आगलागी घटना न्युनिकरण गर्न प्रहरीले सक्रियता देखाउँदै
बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित

बर्दिया,बैशाख १३(फरकसमाचार)/ फागुन महिना लागे देखि आगलागीका घटना हुन सक्ने सर्वसाधारणमा त्रास सुरु हुन्छ । सर्वसाधारणमा यो त्रास जेठसम्म रहन्छ । आगलागी घटनाको विगतको तथ्यांक हेर्दा जिल्लामा ठुलो धनजनको क्षति हुने गरेको पाईन्छ । आगलागीका घटना बढ्न थालेपछि प्रहरीले सक्रियता देखाएको छ । प्रहरीले गाउँ, टोल र खेतमा पुगेर आगलागी घटना न्युनिकरणको लागि जनचेतना मुलक कार्यक्रम गरेको छ ।

मधुवन नगरपालिका–८ गाउँ नंम्बर १ का बिर बहादुर चन्दले मंगलबार बाटोमा फोहोर जलाउन बालेको आगो सल्किएर उनको परालको टौवा र गोठमा लागलागी भएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले बताए । ‘सल्किएको आगलागीबाट चन्दको श्रीमति ४० वर्षिय तुलसा चन्दको बाँया कुम जलेको छ’ डिएसपी अर्यालले भने,‘घाईत चन्दको बिएनबि अस्पताल लालीबजारमा उपचार भईरहेको छ ।’ त्यसैगरि गोठमा रहेको एउटा भैंसी सामान्य जलेको छ । प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको डिएसपी अर्यालले जनाए ।

पछिल्लो समय आगलागीका घटना बढेको डिएसपी अर्यालले बताए । ‘आगलागी भएको जानकारी पाउनसाथ प्रहरीले रेसपोन्स गरेको छ’डिएसपी अर्यालले भने,‘आगलागी घटना न्युनिकरण गर्न प्रहरी एक्लै सक्दैन सबैले सघाँउनुपर्छ ।’ आजभोलि अधिकांश सामुदायिक वनमा डढेलो लागेको हुन्छ । डढेलो लागेको जानकारी पाउनसाथ सामुदायिक वनका पदाधिकारीले प्रहरीसंग समन्वय गर्न आग्रह गरे । प्रहरीले आगलागी घटना न्युनिकरण गर्न मेहनत गरिरहेको छ । आगलागी हुन नदिने सम्बन्धि जिङगल बजाएर त्यसैगरि प्रत्येक दिन दुई तीन वटा सचेतनामुलक कार्यक्रम संचालन गरिरहेको डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

विस २०८० साल बैशाख देखि फागुनसम्म ५३ वटा आगलागीको घटना घटेको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकले देखाएको छ । यस अवधिमा आगलागी घटनाबाट ८ जनाको ज्यान गएको छ भने ७ जना घाईते भएको रेकर्डमा उल्लेख छ । २४ वटा पशु चौपाया जलेर मरेका छन् भने २४ वटा घाईते भएको तथ्यांक छ । यसरी एघार महिनाको अवधिमा आगलागी घटनाबाट रु २ करोड २४ लाख ८८ हजार बराबरको अनुमानित क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिको रेकर्र्डले पुष्टि गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर