अराजकता देखिए सरकारले ‘बोल्ड स्टेप’ चाल्छ
बुधबार, चैत १२, २०७६ मा प्रकाशित

सरकारले मङ्गलबारदेखि देशभर लकडाउनको घोषणा गरेको छ । मङ्गलबार केही खुकुलो भए पनि बुधबार सुरक्षाकर्मीले निकै कडाइ गरिरहेका छन् । पास नभएका सवारी चल्न दिएका छैनन् । पैदल यात्रुले पनि बहाना पारेर बाहिरफेर निस्कन पाएका छैनन् ।

लकडाउनका कारण भित्री गल्लीका चोक बजारसमेत ठप्प भएका बेला कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई भ्याइनभ्याइ छ । आपूर्ति व्यवस्था कसरी सहज तुल्याउने, चिकित्सा सामग्री, यन्त्र, उपकरण कसरी ल्याउने, यथाशीघ्र प्रयोगशाला कसरी निर्माण गर्ने ? आदि प्रश्नले पिरोलिरहेको छ । अर्कोतिर एकपछि अर्कोगरी सङ्क्रमित फेला पर्न थालेकाले कोरोनाभाइरस फैलन नदिन उत्तिकै चनाखो हुनुपर्नेछ ।

विश्वव्यापी विपद् बनेको कोभिड–१९ नेपाललाई पनि टाउको दुखाइ बनेका बेला मन्त्री, उच्च पदस्थ सरकारी अधिकारीहरू पनि सङ्क्रमणको जोखमबाट बच्न आफैं पनि सतर्क रहनुपर्ने भएको छ । कारण– तालुकदार मन्त्रीहरू, उच्च पदस्थ कर्मचारीहरू सिंहदरबार ओहोदोहोर गरिरहेका छन् । अघिपछिको तुलनामा झन् बाक्लो आउजाउ छ ।

तसर्थ, कोरोनाभाइरसले उच्च प्रशासकीय केन्द्र सिंहदरबारमा प्रवेश नपाओस् भनेर कडा सावधानी अपनाइएको छ । दक्षिणी गेटबाट छिर्नेबित्तिकै दायाँतर्फ सुरक्षाकर्मीले ज्वरो जाँच गर्छन् र स्यानिटाइजरमार्फत् किटाणुशोधन गरेरमात्रै भित्र प्रवेश दिन्छन् । मन्त्रालय, विभाग पुगेपिच्छे उही कृत्य दोहोर्‍याउनुपर्छ ।

उच्चस्तरीय समन्वय समितिका संयोजक, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भने कार्यकक्ष नै प्राङ्गणमा ओरालेका छन् । मन्त्रालयको आँगन (पुतली बगैंचा)बाटै भेटघाट, संवाद र समितिका सदस्यहरूको कामको रिपोर्टिङ लिन थालेका छन् । मानिसहरूको भेटघाट, संवादबाट कोरोनाभाइरस आदान–प्रदान नहोस् भने भौतिक दूरी कायम गर्न थालेका छन् ।

सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडा समितिको नियमित बैठकका लागि पुगेका थिए । समितिका संयोजक ईश्वर पोखरेल मन्त्रालय मातहतका कर्मचारीसँग ब्रिफिङ लिइरहेका थिए । सङ्क्रामक कोरोना भाइरसका कारण सम्पूर्ण प्रणालीनै त्राहिमाम् भइरहेका बेला समितिका संयोजक पोखरेलसँग गरेको कुराकानीः

आइतबारसम्म सरकार, समितिको एकढङ्गको तयारी थियो, सङ्क्रमित फेला पर्न थालिसकेको अवस्थामा तपाईंहरूले के–कसरी काम गरिरहनु भएको छ ? 

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले १२ वटा बैठक बसेर सङ्क्रमण फैलन नदिन आवश्यक निर्णय गरेको छ । त्यही निर्णयमा आधारित भएर समितिले आवश्यक कार्य सम्पादन पनि गरेको छ । थप योजना पनि बनाइरहेको छ । अहिले हामी ती योजना प्रभावकारी रूपमा कार्यान्वयन भएनभएको हेरिरहेका छौं । अनुगमन प्रभावकारी बनाइरहेका छौं ।

सङ्क्रमित देखा परिसकेकाले हामीले कोरोना विशेष अस्पताल बनाउने तयारी गरेका छौं । यो अस्पताल थपनाका लागि थपना होइन । सङ्क्रमण न्यूनीकरण– निराकरण गर्न विशेष अस्पताललाई कसरी व्यवस्थित बनाउने, अत्याधुनिक उपकरण जडान गर्ने, के–कस्तो प्रविधि अपनाउने, औषधि, चिकित्सक, स्वास्थ्यकर्मीको व्यवस्थापन कसरी गर्ने भनेर हामीले आवश्यक योजना तर्जुमा गरिरहेका छौं ।

अहिले टेकुमा परीक्षण र उपचारको काम भइरहेको छ । टेकुले मात्रै पुग्दैन । अन्यत्र पनि त्यो क्षमता विस्तार गर्नुपर्नेछ ।

यहीबीचमा हामीले कोरोनाको सङ्क्रण रोक्न, फैलन नदिन र उपचार गर्न सरकारी कोषको स्थापना गरेका छौैं । ५० करोड सरकारले हालेको छ । सहयोग गर्ने दाताहरूले सहयोग उपलब्ध गराउँदै हुनुहुन्छ । कोषमा पनि हामीले एकद्वार नीति लिएका छौं । अरूलाई कोष खोल्न दिएका छैनौं । जसजसलाई सहयोग गर्न मन लाग्छ, केन्द्रीय कोषमै दाखिला गर्नुहुन्छ ।

अहिले हामीलाई चाहिएको चिकित्सा सामग्री हो । हिजोसम्म आवश्यक थिएन, चलेकै थियो । आवश्यक परेका बेला बजारमा पाइन्थ्यो पनि । अहिले सङ्क्रमण विश्वव्यापी महामारी बनेको छ । सबै मुलुक सङ्क्रामक भाइरसबाट आक्रान्त छन् ।
सर्वत्र एकै हाल हुँदा अहिले चाहेजति, चाहेको किसिमले उपलब्ध हुन नसकेको हो ।

यसकारण जोडजाम गरेर हामीलाई चाहिनेजति सरसामग्री ल्याउने योजना बनाएका छौं । विमान चार्टड गरेर ल्याउनुपर्ने हुन्छ या, कार्गो विमान लगेर ल्याउनुपर्ने हुन्छ, सरकारले त्यसको आवश्यक बन्दोवस्त गरेको छ ।

चिकित्सा सामग्री कहिलेसम्म ल्याउनुहुन्छ, चिकित्सक, स्वास्थ्यकर्मी बिनासुरक्षा (कवच) सामग्री काम गरिरहेका छन् ? 

शनिबारसम्म ल्याउने सरकारको तयारी छ । अन्तर्राष्ट्रिय बजारमा सहजै पाइन्थ्यो, आपूर्ति हुन्थ्यो भने तत्कालै ल्याउने कुरा हुन्थ्यो । तै पनि खोजखाज गरेर शनिबारसम्म हामीलाई चाहिने उपकरण, चिकित्सा सामग्रीहरू ल्याउने तयारी र त्यसको व्यवस्थापन मिलाएका छौं ।

हामीले मित्र राष्ट्र चीन र भारत सरकारसँग अनुरोध गरेका छौं । उहाँहरूले पनि सहयोग गर्छौं भन्नुभएको छ । सबैतिर हाहाकार भएकाले छिटो ल्याउन समस्या भएको हो ।

लकडाउनकै अवधिमा भारतबाट भटाभट नेपालीहरू आए उनीहरूको व्यवस्थापनका लागि के भइरहेको छ ?

सीमा क्षेत्रमा हामीले कोही नागरिकलाई अलपत्र पर्न दिएका छैनौं । दिँदैनौं पनि । लकडाउन नागरिककै सुरक्षाका लागि हो, नागरिकलाई दुःख दिनका लागि होइन ।

लकडाउनकै अवधिमा सूचना नपुगेर, या बाटामा रहेका नेपालीहरू सीमामा आइपुग्नुभयो । उहाँहरूलाई हामीले अन्तरिम व्यवस्था गर्‍यौं ।

भारतबाट आएका ती नेपालीहरूलाई सम्बन्धित प्रदेशको समन्वयमा क्वारेन्टाइनमा राखिएको छ । त्यसको व्यवस्थापन पनि सम्बन्धित प्रदेशले गरेका छन् ।

अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मात्र परीक्षण भइरहेको छ, एकाएक सङ्क्रमितको सङ्ख्या बढ्यो भने के गर्ने ?

अहिलेसम्म हामीसँग जम्माजम्मी एउटा ल्याब छ । अब धरान, धुलिखेल, पोखरा, नेपालगञ्जमा ल्याबको स्थापना गर्ने तयारीमा जुटेका छौं । आजको भोलि नै उपकरण जडान गर्न सम्भव छैन । ती ठाउँमा प्रयोगशाला स्थापना नहुञ्जेल विराटनगर, नेपालगञ्जमा स्वाब सङ्कलन हुनेछ । दैनिक एक फ्लाइट पूर्वमा विराटनगर, पश्चिममा एक फ्लाइट नेपालगञ्जसम्म जहाज पठाएर स्वाब सङ्कलन गर्ने र टेकु ल्याएर परीक्षण गर्ने बन्दोवस्त मिलाइएको छ ।

यस्तो डरलाग्दो महामारीको बीचमा पनि हामी दिनरात एकै बनाएर तयारी र कामहरूको विन्यास गरिरहेका छौं । यसमा सबै पक्ष गोलबन्द गर्ने, सबैपक्षसँग हातेमालो गरेर, मिलेर काम गर्ने तयारी छ । हामीले सबै राजनीतिक दल, नागरिक समाज, प्रबुद्ध, बुद्धिजीवी समूह, व्यवसायीहरूलाई एकताबद्ध बनाएर कोरोना सङ्क्रमणविरुद्ध जुध्न हामीले पहल, प्रयत्न गरिरहेका छौं । सबैको सकारात्मक साथ–सहयोग पनि पाएका छौं ।

सङ्क्रमितहरू एकपछि अर्को गरी फेला परिरहेकाले लकडाउन (बन्दाबन्दी)मा अझै कडाइ गर्नुपर्ने देखिन्छ, आपूर्ति व्यवस्था कसरी मिलाउने तयारी छ त ?

आपूर्ति प्रणालीलाई कसरी व्यवस्थित र सहज बनाउने भन्ने चुनौति छ । अहिले नागरिकहरूमा भ्रम छ । हामीले उपभोग्य बस्तु, सामग्री बेचबिखन गर्ने पसल बन्द गर्नु भनेका छैनौं । खुलै राख्न भनेका छौं । तर व्यवसायीहरूले बन्द गरेर हिँडेका छन् ।

राज्यले कुनै निहुँमा अथवा आन्दोलनकारीले अगाडि सारेको कार्यक्रमका रूपमा कर्फ्यु लगाइन्छ, त्यसलाई उल्लङ्घन गर्न मानिसहरू ढाँचा पारेर सडकमा हिँड्छन् । कदाचित् यही किसिमको लापरवाही, अराजकता भयो भने सरकारले मुलुकको रक्षाका लागि, नागरिकको जीवनका लागि र भविष्य सुरक्षित तुल्याउन बोल्ड स्टेप (कडा कदम) चाल्नुपर्ने हुन सक्छ ।

नागरिकहरू आफैं सचेत हुनपर्ने हो । नागरिकको कर्तव्य, जिम्मेवारी बोध गर्नुपर्ने हो । त्यस्तो कतिपय ठाउँमा देखिएको छैन । आम रूपमा राज्यले सरकारका तर्फबाट गरिएका कुरामा समर्थन छ । कतिपय ठाउँमा लापरवाही देखिएको छ । यस्तो लापरवाही हुन दिनु हुँदैन ।

माल–सामग्री, उपभोग्य बस्तु बजारमा पर्याप्त मौज्दात छ । त्यसलाई कसरी सिस्टमेटिक (प्रणालीगत) ढङ्गले आपूर्ति गर्ने, जनताको आवश्यकता परिपूर्ति गर्ने गरी त्यसलाई कसरी व्यवस्थित गर्ने ? यो एउटा समस्या छ ।

अहिले सरकारको ध्यान मूलतः दुईवटा कुरामा छ । एउटा आपूर्ति व्यवस्था कसरी सहज तुल्याउने ? अर्को सङ्क्रमण कसरी फैलन नदिने ?

अहिले सङ्क्रमित, एकजना, दुईजना जति देखिए पनि उपचार गर्ने प्रबन्ध मिलाएका छौं । उनीहरूबाट अन्य व्यक्तिमा सङ्क्रमण फैलन नदिन उत्तिकै सचेत छौं । सचेतनाका साथ काम गरिरहेका छौं । यसमा नागरिकको सहयोग उत्तिकै जरुरी छ ।

कोरोना सङ्क्रमित सबैलाई सरकारले नै उपचार गर्ने हो ?

कोरोना सङ्क्रमित सबैको उपचार सरकारले गर्छ । सरकारको कर्तव्य नै हो यो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिनुपरेन, अस्पतालहरूले ज्वरो आएका बिरामीसमेत लिन मानेका छैनन्, सरकारले थाहा पाएको छ कि छैन ?

केहीकेही भएको होला । त्यसलाई आमरूपमा बुझ्नु हुँदैन । अस्पतालहरू पनि व्यवस्थित छैनन् । उपकरण, चिकित्सा सुरक्षा सामग्री छैन । अनेक समस्या हुन सक्छन् । सङ्क्रमित रहेछन् भनेर अरूलाई पनि सर्ने भय हुन्छ । त्रासको अवस्था पनि होला । तर, स्वास्थ्य उपचारका लागि खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, विशेषज्ञहरूले त्यस्तो गर्नुहुँदैन । जिम्मेवारी र कर्तव्य बमोजिम काम गर्नुपर्छ ।

शङ्का लाग्नेबित्तिकै टेकु रिफर गरिहाल्नुहुँदैन ?

शङ्का लागेपछि जाँचबुझ गर्नुपर्छ नै । तर, हरेक अस्पताल, उपचार केन्द्रले त्यस्ता समस्या परेका व्यक्ति आउँदा उपचार गर्ने, जाँचपड्ताल गर्ने कुरामा निष्ठापूर्वक लाग्नुपर्छ ।

भारतले २१ दिन लडकडाउनको घोषणा गरेको छ, नेपालमा असर पर्छ नै, सरकारको के तयारी छ ?

नेपाल सरकार, उच्चस्तरीय समन्वय समितिले त्यसबारे अध्ययन गरिरहेको छ । हामीकहाँ के–कस्तो असर, प्रभाव पार्छ बुझेर आवश्यक निर्णय लिन्छौं ।

मुलुकको लकडाउन लम्बिने सम्भावना कत्तिको छ ?

हामी विश्लेषण गरिरहेका छौं । सङ्क्रमणको अवस्थाले निर्धारण गर्छ । परिस्थिति गम्भीर बन्दै गयो भने स्वाभाविक रूपमा यो लम्बिन्छ नै ।

नेपालमा पर्सनल प्रोटेक्टिभ ईक्विपमेन्ट (पीपीई) समेत नहुने अवस्था हो ?

हुँदै नभएको त कहाँ हो र ! पर्याप्त थिएन । भएकाले पुगेन । केही उत्पादन त भइराखेकै छ । सबैतिर लडकडाउन गर्नुपर्ने परिस्थिति खडा भएपछि अभाव स्वाभाविकै हो । १२खरीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय