होटल तथा रेष्टुराँको स्तरीकरण
शनिबार, फागुन ०३, २०७६ मा प्रकाशित

दमौली, फागुन ३ : खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले जिल्लाका २४ होटल तथा रेष्टुराँको वर्गीकरण गरेको छ । होटल रेष्टुराँ स्तरीकरण निर्देशिका २०७४ बमोजिम कार्यालयले बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा सञ्चालित २४ होटल तथा रेष्टुराँको स्तरीकरण गरेको हो ।

दुई हप्ताको अवधिमा ६० होटल तथा रेष्टुराँको अनुगमनपश्चात् पहिलो चरणमा २४ होटलको स्तरीकरण गरिएको डिभिजन कार्यालयका प्रमुख शिवजी बरालले जानकारी दिए । प्रमुख बरालका अनुुसार तीनवटा तारासहित अति उत्तम (क) स्टीकर पाउने एउटा, दुई वटा तारासहित उत्तम (ख) स्टीकर पाउने चार वटा, एउटा तारासहित सन्तोषजनक (ग) स्टीकर पाउने १३ वटा र सामान्य (घ) स्टीकर पाउने छ वटा होटल तथा रेष्टुराँ छन् ।

बन्दीपुर गाउँपालिका–५ स्थित मस्र्याङ्दी रिभरभ्यु रिसोर्टले मात्र तीनवटा तारासहित अतिउत्तम लेखिएको हरियो स्टीकर प्राप्त गरेको छ । दुई वटा तारासहित उत्तम स्टीकर पाउने होटलमा मुस्ताङ प्लाजा, झिङ्गु होटल, थकाली भान्सा घर र पुरानो मस्र्याङ्दी फिस रेष्टुराँ रहेका छन् । पहाडकी रानी नामले परिचित पर्यटकीय गन्तव्य बन्दीपुरमा सञ्चालित होटलले पनि एउटा तारासहितको हरियो स्टीकर पाएको डिभिजन प्रमुख बरालले जानकारी दिए ।

कार्यालयले गत आर्थिक वर्षमा दमौलीका १६ होटल तथा रेष्टुराँको स्तरीकरण गरेको थियो । गत वर्ष दमौलीस्थित विकास चिया पसल, सन्तोष होटल, सुरेश मिष्ठान्न भण्डार, सुनगाभा होटल, होटल पञ्चम र सासा इनमा उत्तम, टिका तास घर, मुन लाइट रेष्टुराँ एण्ड विन्स क्याफे, हरि मिष्ठान्न भण्डार, प्रेरणा नेवा खाजा घर, लाङ्घाली होटल, ट्रान्जिट रेष्टुरेण्ट, मटन तास घर, हाइफाइभ रेष्टुराँ र श्रेष्ठ खाजा घरको स्तरीकरण गरिएको थियो ।

                डिभिजन प्रमुख बरालका अनुसार होटल तथा रेष्टुराँको बाहिरी परिधिको सरसफाइको अवस्था, भुइँ, भित्ता र सिलिङको स्थिति, खाद्यवस्तुको सम्पर्कमा आउने स्थलको अवस्था, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादी प्रयोग र भण्डारण तथा ढल निकासको व्यवस्थित प्रणालीलाई मूल्याङ्कनको आधार बनाइएको छ ।

                वर्गीकरणका लागि निर्देशिकामा उल्लेख गरिएका ५० वटा प्रश्नको उत्तर दिने क्रममा सबैभन्दा बढी अङ्क ल्याउने व्यवसायले अति उत्तम, त्यसपछि उत्तम, मध्यम (सन्तोषजनक) र सामान्य श्रेणीको प्रमाणपत्रको लोगो पाउने छन् । अतिउत्तम श्रेणीको होटल रेष्टुराँले तीनवटा तारा र (क) सहित अतिउत्तम लेखिएको हरियो स्टिकर पाउनेछ । यो लोगो पाउन होटल रेष्टुराँले तोकिएको मापदण्डबमोजिम ९० भन्दा बढी अङ्क प्राप्त गर्नुपर्छ ।

                त्यस्तै उत्तम श्रेणीको खाद्य व्यवसायले दुईवटा तारा र (ख) सहित उत्तम लेखिएको हरियो स्टिकर पाउने छन् । यस्तो लोगो पाउन ८० भन्दामाथि ८९ सम्मको अङ्क प्राप्त गर्नुपर्ने हुन्छ । यसैगरी मध्यम श्रेणी (सन्तोषजनक)को लोगो पाउन ६५ देखि ७९ बीचको अङ्क प्राप्त गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । यस्तो लोगो पाउने होटल रेष्टुराँले एउटा तारा र (ग) सहित सन्तोषजनक लेखिएको हरियो स्टिकर पाउनेछन् । सामान्य श्रेणीको लोगोमा (घ) सहित सामान्य लेखेको स्टिकर उल्लेख हुनेछ । यो श्रेणीको लोगो पाउन ५० देखि ६० बीचको अङ्क प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

                त्यस्तै पानी आपूर्तिका पाइप तथा अन्य प्रयोगका पाइपको अवस्था, खाना बनाउने, खाना खुवाउने तथा भण्डारण कोठामा प्राकृतिक वा कृत्रिम प्रकाशको स्थिति, प्राकृतिक र यान्त्रिक भेन्टिलेसन, भाँडाकुँडाको व्यवस्थापन, सरसफाइ प्रयोजनका लागि पर्याप्त पानीको आपूर्ति, पिउने प्रयोजनका लागि प्रशोधित तथा पिउनयोग्य पानीको व्यवस्थालगायत पनि मूल्याङ्कन मापदण्डमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय