धारामा पानी नआउँदा जनजिबन कष्टकर बन्दै
सोमबार, जेठ २२, २०८० मा प्रकाशित

ज्ञानेन्द्र पोखरेल

बर्दिया,जेठ २२/ बिगत केही दिन देखि तराई क्षेत्रमा अत्याधिक गर्मि बढेसंगै बढैयाताल गाउँपालिका क्षेत्रका अधिकांश ठाउँमा धारामा पानी आउन छोडेको छ । गर्मी बढेसंगै धारामा पानी आउन छोडेपछि स्थानीयको दैनिकी कष्टकर बन्दै गएको हो ।

यस क्षेत्रमा अधिकांश धारा सुकेर बन्द भईसकेको बढैयाताल गाउँपालिका–५ का वडा अध्यक्ष तुलाराम थारुले बताए । ‘यस क्षेत्रमा समरसियल बोरिङको कारण धारा सुकेका छन्’ अध्यक्ष थारुले भने,‘समरसियल बोरिङका कारण धारा सुक्दै गएको विषयमा जिल्ला प्रशासनको समेत ध्यानाकर्षण गराईसकेको छु ।’ यस्तै अवस्था रह््यो भने यहाँका स्थानीयले खानेपानीसमेत नपाउने अवस्था आउन सक्ने अध्यक्ष थारुको भनाई छ ।

बढैयाताल गाउँपालिका–५ जगतियालगायत आसपासका क्षेत्रहरुमा माछापालन बढि रहेको छ । माछापालक किसानहरूले बढि क्षमताका समरसियल बोरिङ प्रयोग गरेका कारण यस क्षेत्रका धाराहरुमा पानी नआउने समस्या बढ्दै गएको छ । धारामा पानी नआउँदा खानेपानीको समस्या बिकराल बन्दै गएको स्थानीय बताउछन् ।

माछापालक किसानले बढि क्षमताका बोरिङ दिनमा चलाउँदा धारामा पानी नआउने समस्या देखिन थालेपछि बढैयाताल गाउँपालिका–५ वडा कार्यालयले केही दिन अगाडि माछापालक किसानहरुको ध्यानाकर्षणको लागि सुचना प्रकाशन गरेको थियो । धारामा पानी आउन छोड्न थालेपछि वडा कार्यालयले माछापालक किसानलाई बढि क्षमताका समरसियल बोरिङ राति ९ बजेदेखि ३ बजेसम्म प्रयोग गर्न जनाएको थियो । तर त्यो कार्यान्वयन नहुँदा समस्या झन् बल्झिदै गएको स्थानीयको गुनासो छ । सम्बन्धित निकायले समयमै ध्यान नदिए यस क्षेत्रमा खानेपानीको हाहाकार हुन सक्ने स्थानीयको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय