आइसीसी विश्वकप लिग दुई : कुशल मल्लले बनाए डेब्युमै विश्व कीर्तिमान
शनिबार, माघ २५, २०७६ मा प्रकाशित

काठमाडौँ, माघ २५ : नेपालका कुशल मल्लले एकदिवसीय क्रिकेटमा डेब्युमै सबैभन्दा कम उमेरमा अर्धशतक बनाएर विश्व कीर्तिमान कायम गर्न सफल भएका छन ।

आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत अमेरिका विरुद्धको खेलमा आज उनले उक्त कीर्तिमान बनाउनुभएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका लागि छैटौँ नम्बरमा ब्याटिङ गर्न आउनुभएका बायाँ हाते अलराउण्डर कुशलले ५१ बल खेल्दै ५० रन बनाउनुभएको थियो । यस क्रममा उनले तीन छक्का र चार चौकासमेत प्रहार गरे । कुशलले १५ वर्ष ३४० दिनको उमेरमा विश्व कीर्तिमान बनाउनुभएको हो ।

यसअघि एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान नेपालकै रोहितकुमार पौडेलको नाममा थियो । रोहितले युनाइटेड अरब इमिरेटस् (युएई) विरुद्धको एकदिवसीय सिरिजमा उक्त कीर्तिमान बनाउनुभएको थियो । त्यो बेला उनी १६ वर्ष १४६ दिनको हुनुहुन्थ्यो ।

नेपाल संकटको घडीमा रहेको बेला कुशल ब्याटिङ गर्न आउनुभएको हो । त्यो बेला नेपालले पाँच विकेट गुमाएर मात्र ४९ रन बनाएको थियो । उनले विनोद भण्डारीसँग मिलेर नेपालको इनिङ सम्हाल्नुभएको थियो । कुशलले भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीको रेकर्डसमेत तोड्नुभएको छ । यसअघि सचिनले टेस्टमा १६ वर्ष २१३ दिन तथा अफ्रिदीले १६ वर्ष २१७ दिनको हुँदा अर्धशतक प्रहार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय