कैदीको चिन्तनमा सुधार ल्याउन शिक्षा, दीक्षा र मनोपरामर्श आवश्यक छ : गृहमन्त्री थापा
बुधबार, असार ३१, २०७७ मा प्रकाशित

काठमाडौं, असार ३१ : गृहमन्त्री रामबहादुर थापाले कारागारका लागि नयाँ संरचना विकास नगरी सुधार गृहमा परिणत गर्न नसकिने बताएका छन् ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा भएको कारागार सुधार तथा कैदी व्यवस्थापनसम्बन्धी छलफलमा उनले अपराध कार्यकै कारण जेल गएका हुनाले चिन्तनमा सुधार ल्याउन कैदीलाई शिक्षा, दीक्षा र मनोपरामर्श सेवाको आवश्यकता औँल्याए ।

उनले भने, “कैदीको व्यवस्थापन र चिन्तनमा सुधार ल्याउन उनीहरुलाई श्रमसँग जोड्न आवश्यक छ, देशको समृद्धिका लागि कैदीको पनि योगदान हुन सक्छ ।” कारगारसम्बन्धी विद्यमान कानूनी व्यवस्थाअनुसार भाइनाइके र चौकीदारबाट कैदी चरम शोषण र उत्पीडनमा परिरहेको बताउँदै उहाँले भन्नुभयो, “जेलभित्रै पनि ठूलो अपराध छ ।”

बैठकमा यसअघि समितिका सदस्यले कोभिड–१९ को जोखिम बढेकाले कारागारमा कैदीको चाप घटाउन र कैदीलाई मानवीय व्यवहार गर्न सुझाव दिए ।

मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि कारागारभित्र अझै एकतन्त्रीय शासन व्यवस्था विद्यमान रहेको बताउँदै सांसदहरुले जेलमा छुट्टै सत्ता भएकाले खुँखार अपराधीले अरूलाई पीडा र यातना दिइरहेकाले त्यो अवस्था अन्त्य हुनुपर्ने बताए ।

मुलुकमा सुशासन कायम भएमा जेलमा रहेको कैदीको चाप स्वतः घट्ने बताउँदै सदस्यहरुले भने,  “अपराध घटाउने कि  अपराधी घटाउने भन्ने अहिलेको प्रश्न हो ।”

कैदीलाई पालनपोषण र उपचार खर्च सरकारले भर्नुको साटो उसले पाउने पारिवारिक अंशबाट व्यहोर्नुपर्ने कानून आवश्यक छ भन्दै सांसदले कैदीले अपराधप्रति पश्चाताप गर्ने र व्यवहार सुधार गर्ने वातावरण बनाई दिनुपर्ने बताए ।

खुला कारागार र सुधार गृहको जति नै कुरा गरे पनि जेल अझै पनि सुधार गृह होइन, यातना गृहका रुपमा रहेको हुँदा नारालाई व्यवहारमै कार्यान्वयनको खाँचो उनीहरुले औंल्याए । – रासस

प्रतिक्रिया

सम्बन्धित खवर