धर्म संस्कृतिको संरक्षण गरिनुपर्छ : मुख्यमन्त्री पौडेल
शुक्रबार, फागुन ०९, २०७६ मा प्रकाशित

हेटौँडा, फागुन ९ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समाजलाई एकताको सूत्रमा बाँध्ने धर्म संस्कृतिहरुको संरक्षण गरिनुपर्ने बताएका छन्  ।

महाशिवरात्रिको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले महाशिवरात्रि पर्व जातिगत, भौगोलिक तथा सामुदायिक समायोजनको गतिलो उदाहण भएको बताए । ‘देवादिदेव महादेवसमेत भनिने हिन्दूहरुका आराध्यदेव शिवको उत्पत्ति भएको दिनको रूपमा मनाइने महाशिवरात्रि पर्वका अवसरमा वाग्मती प्रदेशवासी तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु’, पौडेलद्वारा प्रकाशित सन्देशमा उल्लेख छ ।

‘विज्ञानका हिसाबले हाम्रा धर्म, संस्कृति र परम्पराहरुको अत्यन्तै महत्व रहेको कुरामा दुईमत छैन । भगवान् शिवलाई सदियौँदेखिको यहाँको धार्मिक, जातिगत तथा भौगोलिक विविधताबीच रहिआएको एकता, सामाजिक सद्भाव तथा सर्वधर्म समभावको बलियो आधारको रुपमा हामी लिन सक्छौँ । भौगोलिक हिसाबले हिमालमा जन्मेका शिवलाई मैदानी क्षेत्रका बासिन्दाहरुले अधिक मान्नु र तराईमा जन्मेका भगवान् वुद्धलाई हिमाली क्षेत्रका  बासिन्दाले बढी मान्नु आफैँमा  जातिगत, भौगोलिक तथा सामुदायिक समायोजनको गतिलो उदाहण हो भन्ने बुझ्न जरुरी छ’, सन्देशमा भनिएको छ ।

पौडेलले सन्देशमार्फत समाजलाई सबै दृष्टिकोणबाट एकताको सूत्रमा बाँध्ने हाम्रा धर्म, संस्कृति, रितीरिवाजहरुको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको दायित्व बन्न पुगेको बताएका छन्  । यद्यपि चाडबाड मान्ने नाममा हुने विकृति र विसङ्गतिहरुलाई भने हामीले अन्त्य गर्नु जरुरी रहेको सन्देशमा उल्लेख छ ।

‘गाँजा, भाङ, धतुरो, मदिरा तथा सुर्ती सेवन आफैँमा स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा प्रमाणित भइसकेको छ । यस्ता कुराहरुले स्वास्थ्यसँगै, अर्थ तथा सामाजिक प्रतिष्ठा पनि ध्वस्त बनाउँछ । त्यसैले आजको यो पवित्र दिनमा त्यस्ता स्वस्थ समाज प्रतिकूल हुने कुराहरुको सेवन नगर्ने सङ्कल्प पनि गरौँ’, मुख्यमन्त्रीको सन्देशमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय