पाँच दिन देखि क्याम्पसमा तालाबन्दी, तनावमा क्याम्पस प्रशासन
शुक्रबार, असार २५, २०७८ मा प्रकाशित

बर्दिया, असार २५(फरकसमाचार)

मध्यपश्चिम विश्वबिद्यालयले भर्ना अवधि सकिएको भन्दै भर्ना नलिएपछि अनेरास्ववियु समर्थक बिद्यार्थीले क्याम्पसमा तालाबन्दी गर्दा पाँच दिनदेखि क्याम्पसमा प्रशासनिक काम पूर्ण रुपमा ठप्प भएको छ । तालाबन्दिले असार मसान्तमा समेत कुनै काम काज अघि बढाउँन नपाउँदा क्याम्पस प्रशासन परिवार तनाव ग्रस्त बनेको छ ।

क्याम्पस हाता भित्र ढुगां मुढा लिएर बस्ने बिद्यार्थीका कारण प्राध्यापक त्रस्त छन् ।
बबई बहुमुखी क्याम्पसमा आईतबार देखि तालाबन्दी गर्दा प्रशासनिक काम पनि सुचारु हुन सकेको छैन । क्याम्पसले स्नातक प्रथम सेमेस्टरको भर्ना नलिएको विषयमा विद्यार्थीले तालाबन्दी गरेको बताएका छन् ।

मध्यपश्चिम विश्वविद्यालय र क्याम्पसले स्नातक प्रथम वर्षको प्रवेश परीक्षा लिई भर्ना अवधि गत वैशाख ३० गतेसम्म दिएको थियो । वैशाखमा कोभिडको दोस्रो लहर तिव्र रुपमा वृद्धि रहेको भन्दै बिद्यार्थी भर्ना हुन नसकेको भनाई छ ।

त्यतिबेला जिल्लामा निषेधाज्ञा जारी थियो । क्याम्पसका कर्मचारी समेत संक्रमित भएका कारण क्याम्पस प्रशासन बन्द जस्तै हुँदा बिद्यार्थी भर्ना हुन नसकेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

प्रेस विज्ञप्तीमा बिद्यार्थी पिडित भएको उल्लेख छ । वैशाख ३० गतेसम्म यी कारणले भर्ना गर्न नसकेको विद्यार्थीको भनाई छ । भर्ना अवधिमा केही विद्यार्थीले मात्र भर्ना गरेका छन् । भर्ना गर्न छुटेका विद्यार्थीले पुनःभर्ना गर्नु पर्ने विषयलाई लिएर आन्दोलित भएका छन् ।

तालाबन्दी पछि मंगलबार क्याम्पस प्रशासनले विद्यार्थीहरुलाई वार्तामा बोलाएको थियो । क्याम्पस प्रशासनले विद्यार्थीको मागलाई सम्बोधन गर्न उपकुलपति कार्यालयलाई अनुरोध गर्ने र डेलिगेशन जाने सहमति भएको थियो ।

क्याम्पस प्रमुखले भर्नाको पहल गर्न नसकिने कुराले क्याम्पस र विद्यार्थीको भविष्य प्रति नजरअन्दाज गरेको प्रति अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण भएको प्रेस विज्ञप्ती मार्फत जनाएका छन् ।

विद्यार्थीले लगाएको तालाबन्दीले क्याम्पसका आन्तरिक कामकाज ठप्प रहेको एक प्राध्यापकले बताए । क्याम्पस प्रशासन समस्या समाधान गर्न सक्ने अबस्था नरहेको बताएर बल पुर्वक क्याम्पस खोल्ने तयारी रहेको स्रोतले जनाएको छ ।

तालाबन्दीले असार ३० गतेसम्म चौथो सेमेस्टरको अनलाईन परीक्षा फर्म भर्ना असहज भएको छ । बार्ता मार्फत समस्या हल निकाल्न छलफल भईरहेको बबई बहुमुखी क्याम्पसका प्रमुख बिरेन्द्र राज लम्सालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय