छ महिनामा १५ जना भेटिए कुष्ठरोगका बिरामी
सोमबार, माघ १६, २०७९ मा प्रकाशित

बर्दिया, माघ १६ (फरकसमाचार)/ चालु आर्थिक वर्षको ६ महिनामा १५ जना नयाँ कुष्ठरोगका बिरामी भेटिको स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताएका छन् । गत साउन देखि पुस मसान्तसम्म १५ जना नयाँ कुष्ठरोगका बिरामी भेटिएको प्रमुख गिरीले बताएका हुन् । ‘जसमा ६ जना महिला र ९ जना पुरुष रहेका छन्’ प्रमुख गिरीले भने, ‘उहाँहरु उपचाररत हुनुहुन्छ ।’ स्वास्थ्य चौकीहरुबाट कुष्ठरोगका बिरामीलाई निशुल्कमा औषधी उपलब्ध गराईएको छ । गत आर्थिक वर्षमा ६३ जना नयाँ कुष्ठरोगका बिरामी भेटिएका थिए । जसमा १४ महिला र २२ पुरुष उपचाररत छन् भने बाँकी निको भएको प्रमुख गिरीले जनाए ।

नेपाल लगायत अन्य मुलुलहरुले कुष्ठरोग निवारण गरेपनि कुष्ठरोग पुर्ण रुपमा अझै निवारण हुन सकेको छैन । कुष्ठरोग मुक्त नेपाल बनाउने दृष्टिकोणले सरकार अघि बढेको छ । ७०औं विश्व कुष्ठरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालयले आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं’ भन्ने मुल नाराकासाथ लाग्नु पर्ने जनाईको छ । कुष्ठरोगको फैलावटलाई अवरुद्ध गरेर जिल्ला र स्थानीय तहमा कुष्ठरोग निवारण गर्ने लक्ष्य सरकारले लिएको छ । कुष्ठरोग मुक्त नेपाल बनाउन सबैले भुमिका निभाएर सहयोग पु¥याउन अनुरोध गरिएको छ ।

नेपालमा विस ०६६ साल माघ ५ गते राष्ट्रिय स्तरमा कुष्ठरोग जनस्वास्थ्य समस्याको रुपमा निवारण भएको घोषणा गरेको थियो । त्यस समय राष्ट्रिय स्तरमा कुष्ठरोगको प्रिभिलन्स दर ०.७७ रहेको थियो । आर्थिक वर्ष ०७८/०७९को अन्त्यसम्म ०.८१ रहेको थियो । प्रति १० हजार जनसंख्यामा १ भन्दा कम हुनु निवारण मानिन्छ । गत आर्थिक वर्षमा बर्दियासहित १६ जिल्लामा कुष्ठरोग प्रति १० हजार जनसंख्यामा १ भन्दा धेरै बिरामी रहेको अवस्था छ । बर्दियामा कुष्ठरोगी बिरामीको प्रिभिलेन्स दर १.२३ रहेको थियो ।

कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको व्याक्टेरियम लेप्रे’ नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । धेरै मानिसलाई कुष्ठरोगको पहिलो लक्षणको रुपमा छालामा फिक्का दाग आउनु वा औँलाहरु सुनिने गर्दछ । चिकित्सकका अनुसार कुष्ठरोगले मुख्यतया स्नायु र छालालाई असर गर्दछ । समयमा उपचार नगरिएमा, यसले स्नायु क्षति, अनुभूति गुमाउने र हात, खुट्टा र अनुहारको मांसपेशिको पक्षाघात गराउन सक्छ । यो रोग मानिसबाट मानिसमा सर्छ । उपचार नगरेको कुष्ठरोग बिरामीसंग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिमा मुख्यतःश्वासप्रश्वासको माध्यमबाट यो रोग सर्छ । उपचार गरे पुर्ण रुपमा निको हुन्छ । कुष्ठरोग उपचार पुरा गरे सरकारले एक जनालाई रु १ हजार दिने व्यवस्थासमेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय