ठाकुरद्वारा यात्राः भावनात्मक सम्बन्धको निरन्तरता
बुधबार, असार २३, २०७८ मा प्रकाशित

रमेश थापा 

मलाई बर्दियाको मायाले तानिरहन्छ तर कोरोना माहामारीका कारण हिंडडुल असहज भएका कारण यस पटक लामो समय घरमै कुँजिएर बस्नु पर्यो । करीब ढाइ महिना पछि फेरि बर्दियाको माटो स्पर्श गर्ने सौभाग्य जुर्यो । अर्गानिक कपास खेती प्रबर्द्धनको सिलसिलामा डा.नरेन्द्र प्रधान र कृष्ण हेङ्गजुको साथमा बर्दिया पुग्ने अवसर प्राप्त भएको हो । जहाजबाट उत्रिएपछि नेपालगञ्जबाट सररर पिच सडकमा गुडेर खजुरा, मैनापोखर, गुलरीया ,खैरापुर, सानोश्री, बेलवा चोक, ओराली बजार अनि ग्राभेल सडकको यात्रा डल्ला पत्थरबोझी घुमेर ठाकुरद्वारा पुगियो । गाडीमा गुडिरहँदा म पहिलो पटक नेपालगञ्जबाट रुपैडिहा, नानपारा, बिछिया हुँदै कोठियाघाट भएर ठाकुरद्वारा पुगेको अनि ठाकुरद्वाराबाट साइकीलमा गुलरीया, नेपालगञ्ज र बेतहानी पोष्ट ओहोर दोहोर गर्दाका कठिन दिनहरु मानसपटलमा खेलिरहे । ओ हो ! कति कष्टकर थिए ति दिनहरु ।

आफ्नै गतिमा दौडिरहेको गाडी खुसालपटुवा बाट माथि लागेपछि टाढैबाट देखिने ठाकुरद्वारा बजारका अग्ला घरहरुको सानो सहरको दृश्य निकै सुन्दर देखिन्थ्यो । जतिबेला म पहिलो पटक यो ठाउँमा पुगेको थिएँ, त्यतिबेलाको ठाकुरद्वारामा ऐले यस्तो बजारको बिकास होला भन्ने मैले कल्पना पनि सोचेको थिएन । किनकि निकुञ्ज (त्यतिबेलाको शाही कर्णाली वन्यजन्तु आरक्ष) को मुख्यालयबाट मन्दिर (त्यतिबेला कुटी भनिन्थ्यो) सम्म पुग्न ६ वटा कुला र ३-४ वटा खोल्सा पार गरेर करीब एक घण्टा समय खर्चेर जानु पर्दथ्यो । तर ऐले परिस्थिति बदलिएको छ । चौडा पक्की सडकको दायाँबायाँ ठूला ठूला भवन र झिलिमिली बजार बनेको छ ।

पहिलाका पुराना कतिपय खोल्सा मेटिइसकेका छन र ठूला कुलाहरुमा पक्की पुल निर्माण भएका छन । तेतिबेला बजार भने पनि पसल भनेपनि ठाकुरद्वारा गाउँमा पुनाराम चौधरी (बडघर) को मात्र थियो । जहाँ चिया बिस्कुट, चुरोट, बिंडी जस्ता खुद्रा सामान पनि किन्न पाइन्थ्यो । बिहान बेलुका चिया खान र दिउसो तास खेल्न बडघरको पसलमा भेटघाटको साझा थलो थियो । पुनाराम बडघरजीको पसलमा म पनि कहिलेकाहीं तास खेल्ने गर्दथें ।

म बर्दिया पुगेपछि सधैं मोटी दिदीलाई भेट गर्न जाने गर्दछु । वहाँले मलाई आफ्नै छोरा जस्तो मायालु ब्यवहार गर्नुहुन्छ । हाल मोटी दिदीको घर रहेको ठाउँको ठिक अगाडिपट्टि स्व. राम प्रसाद वाग्ले (मास्टरबा) को घर थियो । ऐले त्यहाँ किङ्ग फिसर होटल बनेको छ । मोटि दिदीलाई भेट्न जाने क्रममा मैले मास्टरबालाई श्रध्दापूर्वक सम्झिन पुगें । वहाँसंग संग तास खेल्नुको अर्कै आनन्द हुन्थ्यो । आँफुसंग पैसा नहुँदा उधारो पनि खेल्न पाइन्थ्यो तर सबैको हिसाब लेखेर राख्नु हुन्थ्यो मास्टरबाले । म २०४५ सालमा बर्दियाबाट रारा राष्ट्रिय निकुञ्ज सरुवा भएर गएँ । करीब ४ बर्ष पछि २०४९ सालमा राराबाट बर्दिया नै सरुवा भएर आएको थिएँ । एकदिन मास्टरबाले मलाई बोलाउन पठाउनु भयो । किन बोलाउनु भयो होला भन्ने उत्सुकताले म तुरुन्तै वहाँलाई भेट गर्न पुगें ।

वहाँले मलाई तास खेल्नका लागि बोलाउनु भएको रहेछ । मैले तास नखेल्ने मनसाय ब्यक्त गरें । त्यसपछि वहाँले आफ्नो बेरुवा बासा खोलेर लामो कागज नियाल्दै, मैले बाबुलाई १२ रुपैया दिन बाँकी देखियो, नगदै दिऊँ त ? भनेर सोध्नु भयो । मैले के को पैसा हो र बुवा भनेर सोधें । वहाँले यि हेर्नुहोस न हिसाब ले त्यहि देखायो भन्दै हाँसेर आफ्नो बहिखाता देखाउनु भयो । त्यो खातामा म लगायत धेरै जनाको नाम थियो । हिसाब मिलान भएकोमा गोलो लगाएको र हिसाब मिलान हुन बाँकीमा लिनु पर्ने दिनुपर्ने खुलाएको बिवरण थियो । मैले पैसा दिनु पर्दैन हिसाब मिलान भयो भनेर गोलो लगाइदिए हुन्छ बुवा भनेर अनुरोध गरें । तर वहाँले कि नगद लिएर कि खेलेरै मात्र हिसाब मिलान हुन्छ, त्यसै कहाँ मिलान हुन्छ बाबु ? भन्नु भयो । केहिबेर वहाँसंग तास खेलमा सहभागि भएर म बिदा भएको थिएँ । आहा ! कति सहृदयि थिए ति सम्बन्धहरु ।

ति पुराना दिनहरु सम्झिंदा मलाई आज सपना जस्तो लाग्ने गर्दछ । म पहिलो पटक बर्दिया आइसकेपछि पूर्व पश्चिम राजमार्ग बन्न थालेको हो । अम्रेनी देखि कर्णाली चिसापानी सम्म रुख छपान गर्ने काममा मलाई खटाइएको थियो । म संग गेमस्कउट टीकाराम चौधरी (पछि खरीदार) र गेमस्काउट खुसीराम चौधरी (बाँके चिसापानी) लाई पनि खटाइएको थियो । भुरीगाउँमा भरखर एक दुइवटा कच्ची घर बनेका थिए । हामीले भुरीगाउँको लुम्बिनी होटलमा बसेर कर्णाली सम्मको रुख छपान सम्बन्धी काम सम्पन्न गरेका थियौं । भुरीगाउँमा बजार बसाल्ने ब्यक्ति स्व. देबीराम पाध्याय (जसलाई देबीराम प्रधान भनेर चिनिन्थ्यो) ले हामीलाई बस्ने, खाने लगायत धेरै सहयोग गर्नु भएको थियो । वहाँले हामीलाई पनि भुरीगाउँमा घडेरी किन्नका लागि निकै कर गर्नु भएको थियो । त्यतिबेला भुरीगाऊँको एक कट्ठा घडेरीको मुल्य एक हजार थियो । यतिसम्म कि घडेरी पास गरेर दिन्छु पैसा महिनाको एकसयका दरले पछिसम्म दिंदै गरे हुन्छ भन्दा पनि हामीले त्यहाँ घडेरी किन्न सकेनौं ।

 

 

 सडक संजालमा ठाकुरद्वारा

पूर्व पश्चिम राजमार्ग आरक्ष भित्रबाट जाने भएपछि आरक्षको मुख्यालयलाई राजमार्गसंग जोड्नुपर्ने भन्ने सर्त रहेको थियो । सोही सर्त अनुसार सडक बिभागले आरक्षबाट तोकिएको ठाउँमा ६० कि.मि. सडक बनाईदिनु पर्ने सम्झौता भएको थियो । शाही शिकार सुरक्षित वन स्थापनाकालागि २०२६ सालमा हाकिमको जिम्मेवारी पाएका कृष्णमान श्रेष्ठ २०३८-३९ सालसम्म पनि निरन्तर आरक्षको हाकिम हुनुहुन्थ्यो । तर २०३९ सालतिर सरकारले कृष्णमान श्रेष्टलाई सहायकमा रहने गरी रबी बहादुर बिष्टलाई आरक्षको हाकिम बनाएर पठायो । त्यसपछि नया र पुराना हाकिम बीच आन्तरीक मतभेद शुरु भएको थियो । आरक्ष मुख्यालयलाई राजमार्गसंग जोड्ने सडक निर्माण गर्ने बिषयमा पनि वहाँहरु बीच मतभेद रह्यो । कृष्णमान श्रेष्ठ लालमाटीबाट ठाकुरद्वारा जोड्ने गरी जंगलै जंगल सडक निर्माण गर्ने सोचमा हुनुहुन्थ्यो भने रबी बहादुर बिष्टको चाहिं जनताले पनि प्रयोग गर्न पाउने गरी निर्माण गर्न पाए हुन्थ्यो भन्ने बिचार रहेको थियो ।

बि.सं. २०३९ सालमा सम्पन्न निर्वाचनमा ठाकुरद्वारा गाऊँपञ्चायतको प्रधानपञ्चमा सन्तराम थारु र उपप्रधानपञ्चमा काशीराम पोखरेल निर्वाचित हुनुभएको थियो । तत्कालीन राजा श्री ५ बीरेन्द्रको २०४० सालमा बघौराफाँटामा भएको सवारी भ्रमणका अवसरमा हाल बर्दिया हात्तीसार रहेको वन क्षेत्रमा जनतालाई गाईबस्तु चरिचरनमा रोकलगाईएको र यसबाट जनतालाई मर्का परेको भनी काशीराम पोखरेल सहितका ब्यक्तिहरुले बिन्तीपत्र चढाउनु भएको रहेछन । यसै बिषयमा छलफलका लागि वार्डेन रबी बहादुर बिष्टले केहि जनप्रतिनिधिहरुलाई बोलाएनु भएको थियो । त्यसै क्रममा ठाकुरद्वारालाई राजमार्गसंजग जोड्ने सडक निर्माण गर्ने बिषय पनि उठ्यो ।

कृष्णमान श्रेष्ठर प्रधानपञ्च सन्तराम थारुले जनताको जग्गा मासेर बाटो बनाउँदा जनतालाई मर्का पर्ने भएकोले जंगलै जंगल सडक बनाउनुपर्ने राय राख्नु भयो भने रबी बहादुर बिष्ट र उपप्रधानपञ्च काशीराम पोखरेलले जनतासंग समन्वय गरेर गाउँ गाउँबाट सडक बनाउनु पर्ने राय राख्नु भयो । त्यहाँ सहमति हुन नसकेपछि स्थानीय जनप्रतिनिधि र बडघरको भेला राखि राय बुझ्ने सहमति भयो । तर भेला राख्नका लागि ठाकुरद्वारा गाऊछपञ्चायतका प्रधानपञ्चले वास्तै नगरेपछि केहि समय  अन्यौलको स्थिति बन्न गयो ।

रबी बहादुर बिष्टले सडकका बिषयमा अग्रसारता लिन काशीराम पोखरेललाई पुनः अनुरोध गरेपछि काशीराम पोखरेल झन उत्साहित हुदै पत्र लेख्न प्रधानपञ्चलाई दबाब दिन थाल्नु भयो । तर प्रधानपञ्चले वहाँको दबाबलाई वास्तै गर्नु भएन । आफ्नो प्रयास असफल हुने अवस्था देखेपछि एका बिहानै जिब्रो लरबराउँदै, बाङ्गो खुट्टा बनाउँदै गाऊँपञ्चायत कार्यालय पुगेका काशीराम पोखरेलले आफै लेटरप्याड ल्याएर चिठी कोर्न थालेको देखेर तत्कालीन गाऊँपञ्चायतका सचिब बलिराम चौधरीले पत्र तयार गरिदिनुभयो । त्यो पत्र काशीराम पोखरेल आँफैले बाँडेर सबैलाई सूचित गरेपछि बैठक आयोजना भएको थियो ।

ठाकुरद्वारा गाउँपञ्चायतले ठाकुरबाबा मन्दिर परिसरमा सानो बजार संचालन गरी मन्दिरको प्रचार प्रसार समेत गर्ने उद्देश्य राखी २०४० साल पौष २७ गते मन्दिर नजिकै बजार बसालेको थियो । जोरासिंह खड्का, टीकाराम उपाध्याय, राम प्रसाद उपाध्याप, हर्क बहादुर थापा, लाल बहादुर खत्री, दीप बहादुर खड्का, दील बहादुर पाण्डे लगायतका ब्यक्तिहरुले पसल शुरु गरिसकेका थिए । बि.सं. २०४१ साल असौज महिनामा ठाकुरद्वारा, शिवपुर, नेउलापुर र सूर्यपटुवा गाउँपञ्चायतका प्रधान, उपप्रधान, वडाध्यक्ष र बडघरहरुको भेला ठाकुरद्वारा मन्दिर परिसरको चौरमा बसी अम्रेनी देखि मोतिपुर, तुल्सिपुर, बकुवा, मोहनपुर, बठनपुर, मढेला, चिड्कैता हुँदै ठाकुरद्वारासम्म र ठाकुरद्वाराबाट खुसालपटुवा, टँडुवा, डल्ला, पत्थरबोझी हुँदै कोठीयाघाट सम्म सडक निर्माण गर्ने निर्णय गरेर आरक्ष कार्यालयमा बुझायो ।

त्यसको लगत्तै प्रमुख जिल्ला अधिकारी, जिल्ला वन अधिकृत, आरक्षका वार्डेन र गाउँपञ्चायतका पदाधिकारीको बैठक बसी सडक निर्माण गर्दा जग्गा काटिएर मर्का पर्ने थोरै जमिन भएका किसानलाई मर्का नपर्ने गरी सट्टाभर्ना जग्गा उपलब्ध गराएर सडक निर्माण गर्ने निर्णय भयो । सोही निर्णयका आधारमा अम्रेनी देखि ठाकुरद्वारा सम्म गाडी चल्ने कच्ची सडक निर्माण भएको थियो । सोही सडक २०४६-४७ सालमा ग्राभेल तथा स्तरोन्नती भै गाडी चल्न थालेको थियो । आरक्षसंग भएको सम्झौता अनुसार ठाकुरद्वारासम्म सडक निर्माण भएता पनि ठाकुरद्वारा देखि कोठियाघाट सम्म र पूर्व सम्झौता अनुसार बाँकी सडक निर्माण हुन सकेन ।

तत्कालीन राजनीतिक शक्तिका आधारमा बाँकी सडकको बजेट स्थान परिवर्तन गरी टीकापुर-सति-राजापुर, र भुरीगाउँ-बेलवा चोक सडक निर्माण गरिएको थियो । आँफु घुँडासम्मको हिलोमा टेकेर हिंडेको त्यो गोरेटोबाटो ऐले कुनै बिकशित शहरको चिल्लो सडक भन्दा कम छैन अनि पँहेलै धानका बाला झुल्ने ठाकुरद्वाराको खेतमा सजिएको ठाकुरद्वारा बजारमा काठमाण्डौ र नेपालगञ्जमा पाइने सबै सामान उपलब्ध छन । सडक निर्माणसंगै पर्यटकीय गतिबिधि संचालन हुँदा होटल, लजहरु पनि निर्माण भएका छन । यसरी सरसर्ति हेर्दा पछिल्लो चार दशकमा यो क्षेत्रको कायापलट नै भएको मान्नु पर्दछ ।

स्वास्थ्य सेवा र ठाकुरद्वारा

कुरा २०४९-५० सालको हो । त्यतिबेला जनस्वास्थ्य सुबिधाको बर्दिया जिल्लाको ठाकुरद्वारा दुर्गम र बिकट क्षेत्रको रुपमा रहेको थियो । यातायात, बिध्युत र संचारको सुबिधा थिएन । यहाँका मानिसहरु बिरामी भएमा प्राथमिक उपचार पाउन पनि सक्ने अवस्था थिएन । यहि समस्यालाई दृष्टिगत गरी तत्कालीन श्री ५ महेन्द्र प्रकृति संरक्षण कोष, बर्दिया संरक्षण कार्यक्रमका प्रमुख डा. शान्तराज ज्ञवालीको पहलमा नर्वे सरकारको नोराड प्रोजेक्ट अन्तर्गत कोष र बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयबाट २०५० सालमा संयुक्त रुपमा  ठाकुरद्वारामा एउटा स्वास्थ्य केन्द्र स्थापना गरिएको थियो । स्वास्थ्य केन्द्र भवनको डिजाईन बोधराज सुबेदीले गर्नु भएको थियो भने लगत इष्टिमेट मैले तयार गरेको थिएँ । यसलाई निकुञ्ज सामुदायिक स्वास्थ्य केन्द्र (Park Community Health Centre) नामाकरण गरिएको थियो ।

त्यतिबेला स्वास्थ्यकर्मीहरु निकै कम मात्रामा उपलब्ध थिए । कालिकोट जिल्लामा कार्यरत राम कुमार भुसाललाई बोलाएर २०५० साल असौज महिना देखि केन्द्र प्रमुखको जिम्मेवारी दिइएको थियो । वहाँले २०६७ साल सम्म अविछिन्न रुपमा केन्द्र प्रमुखको रुपमा काम गर्नु भयो । वहाँका अतिरिक्त ठाकुरद्वारा निवासी स्व.खुसीराम चौधरी, अम्बिका मल्ल र तेजु थारु, कमल चौधरीम प्रदेशु रौधरी, लौटन थारु र खुसालपटुवा निवासी सरस्वति भट्टराईले पनि अति न्यूनतम पारिश्रमिक लिएर यो स्वास्थ्य केन्द्रमा सेवा प्रदान गर्नु भएको थियो । स्वास्थ्य केन्द्र संचालन र त्यहाँको जनशक्ति बिकासका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्जका नाक, कान, घाँटी बिशेषज्ञ डा. रमेश श्रेष्ठको अतुलनिय योगदान रहेको छ ।

स्वास्थ्य केन्द्र स्थापना काल देखि नै स्वास्थ्य केन्द्र संचालनका लागि आफु स्वयं संलग्न रहेर स्वास्थ्य शिविर संचालन गर्ने, समय समयमा बिशेषज्ञ डक्टरको सेवा उपलब्ध गराउने काममा वहाँले सधैं सहयोग उपलब्ध गराउनु भएको थियो । यातायात र संचारको बिस्तार संगै नेपालगञ्ज र कोहलपुर आवागमनमा सहजता भएपछि स्वास्थ्य सुबिधाका लागि मानिसहरुलाई बिकल्प प्राप्त भयो । राम कुमार भुसालले स्वास्थ्य केन्द्रबाट राजीनामा दिएपछि स्वास्थ्य केन्द्र नियमित संचालनमा पनि केहि समस्या सृजना हुनथाले । डा. रमेश श्रेष्ठकै सहयोगमा २०६९ सालमा यो स्वास्थ्य केन्द्र नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।

तीन तहको सरकार बनिसकेपछि यसलाई ठाकुरबाबा नगरपालिका अन्तर्गत वडा नं.९ को आधारभूत स्वास्थ्य केन्द्रको रुपमा संचालन गरिंदै आएको छ । देशका अरु क्षेत्रमा जस्तै ठाकुरद्वारा क्षेत्रमा पनि कोभीड-१९ को संक्रमण फैलिएर धेरै मानिस संक्रमित हुन पुगे । यहाँका बिरामीहरुलाई स्वास्थ्य परिक्षण र उपचारका लागि नेपालगञ्ज वा कोहलपुर स्थित अस्पताल सम्म पुग्नु पर्ने भयो । तर निषेधाज्ञाका कारण सवारी साधन नपाउदा धेरै मानिस उपचारबाट समेत बञ्चित हुनुपर्ने अवस्था सृजना हुन गयो । धेरै मेहनत गरेर अस्पताल पुर्याएका बिरामी पनि अस्पतालमा बेड र अक्सिजन नपाएर मृत्यु हुने अवस्था आयो । यस क्षेत्रका संक्रमितलाई स्थानीय स्तरमा सेवा प्रदान गर्ने प्रयास स्वरुप ठाकुरबाबा नगरपालिका वडा नं.९ का वडाध्यक्ष राधा चौधरीको प्रयासमा ठाकुरबाबा नगरपालिका बाट यस स्वास्थ्य केन्द्रमा कोभिड आइसोलेसन सेन्टर संचालन गर्ने स्वीकृती प्राप्त भयो । स्वास्थ्य केन्द्रमा नर्स, अनमि लगायतको जुनियर प्राबिधिक जनसक्ति भएता पनि डक्टर नभएका कारण तत्काल सेवा सञ्चालनमा समस्या देखिएको थियो ।

लामो समयदेखि ठाकुरद्वारा क्षेत्रमा संरक्षण गतिबिधिमा संलग्न अष्ट्रेलियन नागरीक Jack Kinross को समन्वयमा अष्ट्रेलियन नागरीक Jacqui Holth र Jenny Chen ले केहि समयको लागि डक्टरका लागि लाग्ने खर्च उपलब्ध गराउने प्रतिबध्दता जाहेर गर्नुभएको थियो । तर खोजेका बखत डक्टर पाउन मुस्किल भयो । धेरै ठाउँमा प्रयास गरियो तर डक्टर पाउन नसकेका कारण हाम्रो अभियान साकार नहुने होकि भन्ने चिन्ता थपियो । मैले ठाकुरद्वारा निवासी पुष्प राज ज्ञवालीज्यू (हाल बत्तीसपुतली, काठमाण्डौ) लाई फोन गरेर हजुरका दुइजना छोरा डक्टर छन । एकजना डक्टरलाई ठाकुरद्वारा पठाईदिनु पर्यो, त्यहाँ मानिसहरु निकै समस्या छन भनेर अनुरोध गरें । वहाँले मैले छोरा पठाएर आफ्नो ठाउँका दाजुभाइ, दिदी बैनीलाई सुबिधा पुग्छ भने अवश्य पठाउँछु तर धेरै लामो समय त भन्न सक्दिन, हाल यो महामारीको प्रकोपमा मद्दत गर्न अवश्य पठाउँछु भन्नु भयो ।

म खुसीले गदगद भएँ । वहाँले जेठो छोरा भरखर रामेछापबाट आएको छ, कान्छो छोरा भरखरै झापा गएको छ तसर्थ कुन छोरा जाने भन्ने बारे हामी सल्लाह गरेर खबर गर्छौं भन्नु भयो । मैले ठाकुरद्वारामा समस्या बिकराल छ, सोच्ने सल्लाह गर्ने समय छैन, कृपया घर आएका छोरालाई तुरुन्त पठाइदिनु पर्यो भनी अनुरोध गरें । वहाँले लौ आज भने आजै भोली भने भोलि नै पठाइदिन्छु भन्नु भयो । मैले ठाकुरद्वारामा निराजन क्षत्रीलाई गाडी पठाउन भनें । भोलिपल्ट बिहानै दिनेश भण्डारी र डेभिड शाही बर्दियाबाट गाडी लिएर काठमाण्डौ आइपुगे । त्यसैदिन हिंडेर डा. बिभावशु ज्ञवाली (पुलपुल) रातारात ठाकुरद्वारा पुग्नुभयो ।

उता ठाकुरद्वारामा वडाध्यक्ष राधा चौधरीले मोहन चौधरी, रुद्र खड्का, निराजन क्षेत्री, हरिश पाण्डे, साबित्रा थापा, रेशम थापा लगायतका समाजसेविहरु रहेको “ठाकुरद्वारा प्राथमिक कोभिड उपचार केन्द्र संचालक समिति” गठन गरी प्रकृया अगाडी बढाइसक्नु भएको थियो । नेपालगञ्जबाट भेरी अस्पताल नेपालगञ्जका कोभिड फोकल पर्सन डा. संकेत रिसाल, डा.रमेश श्रेष्ठ, डा.रुपानन्द अधिकारी, डा. दिनेश चौधरी सहितको टोलीले स्थलगत निरिक्षण गरी सुझाब र निर्देशन प्रदान गरिसकेको थियो । यता हामीले बिभिन्न ब्यक्ति र संघ सस्थाहरुसंग सहयोगका लागि आव्हान गरिरहेका थियौं ।

काठमाण्डौमा डा.शुसीला नेपाली र गौरी मालाकारले पनि सहयोग जुटाउन आफ्नो प्रयास जारी राख्नु भयो । जसको फलस्वरुप उज्यालो नेपाल, हाम्रो मध्यवर्ती राधाकृष्ण सहकारी सस्था, हामी नेपाल, किवानिस नेपाल, होष्टेहैंसे, आइयुसिएन टीम, केयर नेपाल, HAN, लगायतका संघ सस्था र हेमन्त बडुवाल, डा. माधव कार्की, डा. ऋषी शाह, डा.सुरज थापा (नर्वे), बिनय रावल, रामजन चौधरी, हिंगवा थारु, रुपक बडुवाल, न्यू शोभा आयल स्टोर समेतको आर्थीक सहयोगमा स्रोतसाधन जुटाई “ठाकुरद्वारा प्राथमिक कोभिड उपचार केन्द्र” बाट सेवा संचालन भयो । त्यहाँ पुगेर डक्टर, स्वास्थ्यकर्मी र स्वयंसेवकहरुमा देकिएको जुझारु सेवा भावना र स्थानीय वासिन्दामा देखिएको खुसी देख्दा मन हर्षित भयो । यो अभियानमा संलग्न सबैप्रति हृदयदेखि सम्मान ब्यक्त गर्दै मनभरी खुसी बोकेर म त्यहाँबाट बिदा भएँ ।

ठाकुरद्वारा मन्दिर

ठाकुरद्वारा मन्दिरको ऐतिहासिक पुरातात्विक महत्वका बारेमा अध्ययन अनुसन्धान हुन बाँकी नै छ । मन्दिरको भित्री बनौट पुरानै कायम राखेर २०३६ सालमा तत्कालीन नेउलापुर गाउँपञ्चायतका प्रधानपञ्च सन्तराम थारु र गाउँपञ्चायत सचिब बलिराम चौधरीको अगुवाईमा भारतबाट झिकाइएका कालिगढबाट मन्दिरको आकर्षक संरचना निर्माण गरिएको थियो । मन्दिर निर्माण कार्यको रेदेख गर्ने र अहोरात्र खटेर मन्दिर निर्माण सम्पन्न गर्ने कार्यमा तत्कालीन वडा नं. ९ का पञ्च नर बहादुर अधिकारीको महत्वपूर्ण योगदान रहेको थियो । पञ्चायत नीति तथा जाँचबुझ समितिले स्थानीय कर उठाउने जिम्मा गाउँपञ्चायतलाई दिएको थियो ।

नेउलापुर गाउँपञ्चायत ( २०३८ सालमा नेउलापुर, शिवपुर र ठाकुरद्वारा गाउँपञ्चायत कायम) ले आर्थिक बर्ष २०३४-३५ मा उठाएको स्थानीय करको रकमबाट यो मन्दिर निर्माण गरिएको थियो । मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि फुल प्रसाद बिक्री गर्ने र चिया नास्ता सुबिधाका लागि अन्यत्र कुनै बजार र पसल समेत नभएकोले ठाकुरद्वारा मन्दिर परिसरमा पसलको रुपमा फुसका छाप्राहरु ब्यवस्थित गरी मन्दिर क्षेत्रको संरक्षण तथा ब्यवस्थापन गर्ने उद्देश्यले २०५५ सालमा कृष्ण प्रसाद शर्माको पहलमा ठाकुरद्वारा मन्दिर ब्यवस्थापन तथा बिकास समिति नामको गैर सरकारी सस्था जिल्ला प्रशासन कार्यालय बर्दियामा दर्ता भएको थियो ।

