ज्येष्ठ नागरिक आश्रम सञ्चालन
सोमबार, फागुन २६, २०७६ मा प्रकाशित

दमौली, फागुन २६  : तनहुँको दमौली बजारमा विभिन्न पेशा व्यवसायमा आबद्ध महिलाले छ वर्ष अगाडि ज्येष्ठ नागरिक आश्रम स्थापना गरे । तीस महिलाबाट शुरु भएको ‘वेदव्यास’ ज्येष्ठ नागरिक आश्रममा अहिलेको सदस्य संख्या ३३० पुगेको छ । असहाय एवं आर्थिकरुपमा विपन्न ज्येष्ठ नागरिकको संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको आश्रममा हाल पाँच जना ज्येष्ठ नागरिकले आश्रय लिइरहेका छन् । ‘विभिन्न पेशा व्यवसायमा आबद्ध महिला संगठित भएर सामाजिक काममा लागौँ भन्ने भावनासहित आश्रम सञ्चालन गर्यौं,’ ज्येष्ठ नागरिक आश्रमकी कार्यवाहक अध्यक्ष शकुन्तला आलेले भने, ‘असहाय ज्येष्ठ नागरिकलाई सेवा गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको छ ।’

 

आश्रममा नौ जना ज्येष्ठ नागरिकले आश्रय लिएको भए पनि यसबीचमा चार जना ज्येष्ठ नागरिकले ज्यान गुमाएका छन् । आश्रममै जीवनको मृत्युवरण गरेका ज्येष्ठ नागरिकको शव आश्रमकै महिलाले बोकेर दाहसंस्कार गर्ने गरेका छन् । महिलाले शव बोक्नु हुँदैन भन्ने सामाजिक कुरीतिलाई यहाँका महिलाले चुनौती दिइरहेका छन् । ‘महिलाले शव बोक्नु हुँदैन भन्ने सामाजिक कुप्रथालाई हटाउन पनि हामी आफैँले शव बोकेर ज्येष्ठ नागरिकको दाहसंस्कार गर्ने गरेका छौँ’, आलेले भने, ‘सामाजिक सेवामा लागेका हामी यस काममा कति पनि विचलित हुँदैनौँ ।’

 

विसं २०६९ पुसमा संस्था दर्ता गरेर विसं २०७० वैशाख १ गतेदेखि सञ्चालनमा आएको आश्रम विभिन्न दाताको सहयोगले चलिरहेको छ । स्थापनाकालमा ३० जना महिलाले एक/एक हजार उठाएर ३० हजारको अक्षयकोष स्थापना गरेका थिए । आश्रमका ज्येष्ठ नागरिकलाई खुवाउनका लागि खाद्यान्नलगायत सहयोग व्यक्ति तथा संघसंस्थाले गर्दै आएको आश्रमकी सचिव निर्मला मल्लले जानकारी दिए । ‘देश तथा विदेशमा रहने व्यक्ति तथा विभिन्न संघसंस्थामार्फत आश्रमलाई सहयोग प्राप्त हुन्छ’, मल्लले भने, ‘दाताको सहयोगले आश्रम चलाउन सहज भएको छ ।’

 

आश्रममा आश्रय लिइरहनु भएका ज्येष्ठ नागरिकको स्याहारसुसारमा कुनै कमी नगरिएको मल्लले जानकारी दिए । ‘उनीहरू  त अहिले हाम्रो परिवारको सदस्य जस्तै बनिसक्नुभएको छ’, उनले भने । केही वर्षसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको आश्रमले अहिले आफ्नै जग्गा खरिद गरेको छ । सोही जग्गामा भवन निर्माण शुरु गरिएको तर आर्थिक अभावकै कारण भवनलाई पूरा गर्न नसकिएको आश्रमकी कोषाध्यक्ष अरुणा श्रेष्ठले जानकारी दिए ।

 

विसं २०७२ मा आयोजना गरिएको महायज्ञबाट संकलन भएको रकमले दुई रोपनी क्षेत्रफल जग्गा खरिद गरी भवन निर्माण शुरु गरिएको छ । भवन निर्माणका लागि सरकारी कोषबाट २० लाख प्राप्त भएको थियो । ‘भवन निर्माण त शुरु गर्यौँ तर आर्थिक अभावकै कारण सम्पन्न भने गर्न सकिरहेका छैनौँ’, कोषाध्यक्ष श्रेष्ठले भने, ‘दाताकै सहयोगमा भवन निर्माण सम्पन्न हुनेमा आशावादी छौँ ।’ व्यास नगरपालिका–५ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक भावनाका साथ महिलाले सञ्चालन गरेको आश्रम समाजकै लागि उदाहरणीय रहेको बताए । आश्रमका लागि कार्यालयको र व्यक्तिगततर्फबाट सहयोग गर्न प्रतिबद्ध रहेको श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर