‘माथ में मोटरी जय सीयाराम’
मङ्गलबार, फागुन १३, २०७६ मा प्रकाशित

महोत्तरी, फागुन १३ : आज मंगलबार मिथिला माध्यमिकी परिक्रमाको तेस्रो दिन । भारतको मधुवनी जिल्लाको कल्याणेश्वर (कलना) बाट परिक्रमा यात्रीको ताँती गिरिजास्थान (फुलहर) सम्मै अटुट देखिँदोछ । ‘जय जानकीजी, जय सीयाराम !!’ (मैथिल जनबोलीमा सीताजीलाई सीयाजी भन्ने गरिएको छ) । मान्छे नै मान्छे अर्थात् सडक पूरै ढाकेर धार्मिक यात्रामा निस्केका हजारौँ श्रद्धालु यात्रीको एउटै बोली, एउटै लय, ‘जय सीयाराम !’

फागुन औँशीका दिन शुरु भएर लगातार १५ दिनको यात्राको अठोट । टाउकोमा सामल–खाजा र एकसरो फेरफार लुगाको मोटरी (पोको), वाणीमा जय सीयारामको लय । नांगा खुट्टा, परिचित÷अपरिचित हजारौँ सहयात्री । कल्याण र मोक्षको कामना, १५ दिने मिथिला माध्यमिकी परिक्रमाको अध्यात्मिक यात्रा । यात्रु नै भन्छन्, ‘माथ में मोटरी, मन में सीयाराम !’ (टाउकोमा सामल खाजाको पोका, मनमा सीतारामप्रति श्रद्धा, भक्ति र समर्पणको भाव) ।

प्रत्येक वर्ष फागुन औँशीका दिन शुरु हुने मिथिला माध्यमिकी परिक्रमाको यात्रामा धनुषाको कचुरीस्थित श्री अवधबिहारी मन्दिरबाट श्री अवधबिहारी (श्रीराम)को प्रतिमा राखिएको डोला अघि लागेपछि लावालस्कर पछि लाग्छ । यसपालि गत आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवधबिहारीको डोला बोकेर परिक्रमा यात्राको शुभारम्भ गरेका थिए । कचुरीबाट निस्केको श्रीरामको डोला जनकपुर पुगेपछि जनकपुरधामस्थित अग्निकुण्ड मठबाट श्री किशोरीजी (सीताजी, जानकी)को प्रतिमा राखिएको डोला निस्केर त्यही लावालस्करमा मिसिएपछि जानकी र राममन्दिरको प्रदक्षिणा गर्दै साधुसन्तसहितको लावालस्कर पहिलो दिनको विश्रामका लागि धनुषाकै हनुमानगढी पुग्छ ।

श्री अवधबिहारी र श्री किशोरीजीका डोलाको दर्शनका लागि यात्रामार्गका बस्तीमा भीड नै लाग्ने गरेको छ । यात्रामा नेपाल र भारतका विभिन्न ठाउँबाट साधुसन्त सरिक हुने गरेका छन् । यो यात्रामा गृहस्थ आश्रमका यात्रीको संख्या पनि उल्लेख्य छ । ‘घरको सुखदुःख त सधैँ धान्नु नै छ नि !’, परिक्रमा यात्रामा भेटिनुभएकी महोत्तरीको भंगाहा नगरपालिका–४ की ६० वर्षीया रामशीला महतोले भने, ‘गृहस्थ जीवनमा जानअन्जानमा गरिएका पाप पनि त पखाल्नुप¥यो नि ! त्यसैले यो यात्रामा निस्केका हौँ ।’ पति राशबिहारीसँगै रामशीलाको यसपालिसहित सातौँपटकको परिक्रमा यात्रा हो ।

अघि त्रेतायुगमा श्रीराम र जानकीले विवाहपश्चात विदेह (मिथिला) राज्यका विभिन्न भेगमा बिहार गर्दै घुमेका सम्झनामा तिनै पाइला पछ्याउँदै मिथिला माध्यमिकी परिक्रमाको चलन शुरु भएको मानिन्छ । सांसारिक लोभ मोहबाट मुक्त भएर १५ दिन गरिने मिथिला परिक्रमाले मन, विचार पवित्र भई इहलोक (अहिले यसै जन्ममा) मा सुख, शान्ति र पछि मोक्ष प्राप्त हुने मैथिल जनविश्वास छ । ‘साँच्चै भन्छन् भने यो अलौकिक यात्रा हो, सबै यात्रु सांसारिक दुःख बिर्सेर सीताराम संकीर्तनमा मुग्ध छन्’, महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठका साधु रवीन्द्र दास वैष्णवले भने, ‘आत्मशुद्धि, जनकल्याण र मोक्ष प्राप्ति यो अध्यात्मिक यात्राको कामना हो ।’

नेपालतर्फ महोत्तरी, धनुषा र भारततर्फ मधुवनी जिल्ला क्षेत्रभित्र १३३ किलोमिटरको वृत्तभित्र गरिने यो यात्रामा १५ रात्रि विश्रामस्थल रहने गरेका छन् । नेपालतर्फ महोत्तरी र धनुषा जिल्लाभित्र १०७ किलोमिटर र भारततर्फ २८ किलोमिटरको दूरी तय गरिने परिक्रमा पथमा धनुषामा छ, महोत्तरीमा पाँच र छिमेकको भारतको मधुवनी जिल्लामा चार रात्रि विश्रामको परम्परा छ ।

परिक्रमामा सहभागिताका लागि कुनै जात, वर्ण र वर्गलाई परहेज (निषेध) नभएको हुँदा यो १५ दिने उत्सव समानता र समावेशिताको उदाहरण बनेको छ । दिउँसोको विश्रामस्थल होस् कि रात्रि विश्रामस्थल होस्, यात्रीहरू एकापसमा चिनजान गर्ने, सामूहिक भजनकीर्तन गर्ने र आपूmसँग भएको खानेकुरा बाँडेर खाने गर्छन् । सधैँ एकाबिहानै स्नान, सात्विक शाकाहारी भोजन र ब्रह्मचर्य पालना सबैले पालना गर्नुपर्ने साझा नियम हुन् ।

यात्राको पहिलो दिन धनुषाको हनुमानगढी बास बसेपछि दोस्रो र तेस्रो दिन क्रमशः मधुवनी जिल्लाको कलना (कल्याणेश्वर) र फुलहर (गिरिजास्थान)मा रात्रिबास गरेर परिक्रमा टोली महोत्तरीको मटिहानीमा चौथो दिनको विश्रामका लागि पुग्ने गर्छ । त्यसपछि क्रमशः पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवन रात्रिबास गरेर महोत्तरीको यात्रा पूरा गरिन्छ ।

यात्रामा महोत्तरीको कञ्चनवनमा श्रीराम र सीताजीले रङ, अबिर खेलेका विश्वासमा यात्रीहरू एकापसमा रङ, अबिर खेलेर फागुपर्व मनाउने गर्छन् । वसन्तपञ्चमीका दिनदेखि फागु्पर्वको शुरुआत मानिए पनि मैथिल परम्परामा कञ्चनवनमा रङ, अबिर खेलेपछि नै फागु विधिवत् शुरु भएको मानिन्छ ।

महोत्तरीको यात्रा पूरा भएपछि नवौँ दिन धनुषा प्रवेश गर्ने परिक्रमा टोली धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरहीमा क्रमशः नवौँ, दशौँ, एघारौँ र बाह्रौँ दिनको रात्रिबासपछि फेरि भारत प्रवेश गर्छ । त्यसपछि तेहौँ दिन मधुवनीको करुणा र चौधौँ दिन बिसौल बास बसेपछि पुनःकल्याणेश्वर महादेव मन्दिरको परिक्रमा गर्दै अन्तिम १५औँ दिनको बासका लागि यात्रु जनकपुरधामको रंगभूमि (बाह्रबिघा मैदान) पुग्ने परम्परा छ । १६औँ दिन बिहान जनकपुरधामको अन्तगृह परिक्रमा गरेसँगै मिथिला माध्यमिकी परिक्रमा पूरा भएको मानिन्छ । जनकपुर रात्रि विश्रामकै दिन राति होलिका दहन (राक्षसी प्रवृत्तिकी सत्ययुगकालीन स्त्रीपात्र, दैत्यराज हिरण्यकशिपुकी बहिनीको आकृतिलाई आगो झोस्ने विधि) गरिएको ठाउँमा १६औँ दिन बिहान धुरा उडाउने (खरानी उडाउने) परम्परा छ । यो चलन राक्षसी प्रवृत्तिको अन्त्य भएको प्रतिकात्मक रूपमा मनाइन थालिएको मिथिला संस्कृतिका जानकार महोत्तरीको बलवा नगरपालिका–१० धमौराका कामेश्वर झा बताउँछन् ।

मिथिला प्राचीनकालको ज्ञानभूमि र तपोनिष्ठ ऋषिमुनिको यज्ञादि कर्मका लागि प्रसिद्धस्थल रहेको रामायण, मिथिला माहात्म्य र अन्य पौराणिक ग्रन्थमा वर्णित छ । हिन्दू धर्म परम्परामा मर्यादा पुरुषोत्तम भनिने श्रीराम र देवीका रूपमा पूज्य श्री सीताजीले खेलेको, बिहार गरेको स्थल मानिएको हुँदा यसको महत्व सम्झिरहन माध्यमिकी परिक्रमाको परम्परा चलेको बूढापाका बताउँछन् ।

परिक्रमाको मूलपक्षमा श्रीराम र सीताले बिहार गरेका पूण्यभूमिका रूपमा मानिएको भए पनि परिक्रमाको अन्त्यमा होलिका दहन र त्यसको एक दिनपछि फागुपर्व मनाइने परम्परामा हिरण्यकशिपु र उनकी बहिनी होलिकासहितका राक्षसी प्रवृत्तिको संहार र सात्विक प्रवृत्तिका हिरण्यकशिपुका पुत्र प्रह्लादको रक्षा भगवान् विष्णुले नृसिंह अवतार लिएर गरेको कथासमेत जोडिएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का सहप्राध्यापक ध्रुव राय बताउँछन् ।

नेपाल र भारतका हजारौँ साधुसन्त सहभागी हुने यो मिथिलाको महाकुम्भमा परिक्रमाका यात्रीको बासस्थान, प्राथमिक उपचार, भोजन र आपतकालीन सेवाका लागि रात्रि विश्रामस्थल रहेका ठाउँमा मठमन्दिर व्यवस्थापन, सामाजिक संघसंस्था, स्थानीय तह र व्यक्तिले स्वेच्छिक प्रबन्ध गर्ने गरेका छन् । माध्यमिकी परिक्रमाको संयोजन पछिल्ला दुई दशकयता विभिन्न मठमन्दिर व्यवस्थापनको समन्वयमा बृहत्तर जनकपुर क्षेत्र विकास कोष (परिषद्) ले गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय