कोरोनासँग जुध्न स्थानीय तहको ‘कमाण्ड पोष्ट’
बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित

बलेवा, वैशाख १० : बागलुङका सबै स्थानीय तहले कोरोना भाइरसको सङ्क्रमण र जोखिम न्यूनीकरणका लागि आन्तरिक तथा समन्वयात्मक अभियान चलाउने भएका छन्। जिल्लाको १० वटै स्थानीय तह र जिल्ला कमाण्ड पोष्टले मङ्गलबार बैठक बसेर अभियान चलाउने विषयमा सहमति जुटाएका हुन्।

सबै पालिकामा कम्तीमा एक–एक मापदण्ड पुगेका क्वारेन्टाइन बनाउने, औषधिको व्यवस्थापन गर्ने लगायतका विषयमा समन्वयात्मक अभियान चलाउने निर्णय पनि बैठकले गरेको छ।

प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुको अध्यक्षतामा भएको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकमा १० वटै स्थानीय पालिकाका प्रमुख तथा प्रतिनिधि सहभागी थिए।

बैठकले सबै पालिकामा प्रवक्ता राखेर एकद्वार सूचना प्रवाह गर्ने निर्णय गरेको छ। सबै पालिकालाई सहज हुने गरी जिल्लास्तरीय नमूना सङ्कलन तथा व्यवस्थापन समूह गठन भएको छ।

धवलागिरि अञ्चल अस्पतालका डा प्रदीप श्रेष्ठको नेतृत्वमा स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौ र अस्पतालकै ल्याब टेक्नोलोजिष्ट सुरज बराल रहेको समूह बनाइएको हो।

जिल्लामा रहेका १३ वटै एम्बुलेन्सलाई कोरोनामैत्री बनाउने र आवश्यक पर्दा जुनसुकै प्रयोग गर्न सकिने बनाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले बताए।

विभिन्न स्थानमा बन्द गरिएका सडक खुलाउन पहल गर्ने निर्णय पनि भएको छ। कोरोना त्रासका कारण जिल्लाका विभिन्न स्थानमा सर्वसाधारणले सडक अवरुद्ध गरेका छन्। आकस्मिक सेवाका सवारी हिँड्नुपर्ने भएकाले सडक बन्द गर्न नहुने छलफल भएको थियो। बरु ती स्थानमा स्वास्थ्य तथा सुरक्षा जाँच गरिने बताइएको छ।

विभिन्न समस्याले पैदल हिँडेका मजदुरलाई खानेबस्ने व्यवस्था र गन्तव्यमा लैजाने काम स्थानीय पालिकाले गर्ने तथा उनीहरुको स्वास्थ्य परीक्षणको व्यवस्थापन गरिने बैठकमा सहभागी जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताए।

बिरामीको उपचार नियमित गर्ने, खोप सेवा सञ्चालन गर्ने र कोरोना शङ्का भएकाको कन्ट्याक्ट सेटिङ तथा रेकर्ड खोज्ने निर्णय भएको शर्माले जानकारी दिए। धवलागिरि अञ्चल अस्पतालमा आइसीयू निर्माण भएकाले त्यसका लागि रक्तसञ्चार केन्द्रमा जतिबेला पनि रगत तयारी अवस्थामा राख्ने विषयमा छलफल भएको र सोअनुसारको तयारी गर्न भनिएको छ।

केही दिनदेखि झरी, असिना, चट्याङले परेको क्षतिको किसानलाई राहत दिन स्थानीय, प्रदेश र सङ्घीय सरकारसम्म आह्वान गर्ने निर्णयसमेत भएको पन्तले जानकारी दिए।

पालिकाहरुले हालसम्म वितरण गरेको राहतको समीक्षा गरेका छन्। उनीहरुले अहिलेसम्म ११ हजार ६४४ परिवारलाई राहत वितरण गरिएको तथ्याङ्क प्रस्तुत भयो। तीमध्ये चामल, मकै र कोदोसमेत गरी एक लाख ९९ हजार ५८२ केजी अन्न वितरण गरिएको जनाइएको छ।

दाल १० हजार १०८ केजी, तेल १० हजार ९२६ लिटर, नुन १३ हजार ९०० पोका र १३ हजार ५०३ वटा साबुनसमेत वितरण भएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए। रासस

प्रतिक्रिया

सम्बन्धित खवर