सोही सस्थाको बिधान बमोजिम बिभिन्न समिति गठन भै मन्दिरको संरक्षण र बिकासका लागि काम गर्दै आएका छन । भक्तजनका लागि भजनकृतन गर्ने भवन, गौशाला, धुनी घर बिभिन्न संरचनाहरु पनि निर्माण भएका छन । बि.सं.२०६४-६५ मा तत्कालीन अध्यक्ष टंक बहादुर खत्रीका पालामा रोपिएका अशोकका बिरुवाहरु हुर्किएर मन्दिर प्रबेशद्वारको  दृश्य निकै सुन्दर र आकर्षक देखिएको छ ।

मन्दिरको छत पुरानो भएकोले पानी चुहिने समस्या रहेको थियो । रुद्र बहादुर खड्का अध्यक्ष भएका बखत बर्दिया राष्ट्रिय निकुञ्जको सहयोगमा काठमाण्डौबाट मिस्त्री र सामाग्री झिकाई २०६८ सालमा ग्राउटिङ्ग गरेपछि पानी चुहिने समस्या समाधान भएको थियो । निकुञ्जको आर्थीक सहयोगमा मन्दिरमा मार्बल बिछ्याउने काम पनि यसै बर्ष गरिएको थियो । म आँफै कार्यालय प्रमुख भएका बखत बजेट उपलब्ध गराई सम्पन्न भएको काम भएकोले यसप्रति मेरो बढि चासो रहेको हुनसक्दछ ।

त्यसै बर्ष तत्कालीन माओबादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले ठाकुरद्वारा माघी महोत्सवको उद्घाटन गर्नु भएको थियो । सोही महोत्सवबाट प्राप्त रकम, समितिको कोष समेतबाट सोही बर्ष ठाकुरद्वाराधाम प्रबेशद्वार पनि निर्माण भएको थियो । मन्दिरमा उज्यालोका लागि राम प्रसाद सिग्देलले सोलार प्यानल समेत उपलब्ध गराउनु भएको थियो । आर्थिक बर्ष २०७५-७६ मा तत्कालीन अध्यक्ष खड्ग बहादुर खड्का “प्रेमी” का पालामा प्रदेश सरकार र स्थानीय सरकारको सहयोगमा प्रबेशद्वार देखि मन्दिर परिसर सम्म सिमेन्ट ब्लक बिछ्याउने काम सम्पन्न भएको थियो ।

यस पटक म मन्दिरमा पुग्दा मन्दिर संरक्षण, सम्बर्ध्दन तथा बिकास समितिका अध्यक्ष रुद्र बहादुर खड्का मन्दिरको ब्यवस्थापनमा आँफै खटिएर काम गरिरहनु भएको थियो । मन्दिरको ढोकामै रहेका घण्टिहरु ब्यवस्थित गर्ने काम हुँदै थियो । एकपटक वरिपरि आँखा डुलाएर हेर्दा ठाकुरजीको मन्दिर क्षेत्र साँच्चै सुन्दर र आकर्षक बन्दै गएको महसुस भयो । मन्दिरको ऐतिहासिक, पुरातात्विक महत्वका बारेमा अध्ययन, अनुसन्धान गरी अभिलेखिकरण, प्रचार प्रसार गर्ने र गुरुयोजना तयार गरी यसको संरक्षण, सम्बर्द्धन र ब्यवस्थापनको जिम्मेवारी भावि पुस्तामा हस्तान्तरण गर्न सकियोस भन्ने कामना र यो क्षेत्रको उज्जवल भविश्यको कल्पनामा गर्दै बर्दिया बसाईको बिट मारेर ठाकुरद्वारासंग बिदा माग्दै बाटो लागें । (लेखक थापा बर्दिया राष्ट्रिय निकुञ्जका पुर्व वार्डेन हुन् ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय