कुखुराजन्य उद्योगमा १८ अर्बको नोक्सानी
बुधबार, माघ २९, २०७६ मा प्रकाशित

चितवन, माघ २९ : नेपालको आत्मनिर्भर कुखुराजन्य उद्योगमा गत एक वर्षमा १८ अर्बभन्दा बढीको नोक्सानी भएको छ । अण्डा, चल्ला र मासुमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेका हुन् । उत्पादन बढी भएपछि किसानले लागत मूल्य नपाएका हुन् ।

नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टीकाराम पोखरेलले कुखुराजन्य उत्पादनमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेको बताए । उनका अनुसार गएको एक वर्षमा ५५ लागत पर्ने चल्ला सरदर प्रतिगोटा २५ मा बिक्री भएको छ । देशभरमा सातामा उत्पादन हुने ३५ लाख ब्रोइलर चल्लाबाट प्रतिगोटा ३० घाटा सहनुपरेको छ । गएको एक वर्षमध्ये छ हप्ता लागत मूल्यमा बिक्री भए पनि बाँकी समय घाटामा बिक्री गर्नुपरेको थियो । यसरी हेर्दा एक वर्षमा चार अर्ब ७२ करोड ५० लाख हाराहारी घाटा कृषकले व्यहोरेको उनले जानकारी दिए ।

यसैगरी सातामा एक लाख ५० हजार बिक्री हुने लेयर्स चल्लाबाट गत एक वर्षमा ३० करोड हाराहारी नोक्सान भएको पोखरेलले जानकारी दिए । यस्तै मासुमा दैनिक नौ लाख ५० हजार किलो बिक्री गर्दा सरदर प्रतिकिलो ३० घाटा व्यहोर्नुपरेको उनको भनाइ छ । यसबाट एक वर्षमा नौ अर्ब ७२ करोड नोक्सान भएको उनले बताए ।

नेपाल अण्डा उत्पादक संघका केन्द्रीय उपाध्यक्ष किरणभुषाल ओली नेपालमा दैनिक ५० लाख अण्डामा प्रतिगोटा तीन हाराहारी नोक्सान भएको बताउँछन् । अण्डाबाट एक वर्षमा तीन अर्ब चार करोड ५० लाख नोक्सान भएको उनले जानकारी दिए । देशभरमा ठूलो संख्यामा कृषक विस्थापित भएको ओलीको भनाइ छ ।

यसरी कुखुराजन्य उत्पादनमा एक वर्षमा १७ अर्ब ७९ करोड हाराहारी नोक्सान भएको देखिन्छ । पोल्ट्री व्यवसायी डा तिलचन्द्र भट्टराई नोक्सान धान्न नसकेर ३० प्रतिशत व्यवसायी विस्थापित भएको बताउँछन् । अन्यले बैंकको ऋण सार्ने वा सोही बैंकमा ऋण थपेर टिकेको उनको भनाइ छ । उनले भने, ‘सबै धरापमा छन् ।बर्डफ्लु आउँदासमेत तीनचार महिना नोक्सान व्यहोरे पनि गएको एक वर्ष व्यवसाय पूरै नोक्सानमा गएको उनको भनाइ छ ।

उत्पादित कुखुराजन्य पदार्थको एकातर्फ मूल्य नहुने अर्काेतर्फ दानाको कच्चा पदार्थको मूल्य बढ्दा थप समस्या उत्पन्न भएको उनको भनाइ छ । एक वर्षअघि प्रतिकिलो २९ को मकै अहिले ३८ पुगेको छ भने ५६ को भटमास ७२ सम्म पुगेको डा भट्टराई बताउँछन् ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका डा भट्टराई ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा ५५, लेयर्स चल्लाको प्रतिगोटा ९०, अण्डा प्रतिगोटाको १० र मासु प्रतिकिलो ३३० पर्ने बताउँछन् । अहिले बजारमा दानाको मूल्य ५३ देखि ६४ सम्म पर्ने गर्दछ ।

नेपाल ह्याचरी उद्योग संघका अध्यक्षसमेत रहेका टीकाराम पोखरेल नेपालमा ३०८ ह्याचरी, एक हजारभन्दा बढी ठूला फार्म र ब्रोइलर कुखुरा पाल्ने साना फार्म १० हजारभन्दा बढी रहेको बताउँछन् । यस क्षेत्रमा एक खर्ब १५ अर्ब लगानी भएको उनको भनाइ छ । यसमध्ये आधाभन्दा बढी बैंकिङ लगानी रहेको छ ।

लगातारको मूल्य गिरावटपछि पछिल्लो समय लागत मूल्य धान्ने गरी व्यवसायीले मूल्य तोकेर बिक्री वितरण शुरु गरेका छन् । हाल अण्डाको फार्म मूल्य प्रतिक्रेट (३० वटाको) ३०५, मासु प्रतिकिलो ३८० र ब्रोइलर चल्ला ६५ एवं लेयर्स चल्ला ६० देखि ७० सम्म बिक्री गर्न शुरु गरिएको छ । यद्यपि ब्रोइलर पालक किसानले जिउँदो कुखुराको मूल्य २०० देखि २२० सम्म मात्रै पाउँदै आएका छन् । मासुको मूल्य उच्च भएपछि किसानले जिउँदो कुखुराको उचित मूल्य पाउन सकेका छैनन् । बजारमा अन्य मासुको मूल्य उच्च भए पनि अण्डा र कुखुराको मासुको मूल्य कम भएको व्यवसायीको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय