जरुवा खोलामा पुल निर्माण, स्थानीयवासी खुशी
बिहिबार, फागुन २९, २०७६ मा प्रकाशित

लहान, फागुन २९ : सिरहाको गोलबजार नगरपालिका– ३ जरुवा खोलामा पुल निर्माण भएपछि स्थानीयवासी खुशी भएका छन् । खोलामा पुल नहुँदा गाउँमा कोही बिरामी पर्दा एम्बुलेन्स ल्याउन होस् वा बर्खायाममा खोला वारपार गर्न होस् सास्ती खेप्दै आएका स्थानीयवासी खोलामा पुल निर्माणपछि सुखी बनेका हुन् ।

सो खोलामा पुल नहुँदा बर्खायाममा बाढी आउँदा स्कूले नानीलाई विद्यालय जानआउन, बिरामीलाई उपचार गराउन स्वास्थ्य संस्थासम्म पुर्याउन र सर्वसाधारणलाई आवतजावत गर्न समस्या हुँदै आएको थियो । स्थानीयवासी तथा निर्माण समितिका कोषाध्यक्ष सुमित्रा बस्नेतले भने, ‘बर्खायाममा पानी परेपछि विद्यार्थी विद्यालय जाँदैन थिए तर अब पुल बनेपछि त्यो समस्याको दीर्घकालीन रुपमै समाधान भएको छ ।’

कूल ७१ घरपरिवारको करीब पाँच सय जनसंख्या रहेको जरुवा गाउँमा आधारभूत विद्यालय नहुँदा आधारभूत विद्यालयमा पढ्ने नानीहरू विद्यालय पुग्न खोला तरेर जमदह पुग्नुपर्ने बाध्यता छ’, उनले भने, ‘तर बर्खायामको समयमा बाढी आउँदा विद्यार्थीलाई विद्यालय नै छुटाउनुपर्ने अवस्था थियो, अब यो समस्या आउँदैन् ।’

हाटबजार, विद्यालय, स्वास्थ्य संस्था जस्ता आधारभूत आवश्यकताका लागि पनि जमदह र गोलबजारसम्म आउजाउ गर्नुपर्ने भएकाले जरुवा खोला तर्न स्थानीयवासीले ठूलै समस्या खेप्नु परिरहेको थियो तर पुल बनेपछि गाउँलेलाई ठूलै राहत भएको स्थानीयवासी राजेश चौधरीले बताए ।

खोलामा पुल नहुँदा नजीकैको जमदह, गोलबजारतर्फ आउन बर्खायाममा ठूलै संघर्ष गर्नु परिरहेको थियो’, चौधरीले भने, ‘पुल बनाई दिन धेरै ठाउँमा गुहारे तर कतै सुनुवाइ हुन सकेको थिएन तर ढिलै भए पनि गरिबी निवारण कोषको सहयोगमा पुल निर्माण भएपछि सुखी लागेको छ ।’ बल्ल वर्षांैदेखिको समस्याबाट छट्कारा पाएको महसुस भइरहेको उनको भनाइ छ । पुल निर्माणका कारण आवागमनमा सहज हुनुका साथै यसबाट जनजीवनमा समेत सकारात्मक परिवर्तन आउने स्थानीयवासीको कथन छ ।

गरिबी निवारण कोषको १६ लाख ८४ हजार ११० सहयोग तथा स्थानीयवासीको पाँच लाख ५६ हजार ६७ श्रमदान गरी कूल २२ लाख ४० हजार १४७ को लागतमा खोलामा पुल निर्माण भएको जरुवा खोला पुल निर्माण समितिका अध्यक्ष विष्णु विश्वकर्माले जानकारी दिए । गरिबी निवारण कोषसँगै स्थानीवासीको उत्साहजनक सहभागिताले पुल निर्माण गर्न सफल भएको भन्दै अध्यक्ष विश्वकर्माले पुल निर्माण भएपछि सो क्षेत्रका स्थानीयवासीको अनुहारमा खुशियाली छाएको बताए ।

 

वर्षौंदेखि खोलामा पुल नहुँदा स्थानीयवासीले ठूलै सास्ती भोगिरहेको दुःखेसो पोखेपछि पुल गरिबी निवारण कोषको सहयोगमा हालै जरुवा खोलामा पुल निर्माण गरिएको कोषको स्थानीय साझेदार संस्था ग्रामीण महिला कल्याण सेवा केन्द्रका सुनिलकुमार यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय