सरकारले जारी गर्‍यो लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा
सोमबार, जेठ ०५, २०७७ मा प्रकाशित

काठमाडौं, जेठ ५ : सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

उनले भने, ‘उत्तरी पूर्व र पश्चिमी नक्साहरुसहित राजनीतिक र प्रशासनीक प्रवन्ध पनि समेटेको छ । यो नक्सा अब नेपालको सबै विसिमका प्रशासनीक प्रवन्धहरुमा लागू गर्ने गरी अगाडि बढाएको छ ।’

आजैको बैठकमा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नक्सा पेश गरेकी थिइन्। बैठकमा उपस्थित एक मन्त्रीले भने, ‘लिपुलेक, लिम्पियाधुरासहितको नक्सा आज पारित भएको छ।’

खतिवडाकाअनुसार नयाँ नक्सामा नेपालको संघीयताअनुसार प्रदेश र स्थानीय तहहरु समेत समेटिएको छ । ‘यो नक्सा बमोजिम नै हाम्रा निसान छापहरु र सरकारी कामकाजमा प्रयोग गरिने नक्सा, पाठ्यपुस्तक र सार्वजनिक प्रयोगमा ल्याइने नक्सा अध्यावधिक हुनेछ, उनले भने।

नयाँ नक्सामा भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको छ। गत जेठ २ गते सरकारले पेश गरेको नीति तथा कार्यक्रममा पनि सरकारले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भू-भाग समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा  गरेको थियो।

तर सरकारले कूटनीतिक नोट पठायो र सीमा विवादबारे परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्न दुई पटक मिति प्रस्ताव गर्‍यो । नेपालले कूटनीतिक सम्वादबाट समस्या समाधान गर्ने बताएपनि भारतले सचिवस्तरीय संयन्त्रको बैठक टार्दै आएको छ । अहिले फेरि भारतले तिब्बतको मानसरोवर जान लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै बनाएको सडक उद्घाटन गर्‍यो । त्यसपछि फेरि दुई देशको सीमा विवाद सतहमा आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय