मैले खिचेको राजागजको अन्तिम फोटोः सन्दर्भ अन्तराष्ट्रिय हात्ती दिवस

साउन २८, २०७८

फरकसमाचार


रमेश थापा

राजागजू भन्ने बित्तिकै संसारको सबै भन्दा ठूलो एशियाली हात्ती भनेर चिन्ने गरिन्छ । बर्दिया राजागज हात्तीको भूमि हो । शाही कर्णाली वन्यजन्तु आरक्ष स्थापनाका लागि गरिएको अध्ययनबाट सन् १९७५ मा बर्दियामा १२ वटा बयस्क हात्ती रहेको पाइएको थियो । त्यतिबेला हात्तीहरु बिचरण गर्नका लागि प्रसस्त वनजंगल रहेको र गाऊँबस्ति पनि पातलो भएकोले हात्तीहरु गाऊँबस्ति र खेतिमा पस्दैनथे । धेरै पहिलाको कुरा गर्ने हो भने बर्दियाको खयरभट्टि र दानवताल क्षेत्र हात्तीको स्थायी वासस्थान भएको वनक्षेत्र हो ।

घना वनजंगल, प्रसस्त आहारा र पानीको प्रचुरताले गर्दा त्यो क्षेत्र हात्तीको राम्रो वासस्थान र बिचरण क्षेत्रको रुपमा रहेको थियो । खयरभट्टी र दानवताल खोलामा बाह्रै महिना प्रसस्त पानी हुने र हात्तीलाई आहाल बस्न र पौडी खेल्नका लागि दानवताल नामको ठूलो ताल समेत भएकोले यो क्षेत्र हात्तीका लागि स्वर्ग नै थियो भन्दा अत्यक्ति नहोला ।

तर तत्कालिन राणा प्रधानमन्त्री चन्द्र समशेरले ईष्टइण्डिया कम्पनिका अंग्रेज ठेकेदार एवं वनबिज्ञ जे.भि. कोलियरलाई पश्चिम तराइको वनक्षेत्र फँडानी गर्ने अख्तियारी प्रदान गरिसकेपछि बर्दियाको जंगलमा पनि अंग्रेज ठेकेदारको बक्रदृष्टि पर्न गयो ।

भारतमा रेलको लिक निर्माण गर्नका लागि सालको काठ आवश्यक पर्ने भएकोले रेलको लिक नै निर्माण गरेर बर्दियाको जंगल फडानी गरेर काठ भारत निकाशी गरिएको थियो । यस क्रममा अंग्रेजहरुले बर्दियाको साल काठ मात्रै निकासी गरेनन कि बर्दियाको प्राकृतिक सम्पदा र वन्यजन्तुको वासस्थान समेत सखाप पारेर छोडेका थिए ।

हात्तीको राम्रो वासस्थान रहेको दानवताल र खयरभट्टी क्षेत्रसम्म रेलको लिक निर्माण गरिएको थियो । धेरै संख्यामा आएका भारतीय कामदारहरुले हालको पूर्व पश्चिम राजमार्ग भन्दा उत्तरतर्फ ठूलो क्याम्प खडा गरेर रुख कटान गरेका थिए । आफ्ना कामदारहरुलाई खानेपानीको अभाव भएपछि ठेकेदार कोलियरले भारतबाटै इटा ल्याएर जंगलभित्रै गहिरो कुवा निर्माण गरेका थिए । त्यो कुवाको अवशेष ऐलेसम्म पनि रहेको छ र कुवाभारको नामले परिचित छ ।

अंग्रेजहरुले चुरेको फेदमा रहेको खयरको जंगल फँडानी गरेर खोलाको किनारमा भट्टी निर्माण गरी खयर पकाएर कत्था बनाई निकासी गरेका थिए । यति मात्रै नभएर दानवताल वरिपरिको ग्राभेल र माटो मिसिएको ढिस्को भत्काएर भारतमा लगि सडक समेत निर्माण गरेका थिए । दानवताल आसपासको ढिस्को खनेपछि ग्राभेल र माटो मिसिएको दलदल भेटिन्छ ।

त्यो सामाग्री त्यहाँबाट ल्याएर अन्यत्र राख्यो भने आँफै जमेर चट्टान जस्तो बलियो बन्दोरहेछ ( ठाकुरद्वारा मन्दिर परिसरमा निर्माणाधिन पोखरी (उद्यान सरोवर) मा पनि त्यस्तै सामाग्री भेटिएको थियो । पोखरी खन्ने क्रममा निस्केको ग्राभेल र माटो मिसिएको दलदल भेटिएपछि त्यो सामाग्री बर्दिया राष्ट्रिय निकुञ्जको प्रबेशद्वार देखि ट्रष्टको चोकसम्म बिछ्याइएको थियो ) । यसरी आफ्नो वासस्थान रहेको वनक्षेत्र फडानी गर्नुका साथै सयौं मानिसको कोलाहलका कारण बिचलित भएका हात्तीहरु त्यो ठाऊँ छोडेर अन्यत्र बिस्तापित हुन पुगेका थिए ।

सन् १९७५ देखि १९८० सम्म बर्दियामा फाट्टफुट्ट जंगली हात्तीको बथान देखिने गरेका थिए । अम्रेनी आसपासको जंगलमा चार वटा हात्ती नियमित देखिन्थे । तर सन् १९८५ मा आइपुग्दा बर्दियामा हात्तीको संख्या दुइवटा भालेमा मात्र सिमित हुन पुगेको थियो । यि दुइ मध्ये एउटा हात्ती निकै अजङ्गको र शारीरिक बनावट पनि बेग्लै खालको थियो ।

सन् १९९० मा बर्दिया घुम्न आएका बेलायति अनुसन्धानकर्ता Sir John Blashford-Snell (जसलाई बर्दियामा JBS भनेर चिनिन्थ्यो) ले दुबै हात्ती देख्न पाएका थिए । ति मध्येको ठूलो भाले हात्तीलाई राजागज र सानो भाले हात्तीलाई कान्छागज नामाकरण गरिएको थियो । अजङ्गको ठूलो हात्ती देखेपछि उनी निकै उत्साहित हुँदै यो अर्कै प्रजातिको (संसारबाट लोप भैसकेको mammoth) हात्ती हो कि भन्ने सोचाइमा पुगेछन । त्यसपछि उनी सन् १९९० मा बेलायति बिज्ञहरु सम्मिलित टोली लिएर नेपाल आए ।

उनले राजागजको पैतालाको गोलाई नाप २२.५ ईञ्च, काँध सम्मको उचाई ११ ‘३” (३.४३ मि.) रहेको र यो नै संसारको सबै भन्दा अग्लो ऐसियाली हात्ती भएको प्रमाण प्रस्तुत गरेका थिए । उनको टोलीले गरेको अध्ययन अनुसार राजागज कुनै अर्को प्रजातिको हात्ती नभै एशियाली (Elephas maximus ) प्रजातिकै हात्ती भएको कुरा समेत प्रमाणित गरेको थियो ।

राजागज र कान्छागज दुइवटा मात्र हात्ती बर्दियाको रनवनमा बिचरण गर्दथे । कहिलेकाँहि यिनीहरु आपसमा भिडन्त पनि गर्दथे । राजागज अलि सान्त स्वभावको थियो तर कान्छागज अलि उग्र स्वभावको थियो ।

ठाकुरद्वारा प्रबेशद्वार अगाडी हाल हात्तीसार जाने बाटो र निकुञ्ज मुख्यालय जाने बाटो रहेको कर्नरमा तत्कालिन निकुञ्जका कर्मचारी बल बहादुर सुनारको क्वार्टर थियो । वहाँको बृद्ध आमा पनि वहाँसंगै सोहि क्वार्टरमा बस्नु हुन्थ्यो । यकिन मिति थाहा भएन तर २०५० सालको जेष्ठ महिनामा जस्तो लाग्छ, साँझ पख राजागज हात्ती खौराहा खोला तरेर सरासर आइ बल बहादुर सुनारको कम्पाउण्डमा रोकियो । केहिबेर उभिएपछि त्यहाँको केरा तानेर खान थाल्यो । क्वार्टरमा भएका भाग्न सक्ने मानिसहरु दौडिएर निकुञ्जको गेटबाट भित्र छिरे । बल बहादुर र वहाँको बृद्ध आमा मात्र क्वार्टरमा हुनुहुन्थ्यो ।

हात्ती घर परिसरमा आएको थाहा पाएर तत्कालिन चिफ वार्डेन राम प्रित यादव पनि त्यहाँ पुग्नु भयो । वहाँले चर्को स्वरमा  हे गणेश भगवान, त्यहाँ बुढी आमा हुनुहुन्छ, तपाई त्यो ठाऊँ छोडेर जंगल तिर गैदिनुहोस भगवानू भनेर कराउनु भयो । त्यसको लगत्तै हात्ती त्यहाँबाट निस्केर निकुञ्जको प्रबेशद्वार हुँदै जंगलतिर लागेको थियो ।

राजागज समय समयमा देखिने गर्दथ्यो तर धेरै समय सम्म कान्छागज हात्ती देखिएको थिएन । सन् २००० मा गैंडा गणनाको कार्यक्रम थियो । बर्दियामा डा।शान्तराज ज्ञवालीको नेतृत्वमा गैंडा गणना संचालन भएको थियो । कर्णाली-गेरुवा नदीतटीय क्षेत्रको काम सम्पन्न गरी बबई उपत्यकामा गैंडा गणनाको काम चलिरहेको थियो ।

यसै क्रममा २०५७ साल बैशाख ५ गतेका दिन ठूलो श्री भन्ने ठाऊँमा कान्छागज हात्ती मृत अवस्थामा फेला पर्यो । हात्तीको एउटा दाँत जमिनमा धसिएको थियो भने अर्को दाँत काटेर लगेको अवस्थामा थियो (कान्छागज हात्तीको दाह्रा सहित पछि मानिस पक्राउ गरिएको थियो ) । त्यतिबेला सम्म बर्दियामा अन्य हात्तीहरु पनि थपिइसकेका थिए ।

गेरुवा नदीतटीय क्षेत्रमा गैंडा अनुगमनको शिलसिलामा २०६३ साल फाल्गुण १० गते गैंडा मचान भन्दा पश्चिम पट्टिको घोलमा एउटा हात्ती देखा पर्यो । मसंग मैले जीवनमा पहिलो पटक किनेर प्रयोग गरेको सानो खालको क्यामरा थियो । हात्तीको फोटो खिच्ने मनसायले हात्ती चालकलाई नजिकै हात्ती लैजान आग्रह गरें ।

तर हात्तीसारे साथी सारै डरपोक रहेछ टाढैबाट हात्ती फर्काउने कोशिस गरिरहेको थियो । तर मैले करकाप गरेर जंगली हात्ती नजिक लैजान दबाब दिएँ । हामी नजिकै पुग्दा पनि त्यो हात्ती पानीको घोलमा उभिएर घाँस चपाइरहेको थियो । निकै नजिक पुगेपछि मात्र हामीले त्यो भिमकाय हात्ती राजागज नै हो भन्ने यकिन गर्न सक्यौं । मैले आफ्नो क्यामराबाट धेरै फोटोहरु खिचें । सम्भवत राजागजको बाहिर आएको यो नै अन्तिम फोटो हो ।

समय आफ्नै गतिमा अगाडी बढ्दै गयो । बर्दियामा हात्तीको संख्या बढेसंगै मानव-हात्ती द्वन्दका घटनाहरु बढिरहेका थिए । जंगली हात्ती गाऊँमा पसेर मानिसलाई आक्रमण गरेका घटनाहरु पनि घटिरहेका थिए । २०६४ साल मसिर १७ गते कैलासी गाऊँ नजिकै जंगलमा एउटा हात्ती दिउसो देखिनै आएर बसेको भन्ने सूचना निकुञ्जमा प्राप्त भयो । सिनियर गेमस्काउट जित बहादुर खड्का, सवारी चालक फुलसिंह शाही लगायतको टोली लिएर म हात्तीसार पुगें ।

गाडी हात्तीसारमै राखेर चारवटा हात्ती सहित हामी कैलासी गाउँको किनारै किनार गाऊँको दक्षीणमा रहेको काठको मचानमा पुगेर रोकियौं । हाम्रो टोली देखेपछि गाऊँलेहरु पनि मचानमा जम्मा भए ।

हात्ती देखिएको स्थानको जानकारी लिएर केहि गाउँलेहरुलाई पनि हात्तीमा राखी हामी गाउँको पश्चिमतर्फ लाग्यौं । खौराहा खिलाको किनारमा अजङ्गको हात्ती चरिरहेको थियो । हामी सतर्कतापूर्वक हात्तीलाई धपाएर खौराहा खोला पारी प्रयासमा थियौं । हामी होहल्ला गर्दै अगाडी बढेपछि त्यो हात्ती खोलातिर निस्कियो ।

हामीले हात्तीलाई देख्यौं, त्यो भिमकाय हात्ती राजागज नै थियो । साँझ छिप्पिंदै थियो, राजागज सुस्त गतिमा पाइला चाल्दै खौराहा खोला पारितिर लाग्यो, हामी फर्किएर आफ्नो बाटो लाग्यौं ।

बितेका बर्षहरु जस्तै हिऊँदमा सुख्खा रहने गेरुवाका भंगालाहरु २०६५ सालमा आषाढ महिनाको बाढीसंगै वारपार भएर बगेका थिए । कोठियाघाटबाट सग्ला रुख समेत बगाएर ल्याएको बाढीमा एउटा भाले हात्ती पनि बगेर आएको, शरीर पानीमा डुबेको भएता पनि सुँड पानी बाहिर निकालेर बग्दै गएको भन्ने अपुष्ट हल्ला चलेको थियो ।

हामीले भारतको कतर्नियाघाट वन्यजन्तु सेङ्गचुरीमा समेत सम्पर्क गरी जानकारी लिने प्रयास गरेका थियौं । तर कतैबाट पनि पुष्ठि हुने आधार भेटिएको थिएन । हामीले २०६५ सालको दशैपछि राजागज हात्तीको खोजिमा धेरै दिन बितायौं तर म मात्रै होइन उसलाई चिन्ने अरु कसैको पनि २०६४ साल मंसिर पछि राजागजसंग भेट हुनसकेन ।

संभवत बर्दियालाई संसारमा चिनाउने राजागज हात्ती प्रकृति माताको चरणमा समाहित भैसकेको थियो । (लेखक बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व वार्डेन हुन )