निभ्दै गरेको आस्थाको दियोः ढल्दै गरेको आस्थाको धरोहर
आइतबार, असार २७, २०७८ मा प्रकाशित

रमेश थापा

म केहि दिनको छोटो बसाईका लागि बर्दिया पुगेको थिएँ । एकाबिहानै स्याङ्गजाबाट दाइ बल बहादुर थापाको फोन आयो । म उमेरले सानो भएता पनि दाइले कुनै निर्णय गर्नुपर्दा प्रायः मसंग सरसल्लाह लिनेगर्नुहुन्छ । सञ्चो बिसञ्चो आदानप्रदान पछि दाइले आँफु हाल आवद्ध रहेको पार्टी छोड्ने बिचार व्यक्त गर्नु भयो । दाइ २०५८ साल देखि नेकपा माओबादी पार्टीमा आवद्ध हुनुहुन्थ्यो ।

पार्टीको काममा सधैं इमान्दारीतापूर्वक सकृय भएर काम गर्ने मान्छे एकाएक किन पार्टी छोड्ने निर्णयमा पुग्नु भयो भनी मैले जिज्ञासा राखें । दाइको निकै निरासाजनक जवाफ थियो । भूमिगत कालमा त्यतिबेला बाहिरबाट आई कार्यक्षेत्र बनाएर काम गरेका नेता, कार्यकर्ताको बोली, व्यवहार, लगनशिलता र इमान्दारीताबाट प्रभावित भएर पार्टीमा आवद्ध भइयो । त्यतिबेला  संगठित भएर संगै काम गरेका सहयोद्धा सहकर्मीहरुको वास्तविक नाम सम्म पनि थाहा थिएन । भूमिगत नामबाट परिचित भइयो, त्यहि नामले शम्बोधन गरियो । पार्टी खुला राजनीतिमा आइसकेपछि त्यतिबेलाका सहयोद्धा सहकर्मीहरु को कहाँ पुगे थाहा पनि भएन ।

त्यसपछि उनीहरु सम्पर्कमा पनि आएनन, उनीहरुको हैशियत र अवस्थाका बारेमा पनि जानकारी भएन । भूमिगत कालमै संगठित स्थानीय साथीहरु मिलेर पार्टीसंग सम्पर्क बनाएर हालसम्म सोही पार्टीमा आवद्ध रहँदै आइयो । यहाँसम्म आइपुग्दा व्यहोर्नु परेका बाधा, ब्यवधान, अप्ठ्यरा र असहज परिस्थितिको सामना आफ्नै बल र बर्कतले गरियो । शोषित, पीडित जनताको मुहार उज्यालो बनाउने सुन्दर सपना बोकेर हँसिया हथौडा अंकित झण्डामुनि गोलबन्द भएको ठ्याक्कै दुइदशक बित्यो । यो अवधिमा जे हुनुपर्थ्यो त्यो भएन जे जे नहुनुपर्थ्यो त्यहि हुँदै गयो । जसको फलस्वरुप जनताबाट टाढिंदै गएर एक्लिने र निरिह बन्नु पर्ने अवस्था आयो । यस्तो बेलामा आफ्ना परिवार भित्र सरसल्लाह गरौं, बिचार आदान प्रदान गरौं भने पनि कोहि छैन । सबै भाइहरुले छोडेर गयौ, म त एक्लो परें । त्यसैले तिमीलाई फोन गरेको हुँ भन्नु भयो ।

दाइको कुरा सुन्दा मलाई निकै नरमाईलो महशुस भयो । मैले दाइलाई भनें, म पार्टीको कुनै कमिटि र जिम्मेवारीमा छैन । तर मेरो अनुभूति के रहेको छ भने नेता र राजनीतिक पार्टीले सिधासाधा कार्यकर्ता उपर “चुइङ्गम सिद्धान्त” अंगिकार गर्ने गरेका छन । मानिसहरु चुइङ्गमलाई गुलियो आउने बेलासम्म चुसिरहन्छन, गुलियो आउन छोडेपछि केहिबेरसम्म जिब्रोमा बेर्दै फुकेर बेलुन बनाउदै पड्काउँदै गर्छन । त्यो रहर पनि पुगेपछि फुत्त थुकेर फालिदिन्छन ।

त्यस्तै नेता र पार्टीले पनि आफ्नो काम लिनका लागि कार्यकर्ताको अधिकतम प्रयोग गर्ने र आफ्नो मतलब पुरा भएपछि बेवास्ता गर्ने गरेकोले कार्यकर्तामा ब्यापक निरासा छाएको छ । कतिपय स्थानीय टाठाबाठा र जिल्ला स्तरका नेताहरुमा कार्यकर्ताको माथिल्लो तहका नेतासंग सोझै सम्पर्क नहोस, उ सधैं आफ्नो माताहतमा चलोस भन्ने स्वार्थी भावना पनि देखिन्छ । हुनत मेरो ठूलाबडा नेताहरुसंग खासै त्यस्तो नजिकको सम्पर्क सम्बन्ध रहेन तर पनि जति जनासंग म जोडिन पुगें प्रायः सबैमा एउटै गुण पाएँ । त्यो गुँण भनेको “आफ्नो हितमा उपयोग गर्ने र आफ्नो मतलब पुरा भएपछि लात मार्ने प्रबृर्ति ” अर्थात “चुइङ्गम सिद्धान्त” हो ।

आजकल कतिपय आफुलाई ठूलै नेता बताउँदै आएका ब्यक्तिहरु पनि दुइ महिने चार महिने मन्त्री पद खानका लागि आफ्नो नीति, बिचार, सिद्धान्तको खोल फालेर नाङ्गै भएको हामीले देखेकै छौं । यस्तो निच बिचार र संस्कार बोकेका नेताको पछि लागेर आफ्नो स्वाभिमान डग्न नदिनु बुद्धिमानी निर्णय नै हो । ऐलेको राजनीतिमा नढाँट्ने, झुठो आश्वासन नदिने, मौका मिल्दा चौका नहान्ने, आफ्नो स्वार्थका लागि खुट्टा समाउने अनि आफ्नो मतलब पुरा भएपछि लात नमार्ने, पद प्रतिष्ठा प्राप्त गरिसकेपछि टाढिंदै गएर नचिने जस्तो व्यवहार नगर्ने, धन दौलतले पुरिने गरी सम्पत्ति थुपार्ने तर एकछाक भातको पैसा पनि आफ्नो खल्तिबाट तिर्नु पर्दा दाँतबाट पसिना ननिकाल्ने नेता पाउन त मुस्किलै छ ।  यस्ता नेताको झोले कार्यकर्ता बनेर दुनियाका नजरमा छि छि दुर्दुर भएर हिंड्नु मुर्खता नै हो ।

त्यसमा पनि धनि नेता भएको गरिब पार्टीमा त झन पार्टीको आन्दोलन, बिरोध शभा, अधिवेशन, कार्यकर्ता भेला, चुनाव आदिमा एकपटक होइन पटक पटक कार्यकर्ताले नै आर्थीक सहयोग जुटाइदिनुपर्ने अचम्मको जिम्मेवारी पुरा गर्नुपर्ने हुन्छ । जो बिगत देखि नै भोग्दै आइयो । यस्तै खालका आफ्नै बोझले थिचिएर सिथिल बनेका कार्यकर्ता मध्येका एक हाम्रो दाइको निर्णय अनपेक्षित तर बाध्यात्मक भएको मेरो बिश्लेषण रह्यो । तसर्थ आफुलाई कम्फर्टेबल नभै नभै बलजफ्ति पार्टीमा टाँसिएर बस्दा आँफुलाई हिनताबोध महशुस भएको छ भने अलग भएर बस्नु नै मुनाशिव हुने सुझाव दिएँ ।

दाइसंग कुरा हुँदै गर्दा दाइको आफुलाइ एक्लो महशुस भएको कुराले मेरो मन अलि बेचैन पनि भयो । हुन पनि हाम्रो पुर्ख्यौली थलोबाट हामीहरु बिस्तारै हराउँदै गएका छौं । हाम्रो परिवारमा हाम्रो पुस्ताका दाजुभाइ मध्ये सबै भन्दा जेठा धर्म बहादुर र वहाँपछिका भीम बहादुर थापाको निधन पछि जीवित मध्ये सबै भन्दा पाको बल बहादुर थापा हुनुहुन्छ । उमेरको कुरा गर्दा नवराज थापा सबै भन्दा पाको भएता पनि उनी हाम्रो दाइ धर्म बहादुर थापाको छोरा अर्थात हाम्रो भतिजा भएकोले हामी भन्दा पछिल्लो पुस्तामा गनिन्छन ।

दाइ बल बहादुर थापा स्याङ्गजामा बस्नुहुन्छ । म बर्दिया तिर बस्दछु । हाम्रा पुर्खा काजी दशरथ (पुवार) थापा लम्जुङ्गबाट आएर  स्याङ्गजाको रंगुवा अज्घन (हाल आँधीखोला गाऊँपालिका वडा नं.५ मा पर्ने) मा बशोवास गर्नुभएको रहेछ । वहाँले टारी खेत, गैरी खेत र ढाँड खेत गरी तीन ठाऊँ र पाखाबारी तर्फ अज्घन र गहतेमा जग्गा कायम गर्नु भएको रहेछ । हाम्रो हजुरबा गम्बरसिंह थापाले गहतेको जग्गा अठार बीसमा बिक्री गरी नौ बिसमा लाँकुरी सालघारीको पाखोबारी खरबारी खरीद गरेर घरबास उतै सार्नु भएको रहेछ ।

हाम्रो जेठाबा राजमान थापा र माईलाबा कुल बहादुर थापा अज्घनमा नै जन्मिनु भएको रहेछ । हाम्रो बा शेर बहादुर, दाइ भीम बहादुर, दिदीहरु बाटुली, कान्छी र मैया ( जेठाबाका छोरा छोरी) दाइ बल बहादुर (माईलाबाको छोरा) म र भाइ नबिन लाँकुरी सालघारीको गोलो घरमा जन्मिएका हौं । म भन्दा माथीको दाइ हुम बहादुर भारतको कलकत्तामा जन्मिनुभएको हो ।

बाहरुको पुस्ता (छैठौं पुस्ता) सम्म हाम्रो परिवारको बशोवास स्याङ्गजामा नै थियो । तर हाम्रो पुस्ता (सातौं पुस्ता) पछि हाम्रो परिवार छिन्न भिन्न भएर छिरलिएको छ । हाम्रो पुस्ताका बल बहादुर दाइ स्याङ्गजामा, हुम बहादुर दाइ दिल्लीमा, उदय दाइ बेलायतमा, म र रामजी बर्दियातिर अनि नबिन भाइ काठमाण्डौमा छरिएका छौं । केहि समय अगाडी दाइ बेद बहादुर थापाको असामयिक निधन पछि बल बहादुर दाइ एक्लो नै हुनुहुनुभएको छ स्याङ्गजामा ।

बिगत देखि नै हाम्रो परिवारको (थापा परिवार) सक्रिय राजनीतिमा संलग्नता देखिंदैन । दाइ धर्म बहादुर थापा एकपटक वडासदस्य र दाइ उदय थापा गा.बि.स.को उपाध्यक्ष सम्म हुनुभएको थियो । आफु सक्रिय राजनीतिमा कृयाशिल नभएता पनि कुनै न कुनै पार्टीप्रति आस्था रहनेनै रहेछ । यसै अनुसार हाम्रो परिवारका सदस्यहरु आ-आफ्नो आस्था अनुसारको पार्टीमा आवद्ध रहेका थियौं । जीवनका अनेकौं आरोह अवरोह संगै दाइ बल बहादुर थापा नेकपा माओबादीमा आवद्ध हुन पुग्नु भयो ।

आफ्नो ज्यान अनि शिक्षक जागिर समेतलाई जोखिममा राखेर जनयुध्दकालमा वहाँ क्रान्तीमा होमिनु भयो । नेकपा माओबादीको काठमाण्डौ केन्द्रित आन्दोलनका क्रममा दश दिनसम्म भोकै प्यासै काठमाण्डौका सडक तताउनु भएको थियो । त्यसपछि पनि पार्टीको आह्वानमा हुने हरेक गतिबिधिमा दाइको सकृयतामा कुनै कमि आएको थिएन । करीब दुइ दशकसम्म निरन्तर आँफैले  जलाईरहेको आस्थाको दियो निभाउँदै यति लामो र गहिरो मित्रता गाँसिएको आस्थाको धरोहर हँसिया हथौडा अंकित झण्डासंग नाता तोड्नुपर्दाको क्षण अवश्य पनि दुखःद र पीडादायि रह्यो होला नै ।

भौतिक रुपमा टाढा भए पनि दाइका हरेक पाइलाहरुमा मेरो साथ रहने प्रतिवद्धता सहित भावि जीवनको यात्रा सफल र सुखद रहोस भन्ने शुभकामना ब्यक्त गर्नु मैले आफ्नो कर्तब्य सम्झेको छु । नेताहरुमा ब्याप्त खोला तरेपछि लौरो त्यहि खोलामा बगाइदिने प्रबृर्ति र “चुइङ्गम” सिद्धान्तका कारण “निभ्दै गरेको आस्थाको दियोः ढल्दै गरेको आस्थाको धरोहर” हेरेर मन दुखाउने र चित्त बुझाउने बाहेक अरु के नै गर्न सकिएला र ?(लेखक थापा बर्दिया राष्ट्रिय निकुञ्जका पुर्व वार्डेन हुन् ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय