युट्युब ट्रेन्डिङमा पोइ पर्‍यो काले
शनिबार, चैत २२, २०७६ मा प्रकाशित

काठमाडौं, चैत २२ : विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीले प्रायजसो मानिस होम क्वारेन्टाइनमा छन् । फिल्म हललगायत मनोरञ्जनका क्षेत्र बन्द छन् । यो समयमा धेरैजसोले फिल्म हेर्ने, किताब पढ्नेलगायतका काममा आफूलाई व्यस्त राखेका छन् । पहिल्लो समय युट्युबमा अपलोड भएका फिल्मले अनलाइनमा राम्रो भ्युज पाएका छन् ।

यस्तै एक साताअघि युट्युबमा अपलोड भएको नेपाली फिल्म पोइ पर्‍यो काले अहिले नेपाली युट्युब ट्रेन्डिङ वानमा छ । अहिलेसम्म ५७ लाख भन्दा बढिले फिल्म हेरिसकेका छन् ।

पोइ पर्‍यो काले सामाजिक प्रेमकथामा आधारित फिल्म हो । राजीव गुरुङ र सरोज नेपाली निर्माता भएको यो फिल्मलाई शिशिर रानाले निर्देशन गरेका छन् । सौगात मल्ल, सृष्टि केसी, पूजा शर्मा, आकाश श्रेष्ठलगायत कलाकारको अभिनय छ । कालो रङलाई नै घृणा गर्ने पूजा शर्माको अन्ततः बुवाआमाको जोडबलमा कालो छाला भएका सौगातसँग बिहे हुन्छ । प्रेममा असफल भएकी पूजाले केटा नै नहेरी बिहेका लागि मञ्जुरी दिन्छे । बिहेको दिन सौगातले सिन्दूर हालिसकेपछि मात्रै उसलाई आफ्नो श्रीमान् कालो भएको थाहा हुन्छ ।

सौगातलाई कालो भएकै कारण घृणा गरेकी पूजा अन्ततः श्रीमान्को राम्रो गुण र मायालु व्यवहार देखेर उसप्रति सकारात्मक देखिन्छे । यही घटना क्रम वरिपरि फिल्म घुमेको छ । कलेजमा कालो रङ भएको राधेश्यामले प्रेम प्रस्ताव गर्दा उसलाई कलेजमै बदनाम गरेकी पूजा आफूले गोरो केटासँग मात्रै बिहे गर्ने दाबी गर्दै बाजी थाप्छे । यही बाजीको डरले आफ्नो बदनाम हुने भन्दै उसले लामो समयसम्म सौगातलाई श्रीमान्का रूपमा अपनाउन सकिन् ।

फुर्सदको समयमा समय कटाउन फिल्म मध्यम स्तरको छ । घटना क्रममा त्यस्तो विशेष सुन्दरता नभए पनि कथा सरर अगाडि बढेको छ । करिब पौने तीन घण्टाको यो फिल्म हेरेर मनोरञ्जन लिन सकिन्छ ।

https://www.youtube.com/watch?v=pDSPhCQeaXY

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय