सडक निर्माणको म्याद एक वर्ष थपियो
बुधबार, फागुन २८, २०७६ मा प्रकाशित

अत्तरिया, फागुन २८ : कैलालीमा निर्माणाधीन मोहनापुल–अत्तरिया छ लेन सडकको निर्माण अवधि एक वर्ष थप गरिएको छ । निर्माण सम्पन्न सम्झौता अवधि सकिएको नौ महिनापछि सडकको म्याद थप गरिएको हो ।

एक नं प्याकेजको म्याद विसं २०७७ मंसिर ६ गतेसम्म र दोस्रो तथा तेस्रो प्याकेजको मंसिर १५ सम्मका लागि म्याद थप गरिएको मोहनापुल–अत्तरिया सडक योजना कार्यालय धनगढीका योजना प्रमुख होमबहादुर एसीले बताए । निर्माण कम्पनीले विसं २०७४ जेठमा २४ महिनाभित्र निर्माण गरिसक्ने गरी ठेक्का सम्झौता गरेकामा सम्झौताअनुसार गत जेठमा सम्पन्न हुनुपर्ने काम आधा मात्रै सकिएपछि म्याद थप गरिएको जनाइएको छ ।

चालू आवको माघ मसान्तसम्म छ किलोमिटर सडक एकतर्फी कालोपत्र भइसकेको योजना कार्यालयले जनाएको छ । संघीय सरकारको बजेटमा निर्माणाधीन कूल साढे १४ किलोमिटर लामो यो सडकखण्डको १० किमी छ लेन र साढे चार किमी चार लेनको हुनेछ । एक अर्ब ६८ करोड लागत रहेको उक्त सडक निर्माणका लागि तीन खण्डमा छुट्याई ठेक्का दिइएको छ ।

भन्सार–रोडस्थित मोहनापुलबाट अत्तरियाचोकसम्म १४ दशमलव १७ किलोमिटर लामो तथा ३२ दशमलव दुई मिटर चौडा सडक निर्माण गरिनेछ । दुवैतिर तीन–तीन मिटर फुटपाथ रहने छ । लेन सडकमा ८० किलोमिटर प्रतिघण्टाका दरले सवारी कुदाउन सकिने छ । विसं २०७४ जेठमा मोहनापुल–अत्तरिया छ लेन सडकको निर्माण शुरू भएको थियो । यो अवधिसम्म ७० प्रतिशत मात्र काम भएको सडक योजना कार्यालयले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय