१३ वर्षमा विवाह १५ वर्षमा सन्तान
बिहिबार, फागुन २९, २०७६ मा प्रकाशित

इनरुवा, फागुन २९ : सुनसरीको कोशी गाउँपालिका–१ लौकहीको मुसहर बस्तीकी सोनुदेवी सदाको १४ वर्षको उमेरमा विवाह भयो । विवाह भएको एक वर्षपछि उनीलाई पहिलो सन्तानका रूपमा छोरी प्राप्त भयो । अहिले सोनुको उमेर १७ वर्षको भएका बेला अर्को सन्तानका रूपमा गर्भमा आठ महिनाको बच्चा छ ।

 

सोही ठाउँकी आनन्दीदेवी ऋषिदेवको १३ वर्षकै उमेरमा विवाह भयो । विवाहको एक वर्षपछि उनको पहिलो सन्तानका रूपमा छोराको जन्म भयो । अहिले १६ वर्ष पुग्नुभएको उनको दुई वर्षीय छोरा छ । त्यसैगरी लौकही मुसहर बस्तीकै १८ वर्षीया कैली सदा डेढ वर्षीया छोरी र एकमहिने छोराको आमा भइसक्नुभएको छ । उनको १३ वर्षकै उमेरमा विवाह भएको हो । उनीहरू तीनैजना त्यस क्षेत्रका प्रतिनिधि पात्र हुन् ।

 

अहिले पनि सुनसरीको ग्रामीण क्षेत्रमा कम उमेरमा विवाह हुने र १८ वर्षको हुँदासम्म आमाबुबा हुने क्रम जारी छ । सुनसरीको दलित बस्तीमा जनचेतनाको अभाव, कम उमेरमा विवाह गर्दा आमा र बच्चालाई हुने असर लगायतको विषयमा प्रभावकारी रुपले जानकारी नहुँदा दलित बस्तीमा कम उमेरमै विवाह हुने गरेको पाइएको छ ।

 

विवाहवारि २० वर्ष पारि लगायतका नारा सञ्चारमाध्यम मात्र हैन यससम्बन्धी विषयका गोष्ठी, सभा र सभामा घन्किन थालेको धेरै भएसक्यो । विवाह पनि २० वर्ष  पूरा भएपछि मात्र गर्नुपर्ने कानूनी प्रावधान छ । तर पनि दलित बस्तीका बालबालिकालाई त्यसले खासै असर पारेको देखिदैन । दशदेखि १७ वर्षसम्मको उमेर भनेको पढ्ने, खेल्ने र भविष्यको बारेमा दत्तचित्त हुँदै अघि बढ्ने बेला हो । तर यहाँको दलित बस्तीको त्यो समूहका कतिपय बालबालिका सन्तानको स्याहारसुसार गर्न व्यस्त रहेको पाइन्छ ।

 

विभिन्न नगरपालिका, गाउँपालिका र वडाले बालविवाहसम्बन्धी जनचेतनामूलक कार्यक्रम वार्षिक रूपमा सञ्चालन गर्छन् । त्यो कार्यक्रम  कागज र कोठामा मात्र सीमित  छ । कानूनमा कम उमेरमा विवाह गरे केटा र केटी पक्षलाई दण्ड जरिवाना गर्ने व्यवस्था छ । त्यसले पनि उक्त समुदायमा पूर्णतया छुन सकेको देखिँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय