उपचारका लागि भारत जानुअघि झलनाथको अपिल : अहंकार त्यागेर पार्टी फुटबाट जोगाऔं
बुधबार, असार ०२, २०७८ मा प्रकाशित

काठमाडौं, असार २ । स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली जाने तयारीमा रहेका नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता जोगाउन अपिल गरेका छन् ।

 

‘एकता सफलताको बाटो हो भने फुट विनासको । त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टी वैधानिक प्रक्रियाअन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आहृवान गर्न चाहन्छु,’ बुधबार दिउँसो वक्तव्य जारी गर्दै उनले भनेका छन् ।

 

वरिष्ठ नेता खनालले देशको विथोलिएको राजनीति अवस्थाले आफूलाई चिन्तित बनाएकोले देशको समस्या समाधानका लागि एकजुट हुन सबै दल र नेतालाई आहृवानसमेत गरेका छन् ।

 

वक्तव्यमा भनिएको छ, ‘देशका प्रमुख दलहरु र तिनका नेताहरुबीचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनुपर्छ । सबै एकजुट भएर मुलुकका मुलभूत समस्याहरु हल गर्नु पर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहन्छु ।’

स्वास्थ्यमा समस्या देखिएपछि नेता खनाल सोमबार मात्रै थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएका थिए ।

खनाल थप उपचारका लागि आज भारतको नयाँ दिल्ली जाँदैछन् ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय