बालविवाह रोकथाम चुनौतीपूर्ण
बिहिबार, फागुन २९, २०७६ मा प्रकाशित

नेपालगञ्ज, फागुन २९ : बाँकेमा बालविवाह रोकथामको व्यवहारिक पक्ष चुनौतीपूर्ण बन्दै गएको छ । अभिभावकले नै २० वर्ष उमेर नपुग्दै आप्mना छोराछोरीको विवाह गरिदिने प्रवृत्तिका कारण यो चुनौतीपूर्ण बनेको हो । विसं २०६८ को जनगणनाअनुसार बाँकेको बालविवाह ६० प्रतिशत रहेको छ ।

 

केही समययता जिल्लाका केही सचेत युवायुवती किशोरी र बाल क्लबमार्फत जनचेतनामूलक कार्यक्रममा लागिपरे पनि विशेष गरी मुस्लिम तथा मधेशी समुदायमा बालविवाह रोक्न नसकिएको बाल अधिकारकर्मी साहिल अन्सारीको भनाइ छ । बाँकेमा बालविवाह कतिले गरिरहेका छन् भन्ने यकिन तथ्यांक नभए पनि बालविवाह बढ्दै गएको बालविवाहका क्षेत्रमा काम गर्ने संघसंस्थाको बुझाइ छ ।

 

गत आर्थिक वर्ष जिल्ला प्रहरी कार्यालयमा लिखित र मौखिक गरी ५० बढी उजुरी परे पनि दोषीमाथि कानूनी कारवाही भएको पाइँदैन । ‘उजुरीको संख्या कम देखिएको मात्र हो, मुस्लिम र मधेशी समुदायमा बालविवाह त निर्वाध हुने गरेको छ’, अधिकारकर्मी कमला पन्तले भने ।

 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले दुई परिवारको सहमतिमा हुने बालविवाह कानूनले नियन्त्रण गर्न नसकिने भएकाले अभिभावकमा नै जागरण ल्याउनुपर्ने खाँचो रहेको बताए । बीस वर्षभन्दा कम उमेरमा विवाह गरे त्यसलाई नेपालको कानूनले बालविवाह भन्ने गरेको छ । बालविवाह रोकथामका लागि सरकारी तथा गैरसरकारी संघसंस्थाले काम गरिरहेका छन् । यो प्रयासपछि बालविवाह केही मात्रामा न्यूनीकरण भए पनि पूर्णरूपमा रोकिन भने सकेको छैन ।

 

नेपालको कानूनले बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष कैद र ३० हजारसम्म जरिवानको व्यवस्था छ । तर बालविवाह रोकथामका लागि बनाइएका कानून प्रभावकारीरूपमा कार्यान्वयन हुन सकेको छैन । जसका कारण बालविवाहाका घटना बढ्दै गएको अवस्था छ । बालविवाह रोकथामका लागि स्थानीय सरकार र संघसंस्थाले सामूहिक पहल गर्नुपर्ने अधिवक्ता विश्वजित तिवारीको सुझाव छ ।

 

बाँके मधेशी र मुस्लिम समुदायको बाहुल्यता भएको जिल्ला हो । विशेष गरेर यो समुदायमा २० वर्ष नपुग्दै विवाह गर्ने प्रचलन छ । तर कानूनले २० वर्षपछि विवाह गर्न पाउने व्यवस्था गरेको छ । केही महिनाअघि बाँकेमा छोरीको विवाह १६ वर्षमै विवाह गर्न पाउँ भनेर मागसमेत उठेको थियो । सो मागलाई समाजका अगुवाले गैरकानूनी माग भनेर टिप्पणी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय