गाउँपालिकाद्वारा उद्धार
मङ्गलबार, बैशाख ०९, २०७७ मा प्रकाशित

तनहुँ, वैशाख ९ : बन्दीपुर गाउँपालिकाले कोभिड–१९को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि समस्यामा परेका इँटाभट्टामा काम गर्न २५ मजदूरलाई घर पुर्याउन सहयोग गरेको छ ।

पर्साका ठोरीका ती मजदूरलाई यातायातको साधन व्यवस्था गरी घर पु¥याउन सहयोग गरेको गाउँपालिकाले जनाएको छ । वडा कार्यालयमा आएर उनीहरुले घरसम्म पुर्याइदिन पटकपटक अनुरोध गरेपछि गाउँपालिकाबाट बजेट व्यवस्था गरी उद्धार गरिएको वडा नं १ का वडाध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिए ।

हावाहुरीले ओतलाग्ने टहरो भत्काइदिएपछि छिमेकीको घरमा शरण लिँदै आएको मजदूर माया तामाङले बताउनुभयो । हावाहुरी आउँदा छिमेकीकहाँ गएर बस्ने र हावाहुरी, असिनापानी रोकिएपछि पुनः आफ्नै स्थानमा आएर बस्ने गरेको उहाँले दुखेसो पोखे । आकाशमा गड्याङगुडुङ गरेपछि दायाँबायाँ छिमेकीकहाँ गएर ओत लाग्नुपर्ने अवस्था रहेको अर्का मजदुर प्रताप मुक्तानले सुनाए ।

उनले भने, “ज्यान जोगाउनै गाह्रो भएपछि घर फर्कने निर्णय गरेका हौँ । गाउँपालिकाले हामीहरुको उद्धार गरेर ठूलो गुन लगाएको छ ।” कोरोना भाइरसको जोखिम हुन नदिन अलपत्र परेका मजदूरलाई सुरक्षित तरिकाले घर पठाउने नीति सो गाउँपालिकाले लिएको जनाइएको छ । अलपत्र परेका मजदूरलाई उद्धार गरी घर पुर्याएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।

लकडाउनका कारण अलपत्र परेका मजदूरहरुलाई बन्दीपुर–१ स्थित डुम्रेबजारबाट यातायातको व्यवस्था गरी घर पठाइएको डुम्रे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक वीरेन्द्रप्रसाद खड्काले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर