प्रदेश २ मा जसपा र नेकपा (एस) बलिया
शनिबार, भदौ १२, २०७८ मा प्रकाशित

नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) को विभाजनले प्रदेशको सत्ता समीकरणसमेत बदलिदिएको छ। यसबाट प्रदेश २ पनि अछुतो रहेन। जसपा बहुमतको सरकार अहिले जसपा, नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन सरकारमा परिणत भएको छ।

जसपाबाट अलग्गिएका महन्थ ठाकुरले आफ्नो अध्यक्षतामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनाएका छन् भने एमालेबाट फुटेर माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गठन गरेका छन्। दुवै पार्टीले निर्वाचन आयोगबाट मान्यता पनि पाइसकेका छन्।

प्रदेशसभामा तत्कालीन संघीय समाजवादी पार्टीका २९ सांसद थिए। स्वतन्त्र सांसद अब्दुल कलामको प्रवेशपछि यो संख्या ३० पुगेको थियो। राष्ट्रिय जनता पार्टी (राजपा) का २५ सांसद थिए। दुवै दलबीच एकीकरण भएपछि जनता समाजवादी पार्टीको ५५ जना सांसदसहित जसपाको बहुमतको सरकार थियो। ठाकुर समूह जसपाबाट अलग्गिएपछि यस प्रदेशमा गठबन्धनको सरकार बनेको हो।

महन्थ ठाकुर खेमा अलग्गिएपछि प्रदेश २ मा जसपा कमजोर हुने आकलन गरिएको थियो। तर ५५ सांसदमध्ये १५ जनामात्रै लोसपामा देखिएका छन्। बाँकी ४० जना आफूहरूसँगै रहेको जसपा संसदीय दलका उपनेता रामअशिष यादवले बताए। ठाकुर खेमाका १० सांसद जसपामै रहेपछि प्रदेशसभामा लोसपा कमजोर देखिएको छ। तत्कालीन राजपाबाट निर्वाचित प्रदेशसभा सदस्यहरू रामनरेश राय, नवलकिशोर साह, सुरेश मण्डल, मनिष सुमन, रानीकुमारी तिवारी, नेत्रविक्रम साह, अन्जु यादव, निरा साह, विकी यादवलगायतका १० जना जसपामा खुलेका छन्।

उता एमालेबाट फुटेर बनेको नेकपा (एस) पनि संस्थापन समूहभन्दा बलियो देखिएको छ। सर्वोच्च अदालतले २३ फागुन २०७७ मा गरेको फैसलापछि नेकपा विभाजित भयो। नेकपाका २९ प्रदेशसभा सदस्यमध्ये २१ जना एमाले र ८ जना माओवादी केन्द्रमा लागे। यति बेला एमालेका २१ सांसदमध्ये १३ जना नेकपा (एस)मा खुलेका छन्।

गत चैतमा प्रदेश २ एमाले संसदीय दलको नेताबाट एमाले स्थायी कमिटी सदस्य सत्यनारायण मण्डललाई हटाएर माधव नेपाल पक्षका शत्रुधन महतो दलको नेता चुनिएका थिए। त्यति बेला पनि महतोले १३ मत पाएका थिए। पार्टी विभाजनपछि प्रदेश २ मा एमालेका जम्मा ८ प्रदेशसभा सदस्य रहेको नेकपा (एस)का नेता महतो बताउँछन्।

एमालेबाट चुनाव जितेका प्रदेशसभा सदस्यमध्ये अशोककुमार यादव, गोविन्दबहादुर न्यौपाने, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, प्रमोदकुमार यादव, मदनसेन श्रीवास्तव, मञ्जु यादव, रवीन्द्र बैठा, बेंची लुंगेली, शत्रुधन महतो, सीता गुरुङ, सुन्दरबहादुर विश्वकर्मा र हसिमा खातुन एकीकृत समाजवादीतिर खुलेका छन। सत्यनारायण मण्डल, अनिताकुमारी यादव, किशोरी साह, जगतारेन देवी सुडिन, मनोजकुमार सिंह, लगनलाल चौधरी, शारदादेवी थापा र त्रिलोकीप्रसाद एमालेमै छन्। अब प्रदेशसभामा जसपा पहिलो ठूलो दलका रुपमा रहेको छ भने प्रमुख प्रतिपक्षी जसपाबाटै विभाजित लोसपा बन्ने भएको छ। साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय