उनले युवाका सपना र आवश्यकतालाई सम्बोधन गर्न सरकारले प्रयत्न गरिरहेको बताए ।

 

जिल्ला युवा समिति रुपन्देहीका अध्यक्ष वसन्त ढकालले युवालाई विदेशिनबाट रोक्दै स्वदेशमा उद्यमशील बनाउन अभियान चालिएको बताए । कार्यक्रममा सहभागी विभिन्न संघसंस्था तथा क्लबमा आबद्ध युवाले प्रदेश युवा परिषद् गठन गर्नुपर्ने, युवालाई सरकारले प्रोत्साहन गर्नुपर्ने, लैंगिकमैत्री वातावरण हुनुपर्ने, संघसंस्था स्थानीय तहमै दर्ता र नवीकरण हुनुपर्ने, युवालाई रोजगार दिनेतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्ने धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय