धारापानीमा औद्योगिकग्राम स्थापना हुने :  स्थानीयवासी खुशी
आइतबार, माघ २६, २०७६ मा प्रकाशित

डोटी, माघ २६ : जिल्लाको दक्षिणी क्षेत्रको जोरायल गाउँपालिकामा औद्योगिक क्षेत्र बन्ने भएपछि स्थानीयवासी खुशी भएका छन् । मन्त्रिपरिषद् बैठकले डोटीको जोरायल गाउँपालिका२ धारापानी क्षेत्रमा औद्योगिकग्राम स्थापना गर्ने निर्णय गरेपछि यहाँका स्थानीयवासीमा खुशीयाली छाएको हो । जोरायल गाउँपालिका२ धारापानीका तीर्थ भण्डारीले भने, ‘सरकारले हाम्रो गाउँपालिकामा औद्योगिकग्राम खेल्न गरेको निर्णय स्वागतयोग्य छ, हामी खुशी भएका छौँ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभिन्न १० स्थानीय तहलाई औद्योगिकग्राम घोषणा गर्न मन्त्रिपरिषद्मा केही समय पहिले प्रस्ताव पठाएको र सोमबार बसेको बैठकले पाँच स्थानीय तहलाई औद्योगिकग्राम बनाउने निर्णय गरेको थियो । त्यस्तै सरकारले यसै आर्थिक वर्षमा देशका ७० स्थानीय तहमा औद्योगिकग्राम घोषणा गर्ने तयारी गरेको बताइएको छ । यसअघि प्रदेश १ मा एक, प्रदेश नं २ मा तीन, वाग्मती प्रदेशमा पाँच, गण्डकी प्रदेशमा ११, प्रदेश नं ५ मा सात, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा तीन औद्योगिकग्राम घोषणा गरिसकेको छ । सबै स्थानीय तहमा औद्योगिकग्राम बनाउने योजना रहेको बताइएको छ ।

यसअघि सरकारले ३२ स्थानीय तहलाई औद्योगिकग्राम बनाउन घोषणा गरी २९ करोड ४४ लाख हस्तान्तरण गरिसकेको छ । जोरायलमा औद्योगिकग्राम स्थापना गरिए जिल्लाभरिका स्थानीय गाउँमै रोजगारी पाउनुका साथै औद्योगिक क्षेत्रमा जिल्लाले नै फड्को मार्ने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए । उनले भने, ‘औद्योगिक ग्राम खुले जिल्लाको विकासमा ठूलो सहयोग पुग्ने छ, सबैले घरैमा रोजगारी पाउनेछन् ।

फागुन १ गतेबाट प्रादेशिक महोत्सव

पर्यटन वर्ष सन् २०२० लाई सफल पार्न डोटी चेम्बर अफ कमर्सले आउँदो फागुन १ गतेबाट डोटीको दिपायलमा दोस्रो सुदूरपश्चिम प्रादेशिक महोत्सवको आयोजना गर्ने भएको छ । महोत्सवका लागि आवश्यक तयारी भइरहेको आयोजक संस्थाले जनाएको छ । प्रादेशिक महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

जिल्लामा उत्पादन हुने स्थानीय खाद्यवस्तु तथा कला संस्कृतिको संरक्षण तथा पर्यटन वर्ष २०२० लाई सफल पार्नका लागि महोत्सव आयोजना गरिन लागेको आयोजक सस्थाका अध्यक्ष खगेन्द्रबहादुर साउदले जानकारी दिए । उनले भने, ‘पर्यटन वर्ष सफल पार्न तथा कला संस्कृतिको संरक्षणका लागि हामीले महोत्सवको आयोजना गर्दैछौँ, सबैको सहयोग आवश्यक छ ।महोत्सव अवधिभरिमा सेतीनदीमा जलयात्रा, प्यारागलाइडिङको आयोजना गरिने जनाइएको छ । फागुन १० गतेसम्म जारी रहने महोत्सवे दिपायलस्थित दिल्पेश्वर मठमा आयोजना हुने भएको छ ।

हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान जारी

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने अभियान जारी छ । एक लाख ७३ हजार जनसंख्यामध्ये एक लाख ४५ हजारलाई औषधि खुवाउने लक्ष्य राखिएको उपमहानगरपालिकाले जनाएको छ । नगरभित्र ९४ बुथमा ११४ स्वास्थ्यकर्मी र २०१ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएकोस्वास्थ्य शाखा प्रमुख डिल्ली पोखरेलले जानकारी दिए ।

बाँकेमा आगामी फागुन ५ गतेसम्म सो अभियान जारी रहने छ । नगर उपप्रमुख उमा थापामगर नेतृत्वको टोलीले नगरका विभिन्न बुथमा पुगेर अभियानको अनुगमन गर्दै सबैलाई औषधि सेवनका लागि आग्रहसमेत गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा धवलशम्शेर राणा, उपप्रमुख थापामगर, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, वडाध्यक्ष सुनिलसिंह हमाल, बुद्धिसागर सुवेदीलगायतले औषधि सेवन गरेर अभियानको शुभारम्भ गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय