‘विदेशीलाई बलजफ्ति पिज्जा, बर्गर खुवाएका छौं’
आइतबार, चैत २९, २०७७ मा प्रकाशित

चैत २९,(फरक समाचार)/ बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके–२०२० को उपविजेता सन्तोष साह अहिले पोखरामा छन् । नेपाली खानाको माध्यमबाट संसारभर नेपाललाई चिनाएको भन्दै साहलाई विभिन्न ठाउँमा सम्मान गर्ने गरिएको छ । पोखराका पर्यटन व्यवसायीले पनि साहको सम्मानमा कार्यक्रम राखेका थिए । सिरहा जिल्लाको कर्जनाहामा जन्मिएका साह लामो समयदेखि बेलायतमा बस्दै आएका थिए । खानाको पहिचान दिलाउन सक्ने हो भने नेपालमा विदेशी पर्यटक भित्र्याउन सघाउ पुग्ने साहको भनाई छ । यही सेरोफेरोमा सन्तोष साहसँग नागरिककर्मीसन्तोष पोखरेल ले गरेको कुराकानीः

नेपाली खानाको स्तर अन्तर्राष्ट्रिय बजारमा कस्तो पाउनु भएको छ ?  

नेपाली खाना राम्रो छ । तर, कहिलेकाँही घर छेउको मन्दिर थाहा नभएजस्तै नेपाली खानाबारे हामीलाई त्यस्तै भएको छ । पोखरा आएका विदेशी पाहुनालाई पिज्जा, बर्गर, पास्ता जस्ता खानेकुरा हामीले बलजफ्ति खुवाएका छौ । हामी अन्य मुलुकमा जाँदा पनि त्यहाँको प्रसिद्ध खाना खोज्छौ । विदेशीले पनि नेपाली खाना खोज्छन् । नेपाली खानासँग संस्कृति जोडिएको छ । यसमा विविधता छ । तर, हामीले विदेशीलाई उनीहरुको खाना जर्बजस्ती खुवाएका छौं । जस्तै हामी विदेश गयौं भने हामीले महिनामा एकदिन आफ्नो खाना खान खोज्छौ । तर, अरुबेला उनीहरुकै खाना खान्छौ । पोखरा र काठमाडौंको खाना निकै नै राम्रो छ । तर त्यही मात्र सिमित छ । पोखरामा राम्रा रेस्टुरेन्ट छन् । पोखराका रेस्टुरेन्ट सफा, स्वच्छ छन् ।

नेपाली खाना अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न के गर्नुपर्छ ?  

हामीले नै त्यो काम गर्ने हो । त्यसको काम नेपालबाटै सुरु गर्नुपर्छ । विदेशमा गएर होइन । पहिला आफ्नो घर बनाउने हो, त्यसपछि बल्ल अरुको घर बनाउन जाने हो । नेपाली खाना विदेशमा चिनाउनुपर्छ । हामीकहाँ वर्षमा लाखौं विदेशी आउँछन् । ती विदेशीलाई नेपाली खाना चखाउन सक्ने हो भने उनीहरुले नेपाली स्वादबारे त्यत्ति संख्यामा आफन्तलाई भन्नेछन् । मैले नेपाली खाना खाएको भनेर आफन्तलाई भन्नेछन् । पोखरामा खाएको खानाबारे पाहुनाले बताउनेछन् । त्यसले गर्दा खानाको प्रवर्द्धन हुनेछ ।

नेपाली खाना प्रवर्द्धन नभएकै हो त्यसो भए ?  

खानाको प्रवर्द्धन निकै नै कम भएको हो । हामीसँग थकाली बाहेक खाना नै भएन । नेवारी खाना खाने ठाउँ नै छैन । नेपाली खानामा दालभात, तरकारी बाहेक थकाली बाहेक अरु रेस्टुरेन्ट छैनन् । थकाली पनि राम्रो खाना हो । तर नेवारी, थारु ज्स्ता खानाको प्रचार भएको छैन । अरु खाना प्रवर्द्धन हुन सकेन । नेवारी खाना एकसय भन्दा बढि प्रकारको छ, तर नेवारी खाना खाने ठाउँ नै छैन । थकाली मात्र प्रवर्द्धन भएको हो । तर अरु खानाको प्रवर्द्धन भएको छैन ।

तपाईले विदेशीलाई नेपाली खाना खुवाउने अभ्यास गर्नु भएको छ । विदेशीले नेपाली खानालाई कुन रुपमा लिएको पाउनु भएको छ ?  

नेपाली खानालाई विदेशीले स्वस्थ, स्वच्छ र मिठो खाना भनेर बुझेका छन् । मैले प्रतिश्पर्धामा पनि नेपाली खाना नै बनाएको थिए । विदेशीले नेपालीको स्वादलाई अति रुचाएका छन् । नेपाली स्वाद निकै नै बिछट्टै छ ।

खानाकै कारण पर्यटन प्रवर्द्धनमा कत्तिको सघाउ पुग्छ ? 

थाइल्याण्डमा त्यहाँको खानाकै कारण पर्यटन प्रवर्द्धन भएको हो । खाना हाम्रो ‘ब्याकबोन’ हुन सक्छ । खानाकै कारण पर्यटक भित्र्याउन सकिन्छ । इटाली खानाकै कारण परिचित भएको हो । फ्रान्स पनि खानाका लागि चिनिएको छ । नेपालले जसरी हिमाल, पहाड, तराईको कुरा गर्छाै, त्यसैगरि खानाबाट पनि पहिचान दिलाउने बेला भएको छ । प्राकृतिक सौन्दर्यता भन्दा पनि सान नेपाली खानामा छ ।

खानाको ब्राण्डिङ स्वादले हुन्छ की पकिारको नामले ?  

फरक फरक हुन्छ । हेर्ने तरिका फरक हुन सक्छ । खाना कस्तो छ भन्ने निर्णय गर्ने पहिलो आधार भनेको स्वाद नै हो । खानाको स्वाद अर्थपूर्ण हुनुपर्छ । खाना बनाउँदा मौलिकता हुनुपर्छ । मौलिकता मर्न दिनु हुन्न । खाना बनाउँदा रचनात्मक हुनुपर्छ ।

सेफका लागि खाना पकाउने काम कहिल्यै सकिन्छ ?  

त्यो कहिल्यै पनि हुन सक्दैन । कुनै पनि क्षेत्रमा पनि त्यो हुँदैन । सिकाई पुरा भयो भनेर कसैले भन्छ भने त्यसको वृत्ति सबै रोकिन्छ । होटल तथा रेस्टुरेन्टमा पनि उस्तै हो । कुनैपनि क्षेत्रमा सिक्ने काम सकिन्न । जसले मैले सिके भन्छ, उ त्यहीबाट सकिन्छ । नयाँ कसरी गर्ने भन्ने हरेक दिन खोजी हुन्छ । किचनमा कुनैपनि सेफले सिक्ने काम सकियो भन्न मिल्दैन । पाँचवर्ष पछि नयाँ अवस्था आउन सक्छ, त्यसलाई पछ्याउन सक्नुपर्छ । पाँच–दश वर्षमा खानाको ट्रेन्ड नै फेरिन्छ ।नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय