चुरेको संरक्षण
शनिबार, असार २६, २०७८ मा प्रकाशित

डिलप्रकाश गौतम

समुन्द्री सतहबाट १ सय २० देखि १ हजार ९ सय ७२ मिटर सम्मको उचाई कायम भएको भूभागलाई चुरे भनिन्छ । नेपालको सन्दर्भमा हामीले हेर्ने हो भने पूर्व ईलाम देखि पश्चिम कञ्चनपुर सम्म ३७ जिल्लामा चुरे क्षेत्र पर्दछ । नेपालको कुल भू भागको १२ दशमलव ७८ प्रतिशत चुरे क्षेत्रले ओगटेको छ । हामीले सरल भाषामा कान्छो पहाडको रुपमा चुरे क्षेत्रलाई बुझ्न सक्छौं ।

पूर्ण रुपमा नखाँदिएको खुकुलो चट्टान, बलौंटे पाँगो गिट्टी तथा गेगरबाट बनेको कमलो पहाड हो चुरे श्रृंखला । चुरे भन्दा माथिल्लो पहाड महाभारत पर्वतबाट उत्पति भएका नदीहरु पनि चुरे क्षेत्र हुँदै तराई मधेश तर्फ बग्ने गर्दछन् । चुरे र तराई मधेशको सम्बन्ध अन्योन्याश्रित रुपले गाँसिएको हुन्छ । चुरे क्षेत्रबाट बगेर आउने मलिलो जलस्रोतले तराई मधेशको कृषि क्षेत्रलाई ठूलो टेवा पुगिरहेको छ । तर पछिल्लो समय चुरे क्षेत्रमा भएको विनाशले प्राकृतिक प्रकोपका घट्नाहरु समेत हुन थालेका छन् । तिब्र बन विनास र चुरे क्षेत्रमा रहेको प्राकृतिक स्रोतको अत्याधिक दोहन तथा उत्खननको प्रभाव चुरे भावर देखि तराई सम्म नै परिरहेको छ ।

बर्षायाममा बाढी, पहिलो जाने, नदि कटान तथा भूक्षय हुने जस्ता प्राकृतिक प्रकोपको कारण चुरे क्षेत्रको ढुंगा, गिट्टी, बालुला तराई मधेशमा थुप्रिन्छ । हिउदमा भूमिगत पानीको सतह घट्छ र पानीका मुलहरु समेत सुक्दछन । जसका कारण तराई क्षेत्रमा सिचाई सुविधा पुग्दैन र कृषि उत्पादनमा क्रमिक ह्रास आउँदै जान्छ । अन्त्यमा कृषिको उर्वर भूमि मरुभूमिमा परिणत हुने खतरा बढ्दै जान्छ । त्यसैले चुरे अत्यन्त्र सम्वेदनशिल क्षेत्र मानिन्छ ।

चुरे क्षेत्रको संवेदनशिलतालाई मध्यनजर गर्दै यस क्षेत्रको प्राकृतिक स्रोत संरक्षण, दिगो ब्यवस्थापन र पारिस्थितीकिय प्रणालीको सम्रक्षण र सम्बद्र्धन गर्न नेपाल सरकारले २०७१ असार २ गते राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति गठन गर्यो । हाल सो समिति चुरे भावर तथा तराई मधेश क्षेत्रको स्रोत संरक्षण र ब्यवस्थापनलाई प्रभावकारी बनाउन गुरुयोजना सहित अघि बढिरहेको छ ।

पश्चिमका जिल्लामा चुरेको संरक्षण

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले २०७६ भदौ १८ गते सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित लम्कीमा कार्यक्रम कार्यान्वयन इकाई स्थापना गरी पश्चिमका डोटी, डडेलधुरा, कञ्चनपुर, कैलाली, बर्दिया, बाँके हुदै सुर्खेत गरी ७ वटा जिल्लामा २० बर्षे गुरु योजना अनुसार काम गर्दै आएको छ ।

पहिलो चरण अनुसार ५ बर्ष भित्र ७ वटा जिल्लाका १५ वटा नदी प्रणालीमा नदि किनारा स्तरीकरण र गल्छी पहिलो रोकथाम, संरक्षण, पोखरी निर्माण, नर्सरी ब्यवस्थापन र तारबार सहितको बृक्षारोपणका कामहरु गर्दै आएको छ ।
सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका वडा नं. ५ स्थित रामजानकी सामुदायिक वन क्षेत्रमा चुरे संरक्षणका गतिविधि संचालन भएका छन् । यस क्षेत्रमा गल्छी पहिलो खहरे रोकथामका लागि करिव ७ सय मिटर आँपखोली च्यानखोली तटबन्ध गरिएको छ । जसबाट १ सय ८३ घरपरिवारलाई सुरक्षित बनाइएको छ ।

त्यसैगरी खोर्के खार्खौली खोलामा समेत तटबन्ध निर्माणको योजनालाई अगाडी बढाइएको छ । सामुदायिक वनमा स्थानीयलाई आयआर्जन तर्फ जोड्न टिमुर खेतिको कार्यक्रममा समेत कार्यालयले सहयोग गरेको छ । रामजानकी सामुदायिक वनको सुरक्षाका लागि बन क्षेत्रमा तारबार गर्ने योजना अनुसार चालु आर्थिक बर्षमा करिव १ किलोमिटर काँडेतारबार गरिएको छ ।

सामुदायिक वनमा चुरे संरक्षण कार्यक्रम लागु भएपछि तल्लो तटिय क्षेत्रमा रहेको बस्ती समेत जोगिएको छ । बर्षेनी चुरेबाट आउने भेलले यहाँको यो बस्ती नै जोखिममा रहेको थियो । अहिले खोलामा तटबन्ध गरेपछि स्थानीय सुरक्षित भएको महशुस गरेका छन् ।

त्यसैगरी बिरेन्द्रनगरकै वडा नंं ७ स्थित इत्राम खोलाले गर्ने कटान र डुवानको समस्या समाधान गर्न राष्ट्रपति चुरे संरक्षण कार्यालय कैलालीले तटबन्ध निर्माणको काम गरेको छ ।

कार्यालयले चुरे क्षेत्रमा हुन सक्ने भुक्षय रोकथामका लागि चुरेको पानीलाई एक ठाउँमा पोखरी निर्माण गरेर जम्मा गरी सिचाईको रुपमा प्रयोग गर्ने गरी बिभिन्न योजनाहरु समेत अगाडी सारेको छ । सोही योजना अनुसार बिरेन्द्रनगर नगरपालिका वडा नं. ११ को सालघारीमा पोखरी निर्माण गरिएको छ । बिरेन्द्रनगरकै भुरेली खोलालाई ब्यवस्थापन गर्ने गरी राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले खोलामा समेत तटबन्ध गर्दै आएको छ ।

बर्दिया जिल्लामा पनि चुरे संरक्षणका गतिविधिहरु संचालित रहेका छन् । बाँसगढी नगरपालिका वडा नं. ३ स्थित डुडुवा मानखोला तटबन्ध र हरियाली प्रबद्र्धन योजना संचालित रहेको छ । यस योजना अनुसार १ सय ९० मिटर तटबन्ध निर्माण गरिएको छ भने हरियाली प्रबद्र्धन कार्यक्रम अन्तर्गत तारबार गरी बृक्षारोपण गरिएको छ ।

त्यसैगरी बर्दिया जिल्लाकै संरक्षित क्षेत्रसंग जोडिएको बारबर्दिया नगरपालिका वडा नं. ९ को ढकेला गाउँलाई जोगाउन भादा नदिमा जोखिममा २ स्थानमा १ सय ५० मिटर तटबन्ध गरिएको छ ।

विशेषगरी नदी तथा खोला ब्यवस्थापनमा चुरे संरक्षण कार्यक्रम बढी केन्द्रित भएको देखिन्छ । कैलाली जिल्लामा समेत नदी ब्यवस्थापनका योजनाहरु अगाडी सारिएको छ । घोडाघोडी नगरपालिका वडा नं. ४ स्थित जनकपुर गाउँ र विद्यालयको संरक्षण गर्न ३ सय ६० मिटर तटबन्ध गर्ने योजना अगाडी सारिएको छ ।

त्यस्तै घोडाघोडी ५ स्थित कन्द्रा नदीले बर्षेनी गर्ने कटान र डुवानको समस्यालाई मध्यनजर गरी चुरे संरक्षण कार्यालयले सामुदायिक वन क्षेत्र भित्र २ वटा स्पर सहित १ सय २५ मिटर तटबन्ध निर्माण गरेको छ । यस तटबन्ध निर्माणले सामुदायिक वन क्षेत्र भित्र कटान रोकथाम गर्ने छ भने गाउँ बस्ती डुवान रोक्ने आशा स्थानीयले गरेका छन् ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले निश्चित केन्द्रविन्दुमा संरक्षणका कार्यहरु गर्दछ भने कहिले काँही माथिल्लो निकायबाट तोकि आएको कार्यक्रमहरु समेत संचालन गर्ने गर्दछ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले चुरेको संरक्षणका लागि २० बर्षे गुरु योजना बनाएको छ ।

सोही योजना अनुसार पाँच बर्ष भित्र के के काम गर्ने भन्ने उल्लेख छ । सोही योजना अनुसार नेपालका सबै नदी प्रणालीको सर्भे गरिएको छ र सोही सर्भे अनुसार जिपिएस लोकेशन प्वाइन्ट निर्धारण गरिएको छ । सोही लोकेशन प्लाईन्टमा कार्यान्वयन ईकाइ कार्यालयले चुरे संरक्षणका गतिविधिहरु अगाडी बढाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर