अब्दुल्लाद्वारा राष्ट्रपतिको चुनावी नतिजा अस्वीकार
बुधबार, फागुन ०७, २०७६ मा प्रकाशित

काबुल, फागुन ७ : अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोग (आईईसी) ले राष्ट्रपति पदको अन्तिम नतिजा घोषणा गरेको केही घण्टापछि देशका मुख्य कार्यकारी अधिकारी (सीईओ) अब्दुल्ला अब्दुल्लाले उक्त चुनावी नतिजा अस्वीकार गरेको घोषणा गर्नु भएको छ ।

उहाँले आफूले जित हासिल गरेको दाबी गर्दै सबै पक्षको सहभागितामा “समावेशी सरकार” गठन गर्ने बताउनुभएको छ । आइईसीले घोषणा गरेको अन्तिम नतिजामा वर्तमान राष्ट्रपति अशरफ घानीले सबैभन्दा बढी मत प्राप्त गर्नुभएको उल्लेख छ । कूल खसेको मतको ५०.६ प्रतिशत मत घानीले प्राप्त गर्नुभएको टोलो समाचार समितिले जनाएको छ ।

अब्दुल्ला अब्दुल्लाले भने ३९.५२ प्रतिशत मत प्राप्त गर्नु भएको छ । निर्वाचन आयोगले चुनावी नतिजा सार्वजनिक गरेलगत्तै अब्दुल्लाले विज्ञप्ति जारी गरी विवादित मतसम्बन्धी आयोगको निर्णय “अवैधानिक” रहेको र त्यो स्वीकार्य नरहेको बताए । उहाँले चुनावी नतीजा प्रजातन्त्रको बिरूद्धको कदम हो र आफूले त्यसलाई स्वीकार्न नसक्ने बताउनुभयो ।

‘यो राष्ट्रद्रोह हो, अब्दुल्लाहले भन्नुभयो । उहाँले स्वतन्त्र र स्वच्छ मतदानमा आफूहरु विजयी रहेको दाबी गर्दै भन्नुभयो, हामी हाम्रो “जीत” घोषणा गर्छौं । उहाँले आफूहरुले समावेशी सरकार गठनको घोषणा गर्ने बताउनुभयो । गत वर्ष सेप्टेम्बरको चुनावमा तालिबानले यस प्रक्रियालाई अवरुद्ध पार्ने धम्कीका बीचमा सम्पन्न भएको थियो । तालिबान समूहले राष्ट्रपतिको चुनावलाई बहिस्कार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय