ट्रम्पले भारतमा ताज महलको भ्रमण गर्ने, व्यापार सम्झौता नहुने
शनिबार, फागुन १०, २०७६ मा प्रकाशित

अहमदाबाद, फागुन १० : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत भ्रमणका क्रममा सोमबार विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन गर्ने भएको छन ।

उनले भारतको ताजमहलको पनि भ्रमण गरेर सूर्यास्तको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको अधिकारीहरूले जानकारी दिएका छन् । तर पूर्वअपेक्षित व्यापार सम्झौता भने उनको भ्रमणका क्रममा नहुने बताइएको छ ।

राष्ट्रपति ट्रम्पको भ्रमणले दुई पक्षीय सम्बन्ध विशेष गरेर व्यापारको क्षेत्रमा सुधार हुने अपेक्षा गरिएको छ । विज्ञहरूका अनुसार अमेरिकाले चीनसँगको सम्बन्धमा दबाब दिनका लागि रणनीतिक मित्रका रूपमा भारत उपयोग गर्न खोजेको बताएका छन् ।

‘भारतसँग हाम्रो व्यापार धेरै राम्रो छैन, तर पनि म प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न मन पराउँछु,’ ७३ वर्षीय ट्रम्पले भारत भ्रमणको पूर्वसन्ध्यामा भनेका छन् ।

ट्रम्पले यसअघि पनि गत नोभेम्बरको निर्वाचनअघि भारतसँग ठूलो व्यापारिक सम्झौता हुन नसक्ने उल्लेख गरेका थिए । उनले मोदीसँग व्यापारका कुरा भने हुने बताएका छन् ।

भारत भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पका साथ श्रीमती मेलानिया, छोरी इभान्का र ज्वाइँ जारेड कुश्नर रहेका छन् । राष्ट्रपति ट्रम्पले सोमबार नयाँदिल्लीमा ओर्लिएपछि शुरुमा पश्चिमी गुजरात राज्यको भ्रमण गर्नुहुनेछ । आफू मुख्यमन्त्री हुँदा गरेको भूकम्पपछिको पुनर्निर्माण देखाउन मोदीले ट्रम्पलाई गुजरातको भ्रमण गराउन लाग्नुभएको हो ।

सोही क्रममा उनले गुजरात क्रिकेट एसोसिएशनद्वारा निर्मित सरदार पटेल रंगशालाको उद्घाटन गर्ने छन । मोटेरा स्टेडियमसमेत भनिने सो खेलमैदानको वरिपरि सात सय मिटर लामो पर्खाल बनाइएको छ ।

खेलमैदानमा एक लाख मानिसको उपस्थितिमा ‘नमस्ते ट्रम्प’ कार्यक्रमको पनि आयोजना गरिएको छ । नमस्ते ट्रम्प कार्यक्रम गत वर्षको जुनमा मोदीले अमेरिका भ्रमण गर्दा टेक्सासमा आयोजना गरिएको ‘हाउडी मोदी’ कार्यक्रमकै प्रतिरुप हो । त्यतिबेला हाउडी मोदी कार्यक्रममा ट्रम्प सहभागी भएपछि दुवैले प्रवासी भारतीय अमेरिकीलाई सम्बोधन गरेका थिए ।

नमस्ते ट्रम्प कार्यक्रमपछि उहाँ श्रीमतीसहित ताजमहल अवलोकन गर्न जानुहुने भएको हो । ताजमहलमा ट्रम्पको टोली एक घण्टा रहने तालिका छ । भ्रमणको दोस्रो दिन मंगलबार ट्रम्प दिल्ली फर्केर हैदरावाद हाउसमा विभिन्न चरणमा रक्षा, व्यापारलगायत विषयमा छलफल गर्ने भएका छन् ।

ट्रम्प राष्ट्रपति भएपछिको भारतको पहिलो औपचारिक यो भ्रमण दुई दिन मात्रै हुने तय भएको छ । ट्रम्पले कार्यकालको अन्तिम वर्ष भारतको भ्रमण गर्न लाग्नुभएको हो । उनको पहिलो कार्यकाल सन् २०२१ जनवरी २० मा सकिँदैछ ।

अमेरिकी संविधानअनुसार राष्ट्रपतिको कार्यकाल चार वर्षको हुने व्यवस्था छ । अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपतिको निर्वाचन हुने तय भएको छ । मोदी र ट्रम्पबीच पछिल्लो आठ महिनामा पाँचौँपटक भेट हुँदैछ । यसअघि यी दुई शीर्षनेताबीच ओसाका, बायरिज, ह्युस्टन र न्युयोर्कमा गरी चारपटक भेट भइसकेको छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीस कुमारले ट्रम्पको स्वागतका लागि भारत सरकार र भारतीय जनता उत्सुकताका साथ प्रतीक्षा गरिरहेको बताएका छन् ।

उनका  अनुसार सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारत भ्रमणमा आउन लागेका ट्रम्प अमेरिकाका सातौँ राष्ट्रपति हुनुभएको छ । यसअघि तत्कालीन राष्ट्रपति बाराक ओवामाले सन् २०१५ जनवरी २५–२७ मा तीन दिने भारत भ्रमण गरेका थिए । उहाँ आफ्नो दुवै कार्यकालमा भारतको भ्रमण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर