बर्दियामा मान्छे खान पल्केको पहिलो बाघ नियन्त्रणको कथाः

साउन १४, २०७८

फरकसमाचार


रमेश थापा

आज जुलाई २९ तारिख अन्तराष्ट्रिय बाघ दिवस । सन् २०१० मा रशियाको सेन्टपिटर्सवर्गमा बाघ पाइने १३ वटा देशका सरकार प्रमुखहरुको सम्मेलनले जुलाई २९ तारीखलाई अन्तराष्ट्रिय बाघ दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । उक्त सम्मेलनमा नेपालका तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालले प्रतिनिधित्व गरी सन् २०२२ सम्म बाघको संख्या दोब्बर पुर्याउने अन्तराष्ट्रिय प्रतिबध्दतामा ऐक्यबद्धता जाहेर गर्नु भएको थियो । त्यस यता यसदिनलाई संसारभर बिभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गरिएको छ ।

नेपालमा पनि यस बर्ष विशेष कार्यक्रमको आयोजना गरी अन्तराष्ट्रिय बाघ दिवस मनाउने कार्यक्रम रहेको छ । नेपालले अन्तराष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धता अनुसार सन् २०२२ सम्म बाघको संख्या दोब्बर गर्नका लागि बाघको वासस्थान तथा आहारा प्रजाति व्यवस्थापन, चोरीशिकार नियन्त्रण, मानव-बाघ द्वन्द न्युनिकरण र बाघ सम्बन्धी अध्ययन अनुसन्धान जस्ता कृयाकलाप प्रभावकारी रुपमा संचालन गर्दै आएको छ । जसको फलस्वरुप सन् २०१८ मा भएको गणनाबाट बाघको संख्या सन्तोषजनक रुपमा बृद्दि भै र सन् २०२२ सम्म दोब्बर हुने सुनिश्चित भएको छ । बाघको संख्या बढेसंगै मानव बाघ द्वन्द पनि बढेको छ ।

मानव-बाघ द्वन्दबाट सबै भन्दा बढी प्रभावित बर्दिया रहेको छ । बिगत एक बर्षको अवधिमा बर्दियामा बाघको आक्रमणमा परी १३ जना मानिसको ज्यान गएको दुखःद अवस्था छ ।

यहि पृष्ठभूमिमा बर्दियामा मान्छे खाने पहिलो बाघ नियन्त्रणमा लिंदाका बखतको सानो घटनाक्रमलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु । यो घटनाक्रम लेखनका क्रममा सहयोग गर्ने बर्दिया जिल्ला बारबर्दिया नगरपालिका वडा नं. ७ रम्भापुर गाऊँका वासिन्दा पृय मित्र पतिराम चौधरीलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । घटनाक्रम यसरी अगाडी बढ्छः
कुरा २०५० सालको हो । म राराबाट सरुवा भएर बर्दिया आएको करिब एक बर्ष भएको थियो ।

मेरो दरबन्दि हेडक्वार्टर ठाकुरद्वारामा थियो । रम्भापुर पोष्टमा रेञ्जर झौलाई चौधरी हुनुहुन्थ्यो । मिति २०५०।०९।२० गते अपरान्ह रम्भापुर पोष्ट भन्दा करिब दुई कि.मि. पश्चिम ठेनीखोला क्षेत्रमा राजमार्गको दक्षीणतर्फ बाख्रा चराइरहेको अवस्थामा सिउनीया गाऊँका करिब १२ बर्षिय बालक जुठे थापालाई बाघले आक्रमण गरेर घिसार्दै निकुञ्ज भित्र लगेछ ।

बाख्रा चराउन गएका अरु साथीहरुले खबर गरेपछि निकुञ्जको टोली र गाऊँले मिलेर खोजतसव गर्दा लगभग पुरै मासु खाइसकेको अवस्थामा बालकको सव फेला पर्यो । त्यसको पाँच दिनपछि मिति २०५०।०९।२५ गते साँझपख निकुञ्ज भित्र घाँस काट्न गएको अवस्थामा रम्भापुर गाऊँकी गगनसरी खड्कालाई बाघले आक्रमण गरी घिसारेर लगेको अरु साथीहरुले देखेछन ।

खोजतलास गर्ने क्रममा बाघले केहि मासु खाइसकेको अवस्थामा सव फेला पर्यो । यसरी बाघले मानिसलाई आक्रमण गरेर मार्न थालेपछि बाघ नियन्त्रणका लागि पौष २६ गते हेडक्वार्टरबाट हात्ती सहितको टोली रम्भापुर पठाइएको थियो । साँझपख रम्भापुर पुगेको हात्तीसारे टोली र रेञ्जर झौलाई चौधरी बीच बिवाद सृजना भएछ । झौलाई चौधरीले फलामको भाला हातमा लिएर नचाउन थाल्नुभएछ हात्तीसारेहरु डराएर राती नै हात्ती सहित फर्केर हेडक्वार्टर ठाकुरद्वारा पुगे ।

बर्दियामा श्याम बजिमय सर चिफ वार्डेन हुनुहुन्थ्यो । वहाँले के भएको हो बुझ्ने र हात्ती तथा हात्तीसार कर्मचारीका लागि बस्ने ब्यवस्था गर्नु भनी मलाई खटाउनु भयो । मैले हात्तीसारे साथीहरुलाई खाना खाएर आउँदैगर्नु म पहिला गएर सबै तारतम्य मिलाउँछु भनेर साइकिल चढेर रम्भापुर तिर लागें ।

म रम्भापुर पुग्दा झौलाई चौधरी सुतिरहनु भएको थियो । मैले वहाँलाई बाहिर बोलाएँ तर वहाँ त हिंडडुल गर्नै नसक्ने अवस्थामा हुनुहुँदोरहेछ । वहाँलाई उचालेर बाहिर ल्यायौं । दायाँ खुट्टाको घाउबाट पानी बगिराखेको र सुन्निएको रहेछ । हात्तीसारेलाई तर्साउन खोज्दा तिखो भाला आफ्नै खुट्टामा बजारिन पुगेर ठुलो घाउ भएको रहेछ ।

आर्मीको सेट मार्फत खबर गरी ठाकुरद्वाराबाट गाडी मगाएर झौलाईजीलाई नेपालगञ्ज लगी उपचार गराएर रम्भापुरमा छोडी म ठाकुरद्वारा गएँ । ठाकुरद्वारामा समस्याग्रस्त बाघको पहिचान गरी जतिसक्दो चाँडो नियन्त्रण गर्ने निर्णय भयो ।

सो कामका लागि निकुञ्जबाट मलाई र तत्कालीन श्री ५ महेन्द्र प्रकृति संरक्षण कोष (हालको राष्ट्रिय प्रकृति संरक्षण कोष) बर्दिया संरक्षण कार्यक्रमबाट वन्यजन्तु प्राविधिक मान बहादुर लामालाई खटाइयो । मान बहादुर लामा अत्यन्त दक्ष वन्यजन्तु प्राविधिक हुनुहुन्थ्यो । हामी बाघलाई बेहोस बनाउने औषधि र डार्टगन सहित रम्भापुर पुग्यौं र त्यहाँबाट झौलाइजीलाई हेडक्वार्टर पठायौं ।

हामी रम्भापुर पुगेपछि बिहान देखि साँझसम्म त्यो इलाकामा बाघको पाइला खोज्ने र निकुञ्ज भित्र पस्न खोज्ने मान्छेलाई रोकेर फिर्ता गर्ने हाम्रो नियमित काम हुन्थ्यो । त्यतिबेला ऐले जस्तो धेरै बाघ थिएनन । पानीको नजिक, बालुवा र धुलो माटोमा मात्र बाघका पाइला भेटिन्थे । बाघ पहिचान गर्नका लागि पाइलाको साइज नाप्ने बाहेक अरु कुनै प्रबिधि थिएन । आजकल जस्तो क्यामरा ट्रयाप पनि थिएन । पाईला नाप्ने र बिश्लेषण गर्ने क्रममा हामीले एउटा बाघको पाइला संकास्पद पाएका थियौं ।

दायाँतर्फको पैताला र औंला केहि अष्पष्ट देखिन्थ्यो । तर त्यो पाइला पूर्वमा पथरिया खोला देखि पश्चिममा कर्णाली नदीसम्म ठाउँठाउँमा भेटिएको थियो । यस्ले गर्दा एउटै बाघ हो या फरक फरक बाघ हो यकिन गर्न धेरै समस्या भैरहेको थियो । समस्याग्रस्त बाघको पहिचान गर्न सजिलो होस भन्ने उद्देश्यले गाऊँ नजिक जंगलमा पाडो बाँध्ने निर्णय गरियो । त्यतिबेला कर्णाली चिसापानी पुल निर्माणको काम हुँदै थियो । त्यहाँ काम गर्ने एकजना नागामात्सु नाम गरेका जापानी उच्चपदस्थ ब्यक्ति थिए ।

उनले बाँधिएको पाडोलाई बाघले आक्रमण गरेमा बाघ समेत थुनिने गरी सयौंको संख्यामा पाइप ल्याएर निकै ठूलो खोर निर्माण गरिदिएका थिए । तर दुखःको कुरा दुइ,तीन दिन बिराएर बाघ खोरको वरिपरि घुमेर फर्किन्थ्यो तर खोर भित्र पस्दैनथ्यो । बिहान उठेर बाघको पाइला खोज्ने, संकास्पद ठाऊँलाई सेतो कपडाले घेर्ने अनि हात्तीमा बसेर पुरै खोजतलास गर्नु हाम्रो दिनचर्या नै बनिसकेको थियो ।

तर बाघ फेला पार्न सकिएको थिएन । जंगलमा हिंड्दा बाघ फेला परिहाल्यो भने बेहोस बनाउन सजिलो होस भन्ने हेतुले हरेक बिहान डार्टगन र औषधी तम्तयार पारेर जंगल छिर्ने गरिन्थ्यो ।

यो क्रम करिब ७०-७५ दिन निरन्तर जारी रह्यो तर बाघ फेला पार्न नसकि हामी निरास हुन थालिसकेका थियौं ।
एकोहोरो जंगलको काम गर्दा हामी धेरै थाकिसकेका पनि थियौं । लामो समयसम्म बाघ पनि फेला नपरेको र बाघले मानिसलाई आक्रमण पनि नगरेको हुँदा वातावरण केहि अन्यौल बन्दै गएको थियो ।

चैत्र ११ गते ठाकुरद्वाराबाट चिफ वार्डेन रम्भापुर आउनु भएको थियो । हामीले गरेको काम र बाघका पाइला उतारेको ट्रेस पेपर, प्लाष्टर अफ पेरिस प्रयोग गरी उतारेका पाइला सहित सबै ब्यहोरा जानकारी गरायौं । मान बहादुर लामा र मैले लामो समयसम्म घर नगएको हुँदा घर पुगेर आउनका लागि बिदा पनि माग गर्यौं । चैत्र १३ गते शनिवारको दिन थियो ।

चिफ वार्डेनले शनिवारको साँझ गएर सोमवार बिहानै फर्किने गरी बिदा दिनु भयो । शनिवार साँझपख हामी रम्भापुरबाट निस्केर कोहलपुरसम्म संगै पुगि सोमबार भेट्ने गरी म नेपालगञ्जतिर लागें, मान बहादुर लामा बबई चेपाङ्ग तिर लाग्नु भयो । म घर पुगेपछि पनि कुनै नराम्रो खबर आउने हो कि भन्ने चिन्ताले अनेकौं कुराहरु मनमा खेलिरहन्थे ।

त्यतिबेला हेडक्वार्टर तथा रम्भापुरमा टेलिफोनको सुबिधा पनि थिएन । मेरो मन घरमा रमाउनै सकेन । भोलीपल्ट आइतबार बिहानै घरबाट निस्केर रम्भापुर पुगें । कुनै नराम्रो घटना घटेको थिएन । मन प्रसन्न भयो । मान बहादुर लामाले हामीलाई आपत-विपत परेको बेला काम लाग्छ भन्दै औषधी मिलाउन र गन चलाउन सिकाउनु भएको थियो । वहाँको अनुपस्थितिमा हामी गन र औषधी बोकेर केहिबेर जंगल घुमेर फर्कियौं ।
चैत्र १५ गते सोमवार बिहानै उठेर हामी सधैंझै जंगलतिर गयौं । बाघका पाइला खोज्ने, पाइला नाप्ने, प्लाष्टर अफ पेरिस प्रयोग गरेर पाइलाको छाप उतार्ने काम गरेर ढिलोगरी फर्कियौं । हामी पोष्टमा पुगेर भरखर खाना खाँदै थियौं दुइजना मानिस हस्याङ्ग फस्याङ्ग गर्दै पोष्टमा आइपुगे । उनीहरुले एकजना मानिसलाई बाघले आक्रमण गरी घिसार्दै लगेको कुरा बताए ।

हामी तुरुन्त हात्ती कसेर उनीहरुलाई समेत साथमा लिएर घटनास्थलतिर लाग्यौं । बिहानभरी जंगलमा हिंडेर थकित भएका हात्ती चैत्र महिनाको गर्मीमा हिंडनै सकेनन । हामीसंग कुनै सवारी साधन पनि थिएन । आजकल जस्तो राजमार्गमा बाक्लो सवारी साधन पनि चल्दैनथे । हात्तीलाई छोटो बाटो जंगलै जंगल पठाएर हामी राजमार्गबाट हिंड्दै बबई नदीसम्म पुग्यौं । बबई पुल भन्दा केहि माथि नदीको पूर्वी किनारमा बानियाभार जोधिपुर गाऊँका एकजना पुरुष र एकजना महिला भुईघाँस काट्दै रहेछन ।

एक्कासि बाघ आएर तिलसरा खत्री नाम गरेकी महिलालाई झम्टिएछ । उनीसंगै गएका पुरुषले हेर्दा हेर्दै तिलसरालाई बाघले तानेर बबई नदीको पानीमा घिसार्दै पारीपट्टि परेवओडारतिर लगेको रहेछ । हात्ती पुगेपछि हामीले सामान्य रुपमा खोजतलासको काम गर्यौं तर साँझ परिसकेको हुँदा केहि फेला पार्न नसकि त्यहाँबाट रम्भापुर फर्कियौं ।

भोलीपल्ट चैत्र १६ गते बिहान ४ बजे नै हामी गन र औषधी सहित रम्भापुरबाट हिड्यौं । हामी परेवाओडार पोष्टमा पुगेपछि हेडक्वार्टरबाट चिफ वार्डेन र गुल्मपति सहितको टोली पनि आइपुग्यो । अरु सबै जम्मा भए पनि वन्यजन्तु प्राविधिक मान बहादुर लामा आइपुग्नु भएको थिएन । हामीले बबई नदीको पश्चिम तर्फ रहेको परेवाओडारको वनक्षेत्रलाई सेतो कपडाले घेरा लगायौं । औषधीको मात्रा अड्कलेर डार्टगनमा राख्न मलाई आउथ्यो । तर गन चलाउन धेरै प्राक्टिस थिएन ।

तै पनि कोहि नभएपछि त त्यो काम पनि गर्नै पर्थ्यो । यतिकैमा टाइगर टप्स कर्णाली लजमा काम गर्ने सक्कली गुरुङ्ग त्यहाँ पुग्नु भयो । वहाँ पुरानो शिकारी (शिकारी अड्डाको सुबेदार) भएकोले वहाँलाई गन चलाउनका लागि रुखमा चढाएर अरु सबै जना हात्तीमा बसेर बाघ खेद्न थाल्यौं । हात्तीसारेहरुको काम गर्ने शैली कस्तो हुन्छ भन्ने मैले त्यतिबेला प्रत्यक्ष बुझ्ने मौका पाएँ ।

अलि ठग हात्तीसारेहरु हट हट भन्दै आफ्नो ज्यान हल्लाउने तर हात्तीलाई अगाडी बढाउन खुट्टाले गर्नुपर्ने काम नगर्ने हुँदारहेछन । कतिपय मेरो हात्ती डराउँछ भनेर हात्तीलाई पछि पछि हटाउने हुँदा रहेछन । हामीले घेरा हाल्दै जाँदा बाघ मासु बाँकी रहेको महिलाको सव नजिकै बसेको रहेछ । वरिपरि हात्ती देखेपछि बाघ अत्तालिएर एक्कासि कराउँदै हात्तीलाई झम्टिन आयो ।

चिफ वार्डेन बसेको हात्ती बाघले झम्टिंदा डरले शरीर फुलाउँदा बाँधेको डोरी नै चुँडियो । वहाँले समाउने डोरी पनि चुँडिइसकेको थियो । त्यो हात्ती चालक फणीत बिष्णु मगर अलि ज्यान परेको बलियो मान्छे थिए ।

उनले धैर्यताका साथ चिफ वार्डेनलाई समातेर नजिकै रहेको अर्को हात्तीमा धकेलिदिए । अर्को हात्तीमा भएका साथीहरुले वहाँलाई समातेर तान्दै आफ्नो हात्तीमा बसाले । एउटा डरलाग्दो दुर्घटना टर्यो ।
त्यसपछि हामी केहि पछाडि हटेर हात्तीको डोरी बलियोसंग कस्यौं । कोहि पनि नआत्तिने, सबै संगसंगै अगाडी बढ्ने, बाघले हात्तीमाथी आक्रमण गरेमा लठ्ठीले हान्ने, नजिकैको अर्को हात्तीबाट समेत प्रतिकार गर्ने सल्लाह गरेर अगाडी बढ्यौं ।

यत्तिकैमा बाघलाई बेहोस बनाउनका लागि गन लिएर रुखमा बसेका सक्कली गुरुङ्ग रिंगटा लागेर रुखमा बस्न नसक्ने हुनुभएछ । तुरुन्त वहाँलाई त्यहाँबाट ओरालेर सुरक्षित स्थानमा राखियो । फेरी गन चलाउने मानिसको अभाब हुन गयो । चिफ वार्डेन श्याम बजिमयले म रुखमा बसेर गन चलाउछु भन्ने प्रस्ताव गर्नु भयो । तुरुन्तै वहाँलाई गन सहित रुखमा राखेर अरु सबै बाघ धपाउन लाग्यौं । बाघ कहिले वल्ला छेउ, कहिले पल्ला छेउ गएर लुक्थ्यो अनि हात्ती नजिक पुग्यो कि उफ्रिएर झम्टिन्थ्यो ।

हामी हरेस नखाइकन एकोहोरो बाघलाई खेदिरहेका थियौं । बाघ पनि निकै थाकिसकेको थियो । हामीले चारैतर्फबाट घेरा हालेर बाघलाई बिस्तारै पुस गर्दै चिफ वार्डेन बसेको रुख नजिक पुर्यायौं । वहाँले गनबाट बेहोस पार्ने औषधी राखेको निडल प्रहार गर्नु भयो, निसाना ठिक ठाउँमा लाग्यो । त्यसपछि बाघ निकै जोडसंग कराउँदै बेपत्ता उफ्रिंदै भाग्यो । हात्तीहरु डराएर जोड जोडले कराउने र भागाभाग गर्न थाले । तर हात्तीसारेहरुले हात्तीलाई नियन्त्रणमा राख्न सफल भए ।

खोज्दै जाँदा बाघ केहि पर बेहोस भएर लडेको रहेछ । बाघलाई त्यहाँबाट स्ट्रेचरमा राखी बोकेर बबई नदी तार्यौं । बाघको शरीरमा कुनै घाउ चोट देखिंदैनथ्यो तर दाहिने तर्फको पैतालामा गहिरो घाउ भएर घाउमा पिप समेत बगेको रहेछ । सोही घाउका कारण वन्यजन्तुको शिकार गर्न नसकि सजिलो आहाराको रुपमा मानिसलाई आक्रमण गर्न पल्केको हुनसक्ने अनुमान गरियो ।

त्यसपछि घाउ सफा गरेर औषधी गरी चाँडो चाँडो गाडीमा राखेर रम्भापुरमा बनाईएको काठको खोरमा हुलेर होस आउने सुइ दिइयो । केहि बेरमा बाघ होसमा आयो । शायद औषधीको प्रतिकृया र अत्यधिक थकाइले गर्दा होला बाघले बान्ता गरेर खाएको मासु समेत फाल्यो । मान्छेको पैताला पनि चपाएर निलेको रहेछ त्यो समेत बान्ता गरेर निकाल्यो ।

पहिलो मान्छे मारेको ८४ औं दिन र बाघ समाउने अभियान शुरु गरेको ७६ औं दिनमा उक्त बाघलाई जिउँदै समाउन सफलता मिलेको थियो । उक्त बाघलाई तुरुन्तै सदर चिडियाखाना काठमाण्डौ पठाइयो । यसरी बर्दियामा मान्छे खान पल्केको पहिलो बाघ नियन्त्रणको कथा अन्त्य भयो । (लेखक बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व वार्डेन हुन )