एक नगरका दुई कार्यालय : सेवाग्राही अन्योलमा
बिहिबार, फागुन २९, २०७६ मा प्रकाशित

सर्लाही, फागुन २९ : सर्लाहीको बलरा नगरपालिकामा दुई स्थानमा कार्यालय राखेर  नगरको काम गरिएको छ । नगरप्रमुख र उपप्रमुखले बेग्लाबेग्लै स्थानमा नगरपालिकाको  कार्यालय राखेर नगरको काम गरेका हुन् ।  नगरपालिकाको आफ्नो कार्यालय हुँदाहुँदै नगरप्रमुख अभयकुमार सिंहले आफ्नो गाउँ हथियौलको एक निजी घरमा नगरपालिकाको कार्यालय राखेर नगरका गतिविधि सञ्चालन गरिरहेका छन । नगरप्रमुख र उपप्रमुख बीचमा विवाद हुँदा नगरको काम कार्वाही प्रभावित हुनाका साथै नगरपालिकाको कार्यालयसमेत दुई स्थानमा सञ्चालन हुँदा नगरवासी सेवा लिन कहाँ जाने भन्ने अन्योलमा छन् ।

 

स्थानीय निकायको निर्वाचन भएर जनप्रतिनिधि आउँदा  आफूहरूले पाउँने सेवासुविधामा सहज महसुस गरेका नगरवासी अहिले समस्यामा परेका छन् । स्थानीय निकायको निर्वाचनलगत्तै नगरप्रमुख र उपप्रमुख बीचमा शुरु भएको विवादले अहिले कार्यालयसमेत दुईवटा बनेको छ ।  एउटै पार्टीबाट नगरप्रमुख र उपप्रमुख निर्वार्चित भएका भए पनि आपसमा राम्रो सम्बन्ध नहुँदा कार्यालय दुई स्थानमा राख्नुपर्ने अवस्था सृजना भएको जानकारहरूले बताउँदै आएका छन् । साथै नगरको विकास लगायत नगरसभासहितका कामकारवाही नराम्ररी प्रभावित भएका छन् ।

 

नगरप्रमुख सिंह र नगरउपप्रमुख रामसखी देवी दुवैजना राष्ट्रिय जनता पार्टीबाट निर्वाचित हुनुभएको हो । पछिल्लो समयमा नगर उपप्रमुख रामसखीले नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष तथा जनप्रतिनिधिको साथ लिएर नगरप्रमुख सिंहको विरोध गर्नुभएको बताइएको छ । उनले नगरप्रमुख सिंह एकलौटी ढंगले चलेको, नगरको विकास लगायतका काममा आफूहरूसँग समन्वय नगरेको आरोप लगाएका छन्  ।

 

‘आफूहरू नगरपालिकाको कार्यालयमा बसेर नगरवासीलाई सेवा प्रदान गरिरहेको भए पनि नगरप्रमुख सिंहले आफ्नो गाउँमा लगेर नगरपालिकाको अर्को कार्यालय राखेका र आफ्नो मनोमानी निरन्तर गरिरहेका छन्’,   नगर उपप्रमुख भने । अर्काततिर नगरप्रमुख सिंह भने आफूलाई नगरपालिकाको कार्यालयमा बसेर काम गर्न सक्ने वातावरण नभएको बताउँछन् । ‘आफूले काम सहज तरिकाले गर्न नपाएकोले नगरपालिकाको अर्को कार्यालय खोल्न बाध्य भएको हुँ’, नगरप्रमुख सिंहले भने ।

 

उपप्रमुख र वडाध्यक्षले विना काममा नगरको काममा अवरोध गरी पटकपटक तालाबन्दी गरेका र आफूलाई त्यो स्वीकार्य नभएकाले बाध्य भएर अर्काे कार्यालय खोलेर भए पनि आफूले नगरवासीको सेवा गरिरहेको नगरप्रमुख सिंहको भनाइ छ  । एउटै नगरपालिकाको कार्यालय दुई स्थानमा सञ्चालन हुँदा नगरप्रमुख, उपप्रमुख तथा वडाध्यक्ष भेट्न जाने नागरिक अलमलमा परेका छन् । कर्माचारी नगरप्रमुखको वा उपप्रमुख कसको कार्यालयमा बसेर काम गर्ने भन्ने अन्योलमा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय