रत्नेचौरमा एक करोड लगानीमा पशुपालन फार्म सञ्चालन
बुधबार, माघ २९, २०७६ मा प्रकाशित

बेनी, माघ २९ : म्याग्दीको बेनी नगरपालिका१ रत्नेचौरमा एक युवाले एक करोड बढी लगानीमा पशुपालन शुरु गरेका  छ । छिमेकी जिल्ला बागलुङका सुनिल श्रेष्ठले वैदेशिक रोजगारीलाई बिट मार्दै रत्नेचौरमा जग्गा भाडामा लिएर पशुपालन फार्म सञ्चालनमा ल्याएका हुन् ।

व्यवस्थितरूपमा निर्माण गरिएको गोठमा मुर्राजातका १६ दुहुना भैँसी र जर्सी जातका सात गाई रहेका छन् । रोजगारीको सिलसिलामा दुई वर्ष जापानमा बिताउनुभएका श्रेष्ठले भिसाको म्याद छँदै स्वदेश फर्किएर पशुपालनमा लागेको बताए । धवलागिरि पशु तथा कृषि फार्म दर्ता गरेर पशुपालन शुरु गर्नुभएका उनले अहिले एक करोड २५ लाख लगानी गरेर भौतिक पूर्वाधार निर्माण गर्नुभएको छ । आगामी दिनमा लगानी बढाएर चार करोडसम्म पु¥याउने र धवलागिरिमै नमूना कृषि फार्म बनाएर देखाउने उनले योजना सुनाए ।

विदेशमा गर्ने श्रम र दुःख स्वदेशमै गर्नसके राम्रो आम्दानी गर्न सकिन्छ भन्ने अठोट बोकेर फर्किएको थिएँ, कृषिमा राम्रो सम्भावना मैले जापान पुगेर देखेँ, गाईफार्ममा काम गरेर धेरै सीप र अनुभव सिकेर स्वदेश फर्किएको हुँ’, उनले भने ।

कृषिमा लगानी गर्न सकेमा राम्रो पैसा कमाउन सकिन्छ भन्ने सोचले पशुपालन शुरु गरेको उनले बताए । जापानमा गाईफार्ममा काम गरेको अनुभव संगाल्नुभएका श्रेष्ठले त्यहाँ सिकेको सीप र अनुभवलाई नेपालमै उपयोग गर्ने बाटोमा अघि बढेको जानकारी दिए । वार्षिक तीन लाख बुझाउने गरी १२ वर्षका लागि ३५ रोपनी जग्गा भाडामा लिएर फार्मको संरचना निर्माण गर्दै गरेको उनको भनाइ छ । गत पुस १७ गतेबाट फार्म सञ्चालनमा ल्याउनुभएका श्रेष्ठले यहाँ चार करोडसम्म लगानी गर्ने योजना बनाएको जानकारी दिए ।

दुई सय उन्नतजातका भैँसी पाल्ने र धवलागिरिका तीन जिल्लाका सदरमुकामसम्म दूध पु¥याउने उनको योजना छ । भैँसी एक लाख ३० हजार र गाई ७० हजारका दरले खरीद गरेको उनले बताए । फार्ममा अहिले दैनिक ११० लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूध बागलुङबजारमा खपत हुने गरेको उनले बताए ।

भैँसी र गाईको हेरचाह र दानापानी खुवाउन तीन जना कामदार राख्नुभएको छ । फार्मको क्षमतावृद्धिसँगै कामदार थप्दै जाने उनको योजना छ । बृहत् खालको कृषि फार्म सञ्चालन गर्ने र युवालाई कृषि पेशाप्रति आकर्षण बढाउने मेरो चाहना छ’, उनले भने ।

स्थानीयवासीको पनि साथ र सहयोग मिलेकाले आफूलाई उत्साह मिलेको उनको भनाइ छ । खाली रहेको जग्गालाई उपलब्ध गराउन वडा कार्यालयलगायत स्थानीयवासीको सहयोग मिलेको उनले बताए । बागलुङबजारमा व्यापार÷व्यवसाय गरेका एक युवा रत्नेचौरमा आएर नमूना कृषिफार्म सञ्चालन गर्नु उदाहरणीय कार्य भएको वडाध्यक्ष टेकबहादुर रावलले बताए । वडाकै सहजीकरणमा खाली रहेको जग्गालाई भाडामा उपलब्ध गराउने काम गरेको उनले बताए । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर वडा कार्यालयले कार्यक्रम बनाएको उनको भनाइ छ । रत्नेचौरमा कृषिको राम्रो सम्भावना रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय