भाषा एवं संस्कृतिको जर्गेनामा जोड
बुधबार, माघ २९, २०७६ मा प्रकाशित

पोखरा, माघ २९ : गण्डकी प्रदेशसभाको आजको बैठकमा सदस्यहरूले मौलिक भाषा एवं संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिएका छन् ।

बैठकमा गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा सदस्यहरूले गण्डकी प्रदेश भाषा, कला एवं संस्कृतिका हरेका पक्षमा सम्पन्न भएको बताउँदै यसको संरक्षण हुनुपर्ने बताए ।

प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले सभामा सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरेका विधेयक सम्बन्धमा सदस्यहरूले भाषा, कला, संस्कृतिको जगेर्ना गर्दै यसको मौलिकतालाई कायम राख्न विधेयक बहुउपयोगी बन्ने विश्वास व्यक्त गरे ।

प्रदेशसभा सदस्य प्रभा कोइरालाले भाषा संस्कृति हामीहरूको अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै प्रस्तावित विधेयकले यसको लागि महत्वपूर्ण योगदान गर्ने बताए । खोज र अनुसन्धानका लागिसमेत विधेयकले मार्ग प्रसस्त गरेको चर्चा गर्दै उनले यसको सफल कार्यान्वय हुनुपर्नेमा जोड दिए ।

अर्का सदस्य सरिता गुरुङले प्रत्येक भाषा संस्कृति मानव सभ्यताको सूचक भएको उल्लेख गर्दै गण्डकी प्रदेशमा मात्र २३ भाषाभाषी रहेका स्पष्ट पार्नुभयो । लोपोन्मुख कुसुण्डा जाति तनहुँ र नवलपुर मात्रै रहेका बताउँदै उनले विधेयकले यस्ता जातजाति एवं भाषाभाषीको संरक्षणमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

प्रदेशसभा सदस्य पियारी थापाले मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धनमा विधेयक कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । अर्का सदस्य चन्द्रबहादुर बुढाले विधेयक राज्यले लिएको समृद्धि र विकासको लक्ष्य पूरा गर्न सहयोगी बन्ने उल्लेख गरे ।

बैठकको विशेष समयमा प्रदेशसभा सदस्य मीना गुरुङले सञ्चारमाध्यमलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक कानून निर्माणमा ढिलाइ भएको धारणा राख्नुभयो । अर्का सदस्य विन्दुकुमार थापाले कोरोना भाइरसका कारण पर्यटनलगायतका क्षेत्रमा प्रभाव परेको बताउँदै यसको प्रभावबाट बच्न बेलैमा ध्यान पु¥याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रदेशसभा सदस्य राजीव पहारीले वर्तमान सरकार देशमा भ्रष्टाचार न्यूनीकरण गराउँदै सुशासन कायम गराउन क्रियाशील रहेको बताए । प्रदेशसभाको अर्को बैठक आगामी फागुन ५ गते दिनको १:०० बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय