निःशुल्क स्थायी बन्ध्याकरण गर्दै बर्दिया अस्पताल
बिहिबार, पुष २१, २०७९ मा प्रकाशित

बर्दिया, पुस २१ (फरकसमाचार) / बर्दिया अस्पतालले अब देखि नियमित निःशुल्क रुपमा महिला÷पुरुष स्थायी बन्ध्याकरण गर्ने भएको छ । अस्पतालले एमसिएच शाखाबाट दिने सेवाहरुमा समाबेस गरि यहि पुस महिनाबाट निःशुल्क रुपमा स्थायी बन्ध्याकरण गर्ने भएको हो । साथै बन्ध्याकरण गर्ने महिला÷पुरुषलाई नेपाल सरकारले तोके बमोजिमको खाजा खर्चसमेत अस्पतालले उपलब्ध गराउने भएको छ । सन्तानको रहर पुगेका परिवारले अब देखि अस्पतालबाट नियमित रुपमा स्थायी बन्ध्याकरण गराउन सक्ने छन् । सन्तानको रहर पुगेका फेमेलीले लामो समय अस्थायी साधनको प्रयोग गर्दा समेत स्वास्थ्यमा असर पर्न सक्ने स्वास्थ्यकर्मीले दावीसमेत गरिरहेका छन् ।

बर्दिया अस्पतालमा भ्यासेक्टोमी र मिनिल्यापको लागि दक्ष जनशक्ति उपलब्ध रहेको वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुभाष पाण्डेयले बताए । ‘दक्ष जनशक्तिको उपस्थितीमा स्थायी बन्ध्याकरण सेवा संचालन भएको छ’ वरिष्ठ मेसु डा. पाण्डेयले भने,‘अब देखि अस्पतालले स्त्री विशेषज्ञ द्वारा स्थायी बन्ध्याकरणको सेवा नियमित रुपमा दिनेछ ।’ यो जिल्लावासीको लागि सुखद रहेको सुनाए । पहिला निश्चित अवधिको लागि स्थायी बन्ध्याकरणको शिविर संचालन हुने गरेको थियो भने अब देखि अस्पतालले नियमित निःशुल्क रुपमा बन्ध्याकरण गर्ने वरिष्ठ मेसु डा. पाण्डेयले सुनाए । यसको साथै अस्पतालले महिलाहरुको आङ खस्ने समस्याको अप्रेशन गर्ने भएको छ । आङ खसेका दश जनाको निशुल्कमा अप्रेशन गर्ने वरिष्ठ मेसु डा. पाण्डेयले जानकारी दिए ।

सन्तानको रहर पुगिसकेका इच्छुक दाम्पतीले सहज रुपमा स्थायी बन्ध्याकरण गराउन सकिने स्त्री रोग विशेषज्ञ डा. राम विश्वास रायले बताए । ‘स्थायी बन्ध्याकरण गराउने इच्छुक दाम्पत्तीले अब शिविर कहिले आउँने कुर्नु पर्दैन’स्त्री रोग विशेषज्ञ डा.रायले भने,‘अस्पतालमा नियमित रुपमा स्थायी बन्ध्याकरण सेवा संचालन भएको छ ।’ प्रत्येक हप्तामा दुई पटक बन्ध्याकरण हुनेछ । बुधबार र शुक्रबार दिन अस्पतालले स्थायी बन्ध्याकरण गर्ने योजना बनाएको स्त्री रोग विशेषज्ञ डा.रायले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय