काठमाडौं,
हतियार ‘एसएमजी’ चोरेको आरोपमा २८ महिनादेखि जेलमा रहेका नेपाली सेनाको कालीबहादुर गणका अमल्दार लवकुमार गुरुङ र जवान सरोज तामाङको मुद्दामा बिहीबार सुनुवाइ हुँदैछ । २०७६ वैशाख ६ मा समरी जनरल सैनिक अदालतले गरेको निर्णयविरुद्ध उनीहरुले जंगी अड्डास्थित विशेष सैनिक अदालतमा पुनरावेदन गरेका थिए ।उनीहरुले चोरेको भनिएको हतियार महेन्द्र दल गणमा कार्यरत अर्का सैनिक जवान गंगाधर ढकालको साथबाट बरामद गरिएको छ । ढकालले साउन ७ मा चितवनमा हुद्दा भरत गुरुङलाई सो हतियार प्रयोग गरेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । भरत गुरुङको हत्या आरोपमा पक्राउ परेका ढकाललाई चितवन जिल्ला अदालतले सैनिक अदालतको जिम्मा लगाएको छ । उनलाई जंगी अड्डास्थित आन्तरिक थुनामा राखिएको छ । २०७५ पुस ३ मा ‘एसएमजी’ चोरी भएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार हत्यामा बट नम्बर ‘केआर–१००७९२’ नम्बरको एसएमजी प्रयोग भएको छ । दुई वर्षअघि चोरी भएको हतियारको नम्बरसँग सो नम्बर म्याच भएको छ ।
चोरी प्रकरणमा ट्विस्ट आएपछि जंगी अड्डाले कोर्ट अफ इन्क्वायरी बोर्ड ‘छानविन समिति’ चितवन पठाएर छानविन गरेको थियो । महा–सेनानी नेतृत्वको समितिले भदौ ११ अघि नै छानविन प्रतिवेदन बुझाएको थियो । इन्क्वायरी बोर्डले हतियार सैनिक जवान ढकालले नै चोरेको पुष्टि भएको प्रतिवेदन जंगी अड्डामा बुझाएको छ । कोर्ट अर्फ इन्कवायरी प्रतिवेदन बुझाएपछि सो मुद्दामा जंगी अड्डाले कोर्ट मार्सल गरेको थियो । सैनिक जवान गंगाधर ढकालले हतियार आफैंले चोरेको स्वीकारेका छन् । हत्या आरोपी सैनिक जवान चितवनको कालिका नगरपालिका–२१ पदमपुरका हुन् । उनले कोत घरको झ्यालको जाली उधारेर अङ्कुसेले तानेर हतियार चोरेको छानबिनबाट थाहा भएको छ ।
हतियार चोरेको आरोपमा कालीबहादुर गणका अमल्दार लवकुमार गुरुङ्ग र जवान सरोज तामाङ २८ महिनादेखि कारागार कार्यालय भरतपुरमा थुनामा छन् । विशेष सैनिक अदालतले अमल्दार लवकुमार गुरुङ्ग र जवान सरोज तामाङ्ग ‘निर्दोष हुन कि होइनन्’ र गंगाधरले कत्ति जेल सजाय पाउँछन् भन्नेबारे फैसला गर्ने बताइएको छ ।रातोपाटीबाट साभार