पात्लेखेतमा मोटरबाटो निर्माण
आइतबार, बैशाख १४, २०७७ मा प्रकाशित

म्याग्दी, वैशाख १४ : कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि देश लकडाउनमा छ ।

सर्वसाधारण व्यवसाय, अध्ययन, नोकरीलगायतका काम छाडेर घरभित्रै बसेका छन् तर म्याग्दीका एक गाउँका युवाहरु भने कोरोना सङ्क्रमणको सतर्कता अपनाउँदै सुरक्षित तरिकाले विकास निर्माणका काममा जुटेका छन् । यसको उदाहरण हो म्याग्दीको बेनी नगरपालिका–१० स्थित पात्लेखेत गाउँ ।

यहाँका युवाहरूले लकडाउनको समयको सदुपयोग गर्दै सुरक्षित तरिकाले करिब पाँच किलोमिटर मोटरबाटो निर्माण गरेर गाउँलाई विकाससँग जोडेका छन् । बेनी नगरपालिका–१० पात्लेखेत नेपानेका बासिन्दाले आफ्नो गाउँँमा मोटरबाटो निर्माण गरेका हुन् ।

गाउँको पुछारगाउँँमा मोटरबाटो नपुगेपछि थाप्लोमा भारी बोकेर गाउँँमा उत्पादित कृषिजन्य वस्तु बेनीबजारसम्म ल्याउनुपर्ने बाध्यताका बीच उनीहरूले मोटरबाटो निर्माण गरेर उदाहरणीय काम गरेका हुन् । मोटरबाटो निर्माणका लागि बेनी नगरपालिकाको रु चार लाख र पात्लेखेत नेपाने धैरेनी उपभोक्ता समितिको रु एक लाख रकम सङ्कलन गरी निर्माण सम्पन्न गरिएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष समित रोकाले जानकारी दिए ।

अध्यक्ष रोकाका अनुसार प्राकृतिक स्रोतसाधनलाई नष्ट नगरी मोटरबाटो निर्माण गरिएको छ । मोटरबाटो निर्माणपछि पात्लेखेतमा उत्पादन भएका तरकारी, फलफूललगायतका चिजलाई बजारसम्म पुर्‍याउन सहज हुनुका साथै दुःख बिमार पर्दा र अन्य कामका लागि पनि निकै सहज हुने अध्यक्ष रोकाले बताए ।

‘हामीले लकडाउनको समयलाई उपयोग गरी निकै सतर्कताका साथ मोटरबाटो खनेका हौँ’, अध्यक्ष रोकाले भने । स्काभेटरका साथमा दुई साथी हेरालु बसेर बाटो निर्माण गरिएको रोकाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर