सबै महिला खटिएको मतदान केन्द्रमा सबै भन्दा बढी मत खस्यो
मङ्गलबार, मङि्सर ०६, २०७९ मा प्रकाशित

बर्दिया, मंसिर ६ (फरकसमाचार) / मतदान अधिकृत देखि सुरक्षाकर्मी सबै महिला खटिएको मतदान स्थलमा सबै भन्दा बढी मत खसेको छ । निर्वाचन क्षेत्र नंम्बर १ गुलरिया नगरपालिका–८ महाकवि देवकोटा मावि (ख) केन्द्रमा सबै भन्दा बढी र जोधा पशुपति आवि बढैयाताल मतदान केन्द्र (क)मा सबै भन्दा कम मत खसेको हो । महाकवि देवकोटा मावि ख केन्द्रमा सबै भन्दा बढी मत खसेको मुख्य निर्वाचन अधिकृत कैलाश सुवेदीले सोमबार पत्रकार सम्मेलनमा बताए । ‘महाकवि (ख) केन्द्रमा जम्मा मतदाता १ हजार ३६ मध्ये ७ सय २९ मत खसेको छ’ मुख्य निर्वाचन अधिकृत सुवेदीले भने,‘त्यसैगरी जोधा (क) केन्द्रमा जम्मा मतदाता ५ सय ६० मध्ये ३ सय ४९ मत खसेको छ ।’

महाकवि देवकोटा मावि मतदान स्थलमा मतदान अधिकृत देखि सुरक्षाकर्मी सबै महिला खटिएका थिए । मतदान केन्द्र र स्थल गरी मतदान अधिकृतसहित २४ जना कर्मचारी र १४ जना सुरक्षाकर्मी सबै महिला खटिएको महाकवि देवकोटा केन्द्र (क) की मतदान अधिकृत रेविका अमात्यले जानकारी दिईन् ।
जिल्ला निर्वाचन कार्यालयको तथ्यांक अनुसार जिल्लामा कुल तीन लाख १५ हजार २ सय ८४ मतदाता कायम भएका थिए । जस मध्ये जम्मा १ लाख ९६ हजार ७ सय ३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । १ लाख ९ हजार २ सय ७४ जना महिला, ८७ हजार ४ सय ५८ पुरुष र ६ जना अन्यले मतदान गरेको निर्वाचन कार्यालयले तथ्यांक सार्वजनिक गरेको छ । जिल्लामा जम्मा ६२.४० प्रतिशत मत खसेको छ ।

आइतबार भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा पुरुष भन्दा महिला मतदाताले बढी मतदान गरेको तथ्यांकले पुष्टि गर्छ । बैदेशिक रोजगारको क्रममा पुरुष मतदाता बाहिर हुन सक्ने अधिकांशको आँकलन छ ।

निर्वाचनको लागि जिल्लामा १ सय ५४ मतदान स्थल र ३ सय ७६ मतदान केन्द्र निर्धारण गरिएको थियो । जिल्लाको दुई निर्वाचन क्षेत्रबाट दुई जना प्रतिनिधि सभा सदस्य र चार जना प्रदेश सभा सदस्य पदको लागि निर्वाचन सम्पन्न भएको छ । राजनितिक दलको सहमति नजुट्दा सोमबार दिउँसो २ बजेपछि मात्र मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुई वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य पदको मतगणना भईरहेको छ । निर्वाचन क्षेत्र नंम्बर १ मा बारबर्दिया नगरपालिका–५,७,८ र ११ त्यसैगरी क्षेत्र नंम्बर २ मा बारबर्दिया नगरपालिका–१,२ र ३ बाट मतगणना सुरु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय