पोखरामा भएको आरडिटी परीक्षणमा १८ जनाको रिपोर्ट नेगेटिभ
शनिबार, बैशाख ०६, २०७७ मा प्रकाशित

कास्की, वैशाख ६ : पोखरा महानगरपालिका–१९ मा शुक्रवार १८ जनाको -यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) गरिएकामा सबैको नतिजा नेगेटिभ आएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको प्राविधिक सहयोगमा वडाले चैत महिनादेखि पोखरा आएकामध्ये तीन महिलासहित १८ जनाको आरडिटी परीक्षण गराएको वडाध्यक्ष शोभामोहन पौडेलले बताए।

यसअघि पनि पोखरा–१९ ले केही व्यक्तिको आरडिटी परीक्षण गरेको जानकारी दिँदै उनले हालसम्म परीक्षण गरिएका ४१ मध्ये सबैको नतिजा नेगेटिभ आएको बताए। वडामा पहिलो चरणमा ८५७ लाई राहत वितरण गरिएको उल्लेख गर्दै अध्यक्ष पौडेलले दोस्रो चरणमा पुनः ५०० को हाराहारीमा राहत सामग्री वितरण गर्नुपर्ने देखिएको बताए।

यसैबीच गण्डकी प्रदेशसभा सदस्य रामजी बराल (जीवन) ले ज्यालादारी मजदुर धेरै ठाउँमा समस्यामा परेको भन्दै उनीहरूको स्थानीय तहले राम्रो रेखदेख गर्नुपर्ने बताए । पोखरा–१९ मा भइरहेको राहत वितरण तथा कोरोना भाइरससम्बन्धी रोकथामका लागि भएका प्रयासबारे स्थलगत अवलोकन गर्दै उनले वडामा कुनै मजदुर खान नपाएर बस्नुपर्ने अवस्था नराख्न वडाध्यक्षलाई आग्रह गरे ।

मजदुलाई राहत पनि नदिने र आफ्नो गन्तव्य जानसमेत रोक्न नहुनेमा जोड दिँदै उनले सजगताका साथ उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याए। रासस

प्रतिक्रिया

सम्बन्धित खवर