अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला सोमबारदेखि
बुधबार, माघ २९, २०७६ मा प्रकाशित

बागलुङ, माघ २९ : गलकोट नगरपालिका५ टेउवामा आउँदो सोमबारदेखि अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला शुरु हुँदैछ । कार्यशालाको तयारी अन्तिम चरणमा पुगेको आयोजक गलकोट कला प्रतिष्ठानले जनाएको छ ।

कार्यशालास्थलमा आवश्यक पूर्वाधार तयार गरी व्यवस्थापकीय काममा लागिएको प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताए । कार्यशालाका लागि विदेशी कलाकार नेपाल आउने क्रम शुरु भएको र जापानका मूर्तिकार जुन इचिरो सुगिमोतो काठमाडौँ आइसकेको उनको भनाइ छ । कार्यशालामा १० विदेशीसहित १५ मूर्तिकारले भाग लिँदैछन् । कार्यशालास्थलमा ११ देशका झण्डा फहराइएको छ, मूर्ति कुँद्ने ढुंगा तयारी अवस्थामा छन्’, अध्यक्ष रानाले भने, ‘कलाकारको आवासका लागि अस्थायी टेन्टको व्यवस्था गरिएको छ ।

कलाकारको भोजनका लागि पोखरादेखि दुई तालीमप्राप्त कुकबोलाइएको प्रतिष्ठानले जनाएको छ । सडक, भवन, शौचालय खानेपानी, बिजुली, सवारी राख्ने ठाउँलगायतका संरचना यसअघि नै बनिसकेका छन् । पाँच नेपाली र १० विदेशी गरी १५ कलाकारले १५ दिनसम्म टेउवामा बसेर मूर्ति कुँद्नेछन् ।

मूर्तिकारलाई सघाउन नेपालका पाँच र भारतका पाँच गरी १० सहयोगी मूर्तिकार पनि कार्यशालामा आउँदैछन् । अन्तर्राष्ट्रियस्तरको खुला मूर्तिकला संग्रहालय तथा अनुसन्धान केन्द्र बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ एवं कार्यशाला मूल समारोह समितिका संयोजक मूर्तिकार ओम खत्रीले बताए ।

अन्तर्राष्ट्रियस्तरमा ख्याति आर्जन गरेका मूर्तिकारहरूले सिर्जना गरेका मूर्तिकलाका कृतिहरू संग्रहालय बनाएर राख्ने प्रतिष्ठानको योजना छ । कलाप्रेमीसहित सर्वसाधारणले पनि कार्यशालाको प्रत्यक्ष अवलोकन गर्न पाउने व्यवस्था मिलाइएको छ । कार्यशालामा नेपालबाट मूर्तिकार प्रवीणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिथाकोटेले भाग लिनुहुनेछ । यस्तै जुन इचिरो सुगिमोतो (जापान), लिउ यांग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर्स गोँजालेज (फ्रान्स), लिनलि जेन (ताइवान), जुली ग्ल्यास्पी (क्यानाडा), टुटु पटनायक (भारत), तान्या प्रिमिंगर (इजरायल), जर्ज लुइज (ब्राजिल) र युक्रेनका मूर्तिकार ल्युड्मेलले कार्यशालामा भाग लिने जनाइएको छ ।

कार्यशालामा सहभागिताका लागि अन्तर्राष्ट्रियस्तरमा आवेदन माग गरिएको थियो । प्रतिष्ठानका अनुसार कार्यशालामा भाग लिन देश विदेशका गरी २०५ मूर्तिकारले आवेदन दिएका थिए । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय ललितकला विभागका सहप्राध्यापक हृदयबल्लभ पाण्डेसहितको विज्ञ समूहले मूर्तिकारको छनोट गरेको हो ।

कलाकारले कार्यशालामा बसेर राजनीतिक दलका नेता, धार्मिक गुरु, देवीदेउता र आफ्नो देशको संस्कृति झल्कने मूर्ति कँद्न पाउने छैनन् । मानव सभ्यता, वेषभूषा, प्रकृति आदि विषयमा प्रतिकात्मक मूर्ति बनाउनेछन् । आर्थिक वर्ष २०७३÷७४ देखि कार्यशालाका लागि तयारी अगाडि बढेको थियो । हालसम्म पूर्वाधार निर्माणमा ८६ लाख ९३ हजार खर्च भइसकेको छ । कार्यशाला सम्पन्न गर्दासम्म थप एक करोड ४१ लाख ७८ हजार खर्च हुने प्रतिष्ठानले जनाएको छ । कार्यशालाको खर्च झण्डै दुई करोड ३० लाख नाघ्ने देखिएको छ ।

कार्यशालाका लागि गत आवमा संघीय सरकारबाट ५० लाख र गण्डकी प्रदेश सरकारबाट ४० लाख बजेट छुट्टिएको थियो । गलकोट नगरपालिकाले पनि तीन लाख बजेट विनियोजन गरेको थियो । नगरको बजेटबाट कार्यशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । चालू आवमा गण्डकी प्रदेश सरकारले ३० लाख, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलको निर्वाचन क्षेत्रको बजेटबाट १० लाख र प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा सागरबाट पाँच लाख सहयोग प्राप्त भएको छ ।

यस्तै व्यक्तिगततर्फ स्थानीय भीमकुमारी काउचाबाट पाँच लाख, पूर्णबहादुर रानाबाट तीन लाख, तिलबहादुर खत्रीबाट तीन लाख, शान्ति श्रीषबाट तीन लाख, दलबहादुर पुनबाट एक लाख १० हजार, यमबहादुर श्रीषबाट एक लाख र फमलाल न्यूरेबाट एक लाख प्राप्त भएको जनाइएको छ ।

स्वतःस्र्फूतरूपमा सहयोग जुट्ने क्रम जारी छ । कार्यशालाका लागि स्थानीय कुलबहादुर बस्नेत, झंकबहादुर बस्नेत, मानबहादुर खत्री र टीकाकुमारी खत्रीले करीब ३० लाख मूल्य बराबरको २३ रोपनी जग्गा निःशुल्क दिनुभएको थियो । फागुन २१ गतेसम्म सञ्चालन हुने मूर्तिकला कार्यशालाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नुहुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय