आपसी विवादमा झापामा घाँटी कसेर साथीको हत्या, आरोपी पक्राउ
बिहिबार, असार ०३, २०७८ मा प्रकाशित

झापाको मेचीनगरमा एक जनाको हत्या भएको छ। बुधबार राति साढे ८ बजे मेचीनगर-५ इँटाभट्टा अधेरी टोलका ४० वर्षीय भीमराज राईको हत्या भएको हो।

उनको शव मुखबाट रगत आइरहेको अवस्थामा फेला परेको थियो। उनको घाँटीमा खुट्टा मर्किँदा बाँध्ने कपडा कसिएको थियो।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई राति नै पक्राउ गरेको छ।

मेचीनगर-५ कै ५६ वर्षीय सुकराज लिम्बुलाई नियन्त्रणमा लिइएको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए।

आपसी झगडाका कारण उनले खुट्टा मर्किँदा बाँधिने कपडाले बाँधेर घटना गराएको उनले बताएका छन्।

घटनास्थल सीमा प्रहरी चौकी नकलबन्दाबाट अढाइ किलोमिटर पश्चिम पर्छ। घटनालगत्तै सीमा प्रहरी चौकी, इलाका प्रहरी कार्यालय काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालयबाट एसपी भट्टराई आफैं पुगेका थिए।

‘घटना गराउने व्यक्ति खोजीको सिलसिलामा राति नै पक्राउ गर्न सकिएको छ,’ भट्टराईले भने।

मृतकको शव पोष्टमार्टमका लागि मेची अस्पताल पठाइएको छ।

यस्तै, लाइफलाइन अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान दमकमा अध्ययनरत् विद्यार्थी स्रेजल कोइरालाको हत्यामा संलग्न एकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले दमक-६ रातोपुल बस्नेत २८ वर्षीय अरूण राईद्याई पक्राउ गरेको हो।

इलाम देउमाई नगरपालिका-४ मंगलबारे घर भई दमक डेरा गरेर बस्ने १९ वर्षीया स्रेजल कोइरालाको जेठ २६ गते बेलुका हत्या भएको थियो।

रेडियोग्राफी तेस्रो वर्षमा अध्ययनरत् उनको दमक-५ स्थित कोठामै हत्या गरिएको थियो।

कोइरालाको घाँटी, चिउँडोमुनि निलडाम देखिएको थियो।

पक्राउ परेका राईसहितले कोइरालालाई घाइते अवस्थामा लाइफलाइन अस्पताल पुर्‍याएका थिए।

अनुसन्धानको घेरामा राई नै परेपछि उनलाई पक्राउ गरी बुधबार झापा अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान थालिएको प्रहरी उपरीक्षक भट्टराईले बताए। सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय