पोखरामा स्वचालित सेनिटाइजेशन टनेलः प्राविधिक शिक्षा व्यवहारमा
बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित

कास्की, वैशाख १० : कोभिड–१९ रोकथाम र न्यूनीकरणका लागि पोखराका विभिन्न ठाउँमा स्वचालित सेनिटाइजेशन टनेल राखिएको छ । नेपाल इञ्जिनीयर्स एशोसियशन गण्डकी र प्रगतिशील इञ्जिनीयर्स एशोसियशन नेपालले उक्त स्वचालित सेनिटाइजेशन टनेल निर्माण गरी पोखरा तीन ठाउँमा उपलब्ध गराएका छन् ।

हाल मानिसको भीड हुने स्थान छनोट गरी उक्त टनेल राखिएको छ । दुवै संस्थाका इञ्जिनीयरहरुले यसको पहिलोपल्ट निर्माण गरेर पोखरा महानगरलाई सहयोगस्वरुप प्रदान गरेका थिए । त्यसको सफलतासँगै यसलाई अन्य ठाउँमा पनि राखिएको हो । एशोसियसन गण्डकीका अध्यक्ष बाबुराम भण्डारीले प्राविधिक सीपको उपयोग गर्दै सहयोगमा जुटिएको बताए।

“अहिलेको अवस्थामा प्रविधिको प्रयोग गरेर जोखिम न्यूनीकरण अपरिहार्य छ , जुन प्रयास हामीबाट भयो, त्यो सफल भएको छ ।” करीब रू एक लाख ५० हजारमा टनेल निर्माण गरिएको हो । यसले मानिसको बाहिरी लुगामा भएको भाइरस पाँच सेकेण्डमै नष्ट गर्छ ।

प्रगतिशील इञ्जिनीयर्स एशोसिएशनले पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) लाई पनि स्वचालित सेनिटाइजर टनेल उपलब्ध गराएको छ । बिरामी र उनका आफन्त एवम् स्वास्थ्यकर्मीको आवतजावत बढी हुने भएकाले स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिएर सहयोग गरिएको उक्त संस्थाका कार्यवाहक अध्यक्ष महेन्द्र गोदारले जानकारी दिए ।

त्यसैगरी, मंगलबार नेपाल इञ्जिनीयर्स र प्रगतिशील इञ्जिनीयर्सको प्राविधिक सहयोगका साथै पोखरा महानगरको सहयोगमा कास्कीको जिल्ला प्रहरी कार्यालयमा स्वचालित टनेल जडान गरिएको छ । जिप्रकामा जडान गरिएको टनेलमा केही थप विशेषता रहेको गोदारले बताए। उनले भने “महानगर र गण्डकी अस्पतालमा भएको भन्दा थप एडभान्स जिप्रकाको टनेलमा राखिएको छ, जिप्रकामा अपाङ्गमैत्री र साउण्ड प्रणालीसहित ट्राफिक बत्ती राखिएको छ ।”

उनले पहिलोपल्ट पाइलट प्रोजेक्टका रुपमा बनाइएको सो प्रविधि सफल भएको र अहिले जताततैबाट माग भएको जिकिर गरे । “माग धेरै आएको छ तर निर्माण सामग्री अभाव छ, यसलाई कमर्सियल रुपमा निर्माण गर्ने कम्पनीलाई हामीले प्राविधिक सहयोग तयार छौँ ।” विद्यालय, डिपार्टमेन्टल स्टोर्स एवम् मानिसको भीडभाड हुने अन्य कार्यालयमा यो प्रविधि निकै उपयोगी हुने उनको भनाइ छ ।

पोखराका महानगरका प्रमुख मानबहादुर जिसीले अहिले प्रविधिको अधिकतम प्रयोग गरेर जोखिम न्यूनीकरण गर्न आवश्यक रछ भन्दै इञ्जिनीयरहरुले प्राविधिक शिक्षालाई व्यावहारिक रुपमा उतार्न सफल भएको बताए।

उनले मानिसको भीड हुने अत्यावश्यक ठाउँमा यस्ता स्वचालित टनेल राख्नुपर्ने जोड दिए । उनले भने “अहिले निकै कठिन अवस्थाबाट हामी गुज्रिरहेका छौं, सबै आआफ्नो ठाउँबाट सहयोग र सहकार्य गरेर अगाडि बढौँ, महानगर सधै यहाँहरुलाई साथ दिन गर्न तयार छ।”

प्रतिक्रिया

सम्बन्धित खवर