माछापालनमा रमाउँदै जनप्रतिनिधि
शनिबार, माघ २५, २०७६ मा प्रकाशित

कञ्चनपुर, माघ २५ : कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ का गोपालसिंह कार्कीले माछापालन व्यवसायबाट वार्षिकरुपमा २० लाख बढी आम्दानी गर्दै आएका छन् । उनले पाँच बिघा १० कट्ठा जग्गामा नौ पोखरी निर्माण गरी माछापालन गर्दै आएका छन् । वडामा भित्र सो व्यवसायबाट सबैभन्दा बढी आम्दानी गर्नेमा उनी पहिलो नम्बरमा हुन् । उनी निर्वाचित वडासदस्य हुन् ।

उनको पोखरीमा रोहु, नैनी, कमन, ग्रास, भ्याकुर, विगेट र पंगासिस जातका माछा पालिएका छन् । वार्षिक एक करोड बढी खर्च हुन्छ उनले भने, ‘तर २० लाख बढी आम्दानी हुँदैन ।’ वार्षिकरुपमा ३०० क्विन्टल बढी माछा पोखरीमा उत्पादन हुने गरेको छ । उत्पादित माछा स्थानीय बजारसँगै डडेल्धुरालगायतका जिल्लामा खपत हुने गरेको छ । व्यावसायिक माछापालनमा तालिम समेत लिनुभएका उनले सातवर्ष अगाडि व्यवसाय शुरुआत गरेका थिए ।

उनको माछा फार्ममा चार कामदारले रोजगारी पाएका छन् । उनले भने, ‘माछापालनलाई व्यावसायिकरुपमा गरिए गतिलो आम्दानी लिन सकिन्छ ।’ उनले नगरपालिकाबाट पोखरी निर्माणका लागि तीन लाख अनुदान रकमसमेत पाएका छन् । उनले माछापालनसँगै कुखुरापालन समेत गर्दै आएका छन् ।

वडाध्यक्ष सुरेन्द्र विष्टले समेत पोखरी निर्माण गरी माछापालनमा संलग्न हुनुभएको छ । पन्ध्र कट्ठा जग्गामा पोखरी निर्माण गरी चार हजार भुरा हालेको उनले जानकारी दिए । गत वर्ष पोखरीबाट दुई क्विण्टल माछा बिक्री भएको थियो उनले भने, ‘यस वर्ष पोखरीमा भुरा बढी छाडिएकाले आम्दानीमा बढोत्तरी हुन्छ ।’

वडालाई माछा पकेट क्षेत्रमा विकास गर्ने कार्य अगाडि बढाइएको छ । अधिकांश किसान व्यावसायिकरुपमा माछापालनमा सम्लग्न रहेका छन् । नगरपालिकाले पोखरी निर्माण गर्ने किसानलाई प्रतिकट्ठा १० हजारका दरले अनुदान दिने व्यवस्था गरेको छ । थोरै मेहनतमा माछापालनबाट गतिलो आम्दानी हुने भएपछि माछापालनमा लागेको स्थानीय किसान देवराज कलौनीले बताए । उनले भने, ‘माछापालनबाट खेतीभन्दा दश गुणा बढी आम्दानी हुँदै आएको छ । खेती गरेर थोरै आम्दानी हुन्थ्यो । ’

माछा उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउन योजनाबद्धरुपमा कार्यक्रम अगाडि सारिएको नगर प्रमुख सुरेन्द्र विष्टले जानकारी दिए । माछाका भुरा, औजार र पोखरी निर्माणलगायतमा अनुदानको व्यवस्था गरेका छौँ उनले भने, ‘किसानलाई माछापालनमा व्यावसायिक बनाउनका लागि तालीम दिई दक्ष बनाउनका लागि वडा र नगरस्तरबाटै कार्यक्रम सञ्चालन गरिएका छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय