एप्पलले भारतमा खोल्यो पहिलो अनलाइन स्टोर
बिहिबार, असोज ०८, २०७७ मा प्रकाशित

काठमाडौं । अमेरिकी कम्पनी एप्पल भारतीय बजारमा प्रवेश गरेको २० वर्ष पुगिसकेको छ । अब बल्ल एप्पलले भारतीय बजारमा आफैंले प्रत्यक्ष रुपमा आफ्ना उत्पादनहरु बेच्ने भएको छ ।

बुधबार एप्पलले भारतमा आफ्नो पहिलो अनलाइन स्टोर खोलेको छ । विश्वको सबैभन्दा ठूलो मध्येको एक अर्थतन्त्र भएको मुलुक भारतमा पहिलो अनलाइन स्टोर खोल्ने कदमलाई एप्पलको भविष्यका लागि निकै महत्वपूर्ण मानिएको छ । हाल अनलाइन स्टोर मात्र सञ्चालन गरेको एप्पलले अर्को वर्ष नै भारतमा भौतिक रुपको एप्पल स्टोर खोल्नेछ ।

वर्षौंयता भारतमा विदेशी बिक्रेता कम्पनीहरुलाई भारतमा आफ्नो शाखा खोल्न एक प्रकारको बन्देज जस्तै थियो । अर्थात् भारतमा आफ्नो पसलको शाखा खोल्नका लागि उनीहरुले आफ्नो उत्पादनको कच्चा पदार्थमध्ये कम्तिमा ३० प्रतिशत भारतीय सामान प्रयोग गर्नु पर्दथ्यो । सोही कारण भारतीय बजारमा आफ्ना उत्पादन बेच्नका लागि एप्पलले डिलरहरुको भर पर्नु परेको थियो ।

तर गत वर्ष भारत सरकारले वैदेशिक लगानी सम्बन्धी नियमलाई केही खुकुलो बनाएसँगै भारतीय बजारमा आफ्नो भौतिक उपस्थिति जनाउन एप्पलले कदम अगाडि बढाएको हो ।

एप्पलले भारतमा सञ्चालन गरेको नयाँ ई–कमर्श प्लाटफर्ममार्फत् प्रयोगकर्ताहरुले अनलाइन मार्फत् नै आफ्ना म्याकहरु कस्टमाइज गर्न सक्नेछन् र विभिन्न ७ वटा भारतीय भाषाहरुमा एप्पलका ग्याजेट चलाउन पाउनेछन् ।

भारतमा दीपावली अगाडिको समय सबैभन्दा धेरै स्मार्टफोन बिक्री हुने समय भएको हुँदा एप्पलले सुरु गरेको अनलाइन स्टोरका कारण यो वर्ष भारतीय बजारमा आइफोन लगायतका एप्पल प्रडक्टको बिक्री उल्लेखनीय रुपमा बढ्ने अपेक्षा गरिएको छ । भारतमा वार्षिक रुपमा बिक्री हुने स्मार्टफोनमध्ये एक तिहाइ यही समयमा बिक्री हुने गर्दछन् । यद्यपि भारतीय स्मार्टफोन बजारमा जम्मा २ प्रतिशत मात्र हिस्सा एप्पलको रहेको छ । एप्पलका महँगा प्रडक्टहरु अधिकांश भारतीय प्रयोगकर्ताहरुको रोजाइमा पर्न सकेका छैनन् ।

जबकी चिनियाँ ब्राण्डका सस्ता स्मार्टफोनहरुले ७२ प्रतिशत भारतीय बजार ओगटेका छन् ।

–सिएनएनबाट

प्रतिक्रिया

सम्बन्धित खवर